नेपाल-भारत रेल: भारतीय सहयोगमा बन्दै गरेका अन्तरदेशीय रेलमार्गहरूको निर्माण कुन चरणमा?

तस्बिर स्रोत, Twitter/Konkon Railway
नेपाल-भारत जोड्ने एउटा रेल सेवाको शनिवार दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेसँगै नेपालमा भारतीय सहयोगमा निर्माणाधीन तथा निर्माण हुन लागेका अन्य अन्तरदेशीय रेलमार्गबारे फेरि एकपटक चर्चा भइरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिवार उनी र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले जयनगर-कुर्था रेलसेवाको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।
भारतले रेलमार्ग निर्माण गरिदिएपछि नेपालले आफ्नै खर्चमा दुईवटा रेल किनेर ल्याएको करिब डेढ वर्षपछि बल्ल उक्त सेवाको उद्घाटन भएको हो।
जयनगर-कुर्था रेलसेवाले भारतको विहार र नेपालको धनुषा जिल्लालाई जोड्नेछ।
उक्त खण्ड भारतीय सहयोगमा निर्माणाधीन जयनगर-जनकपुर-बर्दिवास ६९ किलोमिटर रेलमार्गको खण्ड हो।
भारतीय सहयोगमा बन्ने रेलमार्गहरू
रेल विभागका अधिकारीहरूका अनुसार नेपालमा भारतको आर्थिक र प्राविधिक सहयोगमा विभिन्न स्थानमा अन्तरदेशीय रेलमार्ग निर्माणको क्रममा रहेका छन्।
त्यसमध्ये केही निर्माणाधीन छन् भने अधिकांशको अध्ययन मात्र भएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले बीबीसीलाई बताए।

तस्बिर स्रोत, RSS
उनका अनुसार सन् २०१० मा भएको सम्झौता अनुसार नेपाल र भारत भारतीय सीमावर्ती बजारलाई नेपालका दक्षिणी सहरहरूसँग रेलका माध्यमबाट जोड्न सहमत भएका थिए।
सोही सम्झौता अनुसार न्यू जलपाइगुडी-काकडभिट्टा ४६ किलोमिटर, बहनाह-कटहरी (जोगबनी-विराटनगर) १८ किलोमिटर, जयनगर-जनकपुर-बर्दिवास ६९ किलोमिटर, नौतनवा-भैरहवा १२ किलोमिटर र रुपेडिया-नेपालगञ्ज करिब १५ किलोमिटर गरी पाँचवटा रेलमार्ग निर्माणको प्रक्रिया अघि बढेको थियो।
त्यस बाहेक रक्सौल-काठमाण्डू रेलमार्गको काम पनि भारतीय सहयोगमै अघि बढेको चित्रकारले जानकारी दिए।
प्रारम्भिक अध्ययन सकिएको रक्सौल-काठमाण्डू रेलमार्गको कुल लम्बाइ १३६ किलोमिटर हुने अनुमान गरिएको छ।
तर विस्तृत अध्ययनपछि मात्र त्यसको यकिन दूरी तय हुने अधिकारीहरूले बताएका छन्।
काम कति भयो?
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने पूर्वाधार निर्माणको गति निकै सुस्त हुने गरेको कतिपय नेपाली विज्ञहरूले बताउने गरेका छन्।

अन्तरदेशीय रेलमार्ग निर्माणमा पनि ढिलाइ भएको कतिपयको धारणका छ।
तर रेल विभागका प्रवक्ता चित्रकारका भनाइमा हाल दुईवटा अन्तरदेशीय रेलमार्गमा निर्माण कार्य जारी छ भने अन्यको पनि प्राविधिक अध्ययनको काम सकिएको छ।
उनी भन्छन्, "पाँचवटा क्षेत्रमा रेलमार्ग विस्तार गर्ने सम्झौता अनुसार जोगबनी-विराटनगर र जयनगर-जनकपुर-बर्दिवास गरी दुईवटामा निर्माण भइरहेको छ।"
त्यस बाहेकका रेलमार्गको अध्ययन सकिएकाले चाँडै ती क्षेत्रमा पनि निर्माण हुने उनको विश्वास छ।
त्यस बाहेक रक्सौल-काठमाण्डू रेलमार्गको पनि पहिलो चरणको प्रारम्भिक अध्ययन सकिएको चित्रकार बताउँछन्।
उनले भने, "त्यसपछिको विस्तृत अध्ययनका लागि पनि नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएर भारतीय पक्ष फिल्डमा गएर काम गरिरहेको छ।"
ढिलाइका कारण
सन् २०१० मा भएको सम्झौता अनुसार पाँच वर्षमा नेपाल-भारत अन्तरदेशीय रेलमार्गहरू बन्ने भनिएको तर त्यो हुन नसकेको कतिपय विज्ञको भनाइ छ।

तस्बिर स्रोत, PRADEEP BASHYAL/BBC
उनीहरूका अनुसार नेपाली पक्षकै कमजोरीका कारण ती परियोजनाहरू तोकिएकै समयमा सम्पन्न हुन नसकेका हुन्।
रेल विभागमा समेत काम गरिसकेका एकजना विज्ञ प्रकाश उपाध्याय भन्छन्, "हामी बनिसकेको रेलवे त सञ्चालन गर्न सकेनौँ बनाउनेमा त ढिलाइ हुने नै भयो।"
उनका अनुसार नेपाली भूमिमा पर्ने कतिपय क्षेत्रमा सर्भेको काम समेत नभएको अवस्था रहेकाले पनि अन्तरदेशीय रेलमार्ग विस्तारमा ढिलाइ भएको हो।
उपाध्याय पछिल्लो समयमा ढिलाइ हुनुको एउटा कारण कोभिड महामारी पनि भएको बताउँछन्।
उनी भन्छन्, "अर्को समस्या भनेको हामीले अलि तदरुकता देखाउने नसकेर पनि हो कि?"
"त्यस्तै केही स्थानमा जग्गा अधिग्रहणको समस्या पनि छ। त्यसले पनि ढिलाइ भएको छ। नेपालभित्रै देखिएका यस्ता समस्याका कारण भारतीय पक्षले पनि खासै वास्ता नगरेको हुनसक्छ।"
पूर्व-पश्चिम रेलमार्ग आफ्नै खर्चमा
नेपाल-भारत अन्तरदेशीय रेलमार्ग निर्माणमा भारतको आर्थिक र प्राविधिक सहायता पाएको नेपालले आफ्नो पूर्वी सीमादेखि पश्चिमसम्म जोड्ने रेलमार्ग भने हालसम्म आफ्नै खर्चमा अघि बढाइरहेको अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, DoRW
मेची-महाकाली रेलमार्ग पनि भनिने उक्त आयोजना अन्तर्गत नेपालको पूर्वी सीमानाका काँकडभिट्टादेखि पश्चिमी सीमानाका गड्डाचौकीसम्म रेलमार्ग बनाउने लक्ष्य राखिएको छ।
उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको रेल विभागका प्रवक्ता चित्रकारले बताए।
उनले भने, "विभिन्न ११ वटा प्याकेजमा गरेर हामीले उक्त रेलमार्गको डीपीआर तयार पारिसकेका छौँ।"
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवासदेखि निजगढसम्मको ७०-८० किलोमिटर क्षेत्रमा भने हाल निर्माण कार्य जारी रहेको उनले बताए।
"त्यहाँ रेलवे लाइन विस्तार र पुलहरूको काम भइरहेको छ तर रेलको लिक हाल्ने काम भने भएको छैन," चित्रकारले भने।








