बेल्जियम चिट्ठा: कानुनी हैसियत नभएका कारण बेल्जियममा चिट्ठामा जितेको अढाई लाख यूरो हात पार्न कठिन

तस्बिर स्रोत, EVN
एक जना अल्जेरियाली व्यक्तिले बेल्जियममा २,५०,००० यूरोको चिट्ठा पारे पनि कागजविहीन हैसियतका कारण आफूले उक्त रकम हात पार्न सङ्घर्ष गरिरहेको बताएका छन्।
यो पुरस्कारको राशि असाध्यै ठूलो भएकाले नगद दिन नमिल्ने र ब्याङ्क खाता खोल्न ती व्यक्तिसँग आवश्यक कागजात नपुगेको बताइएको छ।
ती व्यक्तिले ५ यूरो पर्ने स्क्र्याचकार्डबाट उक्त चिट्ठा जितेका बताइएको छ।
उनका लागि पैसा दाबी गर्न खोजेका एक जना ती व्यक्तिका साथीलाई चोरी गर्न खोजेको आशङ्कामा केही समय हिरासतमा राखिएको थियो।
चिट्ठा जितेका ती व्यक्तिले उक्त रकमबाट बेल्जियममा नयाँ जीवन शुरू गर्न चाहेको बताएका छन्।
"मैले पैसा पाएपछि ब्रसल्समा बस्न एउटा घर किन्नेछु। त्यसपछि शायद एउटा कार पनि," परिचय नखुलाइएका ती व्यक्तिले बेल्जियन समाचारपत्र हेट लाट्स्ट न्यूजलाई भनेका छन्।
तर पहिला त उनले उक्त रकम हात पार्ने उपाय नै पत्ता लगाउनु पर्नेछ।
बेल्जियन प्रसारक भीआरटीका अनुसार २८ वर्षीय ती व्यक्तिसँग प्रमाणित परिचय पत्र छैन न त स्थायी बसोबास गर्ने स्थान नै छ।
"उनले ब्याङ्क खाता खोल्न नसक्ने भएका कारण चिट्ठा कम्पनीले पैसा तिरेको छैन," ती व्यक्तिका कानुनी सल्लाहकार एलेक्जान्डर भेरस्ट्रेटले भने।
भेरस्ट्रेटले एफपी समाचार संस्थालाई बताएका छन्,"हामीले उनको परिचय प्रमाणित गर्ने कागजातहरू खोजिरहेका छौँ। उनले अल्जेरियामा भएका उनका परिवारसँग सम्पर्क गर्नुपर्ने भएको छ।"
चिट्ठा कम्पनीका प्रवक्ताले एफपीलाई चिट्ठा दाबी गर्न कस्तो परिचय पत्र आवश्यक पर्ने हो त्यो खुलाएनन्।
ती व्यक्तिका लागि उनका एक जना वैधानिक परिचयपत्र भएका मित्रले पुरस्कार दाबी गर्न खोजेका थिए।
कुनै पनि १ लाख यूरो भन्दा बढीको पुरस्कार दाबी गर्न परिचयपत्र आवश्यक पर्छ।
तर ती व्यक्ति र दुई जना अरूलाई प्रहरीले पुरस्कार जितेको स्क्रयाचकार्ड चोरी गरेको आशङ्कामा गिरफ्तार गरेर रातभर हिरासतमा राखेका थिए ।
चिट्ठा परेका व्यक्तिले आफ्नो स्थिति प्रहरीसमक्ष राखेपछि प्रहरीले उनीहरूलाई हिरासत मुक्त गरिदिएको थियो।
अहिले उक्त कार्ड जेब्रुगा बन्दरगाह नजिकैको ब्रुज नगर (जहाँ उक्त कार्ड किनिएको थियो) को एक अदालतमा राखिएको छ।
भेरस्ट्रेटलेले भने, "अधिकारीहरूले ती व्यक्तिले उक्त पुरस्कार रकम हात नपरेसम्म उनलाई स्वदेश फिर्ता (डीपोर्ट) नगरिने जनाएका छन्।"
बेल्जियन मिडियाका अनुसार ती व्यक्ति चार महिना अघि अल्जेरियाबाट डुङ्गाको बाटो स्पेन पुगेका थिए। त्यहाँबाट उनी स्पेन र फ्रान्स हुँदै पैदलै बेल्जियम पुगेका थिए।
उनी खासमा यूके जान चाहन्थे तर अहिले उनी बेल्जियममै बस्न चाहन्छन् र परिवार बसाउन चाहन्छन्।
उनले हेट लाट्स्ट न्यूजलाई भन "म एउटी श्रीमती खोज्नेछु तर मैले त्यो मेरो पैसाले होइन मेरो हृदयका कारण पाउनेछु।"









