युक्रेन युद्ध: रुसी आक्रमणले अन्तरिक्ष सहकार्यलाई अन्त्य गर्ने जोखिम कसरी छ

तस्बिर स्रोत, Getty Images
- Author, फर्नान्डो डुआर्टे
- Role, बीबीसी वर्ल्ड सर्भिस
युक्रेन युद्धले अन्तरिक्ष अन्वेषण परियोजनामा रुस र पश्चिमा विश्वबीच दशकौँ यताको सहकार्यलाई अन्त्य गर्ने जोखिम रहेको छ।
अन्तरग्रह अनुसन्धान र भूउपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित भएका छन् र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा अर्थपूर्ण किसिमको सम्भावित विभाजन देखिएको छ।
उक्त केन्द्र एक अर्काप्रति निर्भर अमेरिकी र रुसी मोड्यूलहरू मिलेर जानी जानी निर्माण गरिएको थियो जसको अर्थ हो, त्यसको सञ्चालन राम्रोसँग हुन सहकार्य आवश्यक पर्छ। सन् २००० यता उक्त केन्द्रको सञ्चालनका लागि अमेरिका र रुसको प्रमुख योगदान रहेको छ।
तर सामाजिक सञ्जालमा हाल यो आरोप प्रत्यारोपको विषय बनेको छ जसमा रुसी अन्तरिक्ष निकाय रसकोसमसका प्रमुख डिमित्री रोगोजीनपनि जोडिएका छन्।
फेब्रुअरी २५ यताका शृङ्खलाबद्ध पोस्टहरूमा रोगोजीनले कैयौँ दाबी गरेका छन्। सबैभन्दा नाटकीय दाबीमा उनले रुसमाथिका प्रतिबन्धहरूका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किनसक्ने बताएका छन्।
अन्तरिक्ष केन्द्रलाई लिएर विवाद

तस्बिर स्रोत, Getty Images
रुसले स्टेशनको प्रपल्सन प्रणालीको संवेदनशील पक्षलाई नियन्त्रण गर्छ जसले पृथ्वीको वायुमण्डलतर्फ उक्त केन्द्रका संरचनाहरूलाई तानिनबाट रोक्छ।
रुसका पूर्व उपप्रधानमन्त्री समेत रहेका रोगोजीनले रुसी अन्तरिक्षयात्रीले आइएसएस छाड्दै त्यहाँ करिब एक वर्षदेखि रहेका अमेरिकी अन्तरिक्षयात्री भन्डेइ हेइलाई छाडिदिनसक्ने बताएका थिए। उक्त केन्द्रसम्म र त्यहाँदेखि हुने लगभग सबै उडानहरू रुसी रकेटका माध्यमबाट हुने गर्छन्।
रसकोसमसले भने आफूलाई रोगोजीनको धारणाबाट पर राख्ने प्रयास गरिरहेको छ।
मार्च १५ गतेको विज्ञप्तिमा उक्त निकायले भनेको छ, "रसकोसमसले आफ्नो विश्वसनीयतामा प्रश्न उठ्ने मौका कहिल्यै पनि दिएको छैन।"
त्यसको चार दिनपछि तीन जना रुसी अन्तरिक्षयात्री उक्त केन्द्रमा पुगेका थिए। अमेरिकी अन्तरिक्ष यात्री भान्डेइ हेइ मार्च ३० मा घर फर्किरहेका दुई रुसी सहकर्मीसँगै पृथ्वीमा आउँदैछन्।

