रुस-युक्रेन युद्ध: रुसबाट ऊर्जा आयात नबढाउन मोदीलाई बाइडनको आग्रह

मोदी

तस्बिर स्रोत, Reuters

भारतले रुसबाट ऊर्जा आयात बढाउने कुरा दिल्लीको स्वार्थअनुकूल नभएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

खासगरी सैन्य सामग्रीहरूको ठूलो आपूर्तिकर्ता रहेको अनि परम्परागत न्यानो सम्बन्ध रहेको कारण भारतले युक्रेन युद्धपश्चात् पनि रुसलाई चिढ्याउने गरी उसको निन्दा गरेको छैन।

रुसविरुद्धका अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूमा पनि दिल्ली सामेल छैन।

बाइडन-मोदी संवाद

यसै पृष्ठभूमिमा सोमवार राष्ट्रपति बाइडन र प्रधानमन्त्री मोदीबीच एक घण्टा लामो भिडिओ संवाद भएको थियो।

उक्त संवादका क्रममा अमेरिकी राष्ट्रपतिले रुसी ऊर्जा आयात बढाउने विषय दिल्लीको स्वार्थअनुकूल नरहेको बारे मोदीलाई बताएको ह्वाइट हाउसले जनाएको छ।

बाइडन

तस्बिर स्रोत, Getty Images

बरु बाइडनले ऊर्जा आयातमा विविधिकरण गर्न भारतलाई अमेरिकाले सहयोग गर्ने पनि बताएको ह्वाइट हाउसकी प्रवक्ताले बताइन्।

मस्कोलाई लिएर अमेरिका र भारतको दृष्टिकोण फरक भएपनि उक्त सम्वाद रचनात्मक रहेको बताइएको छ।

रुसविरुद्ध एक ठाउँमा उभिन आह्वान

यसबीच वाशिङ्टन भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उस्तै सोचाइ भएका देशहरू रुसविरुद्ध एकताबद्ध हुनुपर्ने बताएका थिए।

भारतीय र अमेरिकी विदेशमन्त्री

तस्बिर स्रोत, MEA

"हाम्रो ठम्याइ के छ भने सबै देशहरूले खासगरि जसले कुनै प्रभाव पार्न सक्छन् तिनले पुटिनलाई यो युद्ध अन्त्य गराउन दबाव दिनुपर्छ। साथै प्रजातन्त्रहरू एकै ठाउँमा उभिएर एकै स्वरले हाम्रा साझा मूल्यमान्यताबारे बोल्नुपर्छ," उनले भने।

गत महिना राष्ट्रपति बाइडनले भारतको अडानलाई 'कमजोर' भएको बताएका थिए।

भारतीय प्रधानमन्त्री मोदीसँग सोमवार भएको कुराकानीमा युक्रेन युद्ध लगायत कोभिड सहयोग, विश्व अर्थतन्त्र अनि हिन्द प्रशान्त सुरक्षा मामिलाबारे छलफल भएको बताइएको छ।