युक्रेन-रुस युद्धः 'युक्रेनी फौज मारिऊपोलमा अन्तिम समयसम्म लड्नेछ'

तस्बिर स्रोत, Reuters
युक्रेनका प्रधानमन्त्री डेनिस श्मीहलले घेराबन्दीमा परेको मारिऊपोल शहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन्।
सो शहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले दिएको समयसीमा शुरू भइसके पनि शहर रुसी फौजको नियन्त्रणमा गइनसकेको उनले बताए।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रको कुनै पनि भूभाग रुसलाई दिने मनशाय नरहेको बताएका छन्।
पछिल्ला साताहरूमा रुसले आफ्ना आक्रमणहरू पूर्वी युक्रेनमा केन्द्रित गरेको छ।
'लडाइँको केन्द्र'
युक्रेनी अधिकारीहरूका अनुसार पछिल्लोपटक रुसी फौजको आक्रमणमा परी खार्किभमा पाँच जनाको ज्यान गएको छ भने जोलोटो नगरमा अर्का दुईजना मारिएका छन्।
दक्षिणमा मिकोलाइभका गभर्नरका अनुसार रुसी फौजले निरन्तर रकेट प्रहार गरिरहेका छन्।
त्यहाँ युक्रेनी फौजले रुसी फौजलाई बन्दरगाह शहर ओडेसातर्फ बढ्नबाट प्रतिरोध गरिरहेका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क एबीसीलाई दिएको एउटा अन्तर्वार्तामा युक्रेनी प्रधानमन्त्रीले आइतवार सखारसम्म आत्मसमर्पण गर्न मस्कोले दिएको समयसीमा अस्वीकार गरिएको बताए।
"शहरमाथि हामीले नियन्त्रण गुमाइसकेका छैनौँ। त्यहाँ अझै हाम्रा फौज, हाम्रा सेना छन्। अतः अन्तिम समयसम्म उनीहरू लड्नेछन्," उनले थपे।
रुसी फौजले मारिऊपोलमाथि लगभग नियन्त्रण कायम गरिसकेको जनाएको छ।
घेराबन्दीमा परेको मारिऊपोल शहर 'लडाइँको केन्द्रमा' रहिआएको छ। गत मार्चबाट रुसी फौजले मारिऊपोललाई घेराबन्दी गर्न थालेका थिए।
निरन्तरको गोलाबारीले उक्त शहरलाई भग्नावशेषमा परिणत गरेको छ जसका कारण गैरसैनिकहरू घरमुनि बनाइएका भूमिगत आश्रयस्थलमा लुकेका बताइन्छ।
त्यहाँ बिजुली, पानी, खानेकुरा र औषधिको आपूर्ति समेत रोकिएको थियो।









