युक्रेन युद्ध: डुबेको रुसी पानीजहाजका चालक दलका सदस्यको तस्बिर सार्वजनिक

रुस नौसैनिक

तस्बिर स्रोत, Alamy

रुसी रक्षा मन्त्रालयले अघिल्लो साता डुबेको आफ्नो नौ सैनिक पानीजहाजका चालक दलको तस्बिरहरू भन्दै केही तस्बिर सार्वजनिक गरेको छ।

मिति नखुलाइएको उक्त भिडिओमा सयौँ नाविकहरूलाई परेड मैदानमा देखाइएको छ र उनीहरूलाई रुसी नौ सेनाका प्रमुख एडमिरल निकोले येभमेनोभले निरीक्षण गरिरहेको देखिन्छ।

उक्त पानीजहाजमा करिब ५०० फौज रहेको बताइएको छ।

रुसले उक्त पानीजहाजमा रहेका विस्फोटक पदार्थ कारण नखुलाइएको आगलागीका कारण विस्फोटन भएपछि सो पानीजहाज डुबेको बताउँदै आएको छ।

तस्बिरमा के देखिन्छ

उक्त नौसैनिक पानीजहाज डुबेपछि त्यसका चालक दलका सदस्यहरूको तस्बिर देखा परेको यो पहिलो पटक हो।

ठूलो सङ्ख्यामा नाविकहरूको समूह क्राइमियाको बन्दरगाह शहर सेभास्टपोलमा परेड गरिरहेको देखाइएको छ।

मस्क्भा नामक उक्त पानीजहाज रुसी सेनाको ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक रहेको थियो।

उक्त पानी जहाज डुब्नुलाई रुसी सेनाको प्रतिष्ठामा ठूलो धक्काका रूपमा व्याख्या गरिएको थियो।

यसअघि बिहीवार अबेर रुसको रक्षा मन्त्रालयले विस्फोटक पदार्थ पड्किएपछि भएको आगलागीपछि खराब मौसमका माझ मस्क्भा डुबेको जनाएको थियो।

मस्क्भा नामक उक्त लडाकु पानीजहाजमाथि आफूले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो।

रूस

तस्बिर स्रोत, RUSSIAN DEFENCE MINISTRY/Handout via REUTERS

रुसले त्यसबेला चालक दलका सदस्यहरूलाई सन् २०१४ मा युक्रेनबाट गाभिएको क्राइमियामा अवस्थित सेभास्टपोल बन्दरगाहमा लगिएको जनाएको थियो।

उक्त पानीजहाजका नौ सैनिक जीवित रहेको प्रमाण सार्वजनिक गरिएको यो पहिलो घटना हो।

त्यस्ममा नौ सेनाका प्रमुख येभमेनोभ र दुई जना अधिकृतहरू करिब १ सय नाविकको अगाडि उभिएको देखाइएको छ।

तर त्यसको मिति भने प्रस्ट भइसकेको छैन।

भिडिओको अन्त्यमा देखाइएको अन्तरवार्तामा एडमिरल येभमेनोभले सेभास्टपोलस्थित आफ्नो शिविरमा अधिकृत र चालक दलका सदस्यहरू अहिले बसिरहेको भन्दै उनीहरूले नौ सेनामा सेवा गरिरहने भनिएको छ।

मानवीय क्षति भयो या भएन प्रष्ट छैन

रुसले पानीजहाजमा भएको आगलागी वा मस्क्भा डुब्दा कुनै हताहाती भएको विवरण दिएको छैन।

तर एक जना परिचय नखुलाएका अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले हाताहती भएको विश्वास वाशिङ्टनले गरेको उल्लेख गरेका छन्।

युक्रेनलेउक्त पानीजहाजका कप्तान एनटोन कुप्रिनको ज्यान गएको भनेको छ तर बीबीसीले उक्त दाबीलाई पुष्टि गर्न सकेको छैन।

१२ हजार ४९० टनको उक्त नौ सैनिक पानीजहाज दोस्रो विश्वयुद्ध यता फौजी कारबाहीका क्रममा डुबेको सबैभन्दा ठूलो रुसी सैनिक पानीजहाज हो।

गएको फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण गरेको पहिलो दिनमा नै मस्क्भाले स्नेक आइलेण्डको रक्षार्थ खटिएका युक्रेनी फौजको सानो समूहलाई आत्मसमर्पण गर्न अनुरोध गरेको थियो जसलाई उनीहरूले कडा शब्दमा अस्वीकार गरेका थिए।

मस्क्भा क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो।

रुसी पानी जहाज

तस्बिर स्रोत, MAX DELANY/AFP

युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।

एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो।

सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मस्क्भा नाम दिइएको थियो।

युद्धमा प्रयोग गरिने यो पानीजहाजमा जहाज प्रतिरोधी क्षेप्यास्त्रसहितका अस्त्रहरू छन्।

सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो।

युक्रेनमा आक्रमण सुरु गरेपछि रुसले गुमाएको यो दोस्रो प्रमुख पानीजहाज हो।