तस्बिर स्रोत, NASA
अहिलेको आइएसएस साझेदारीले सन् २०२४ सम्मको सञ्चालनलाई सुनिश्चित गर्छ तर अमेरिकाले सन् २०३० सम्म म्याद थप्न जोड दिइरहेको छ। रुस अर्थात् रोगोजीनले अघिल्लो डिसेम्बरमा सन् २०२४ यता साझेदार रहन आफू इच्छुक नरहेको बताएका थिए।
टुटेको साझेदारी
युद्ध सुरु भए यता मस्को र उसको युरोपेली अन्तरिक्ष केन्द्र जस्ता साझेदारबीचको समझदारीहरू स्थगन या निलम्बन गरिएका छन् जसमा रुसमा निर्मित रकेटमा उड्ने भनिएको युरोपेली मार्स रोभरको प्रक्षेपण पनि पर्छ।
युरोपेली अन्तरिक्ष निकायले अनिश्चितकालीन रूपमा अन्तरिक्ष सम्बन्धी आफ्ना कार्यक्रम स्थगित गरेको छ।
उसले मार्च १७ मा विज्ञप्तिमार्फत् अन्तरिक्षमा वैज्ञानिक अन्वेषणको प्रभाव महसुस गरेको भएपनि युरोपेली अन्तरिक्ष निकाय आफ्ना सदस्य राष्ट्रले रुसमाथि लगाएको प्रतिबन्धको समर्थनमा उभिएको उल्लेख गरेको थियो।

तस्बिर स्रोत, Getty Images
त्यसको जवाफमा रुसले पनि युरोपेली अन्तरिक्ष निकायसँग गियाना अन्तरिक्ष केन्द्रमार्फत संयुक्त प्रक्षेपण गर्ने सम्झौताबाट अलग भएको घोषणा गरेको थियो।
उक्त साझेदारी अन्तर्गत २६ वटा युरोपेली भूउपग्रहहरू कक्षसम्म पुर्याइएका थिए। सबैभन्दा पछिल्लो पटक उक्त केन्द्रमार्फत महत्त्वपूर्ण वेब स्पेस टेलिस्कोप गएको डिसेम्बरमा प्रक्षेपण गरिएको थियो।
रसकोसमसले फेब्रुअरी २६ मा नासाको भेनिरा डी मिसनमा आफ्नो सहभागिता अन्त्य गर्ने घोषणा गरेको थियो। उक्त मिसनले सन् २०२९ मा अर्बिटर र ल्यान्डर शुक्र ग्रहमा प्रक्षेपण गर्ने निर्णय गरेको थियो।
'उनीहरूलाई आफ्नै झाडुमा उड्न दिऊँ'
मस्कोले अमेरिकी कम्पनीहरूलाई रकेट इन्जिनहरू आपूर्ति गर्न बन्द गर्ने पनि जनाएको छ।
यसै महिनाको सुरुमा रोगोजिनले रुसी सरकारी समाचार च्यानलसँग भनेका थिए, "उनीहरूलाई आफ्नै झाडुमा उड्न दिऊँ।"
युक्रेन सङ्कट यताको सबैभन्दा पछिल्लो सार्वजनिक टिप्पणीमा नासाले रोगोजिनको धारणालाई कम महत्त्व दिएको थियो।

तस्बिर स्रोत, Getty Images
"रुसी नागरिक अन्तरिक्ष कार्यक्रममा काम गर्ने अरू मानिसहरू जस्तै व्यावसायिक छन्। उनीहरू हामीसँग त्रुटिपूर्ण कार्य गर्दैनन्," नासाका प्रशासक बिल नेल्सनले मार्च १८ मा एसोसिएटेड प्रेससँग भने।
अमेरिकी र रुसीहरूले शीतयुद्धको समय समेत गरी दशकौँदेखि अन्तरिक्ष मामिलामा सहकार्य गर्दै आएका छन्।
सन् १९५० र ६० को दशकको अन्तरिक्ष प्रतिस्पर्धा सन् १९६९ मा चन्द्रमा अन्तरिक्ष यानको अवतरणसँगै साङ्केतिक रूपमा वाशिङ्टनले जितेको थियो।
त्यसपछि दुवै देशका प्रतिनिधिहरूले सन् १९७५ मा एपोलो सोयुज मिसन अघि बढाउन सहकार्य गरेका थिए।
प्रक्षेपणमा सहकार्य
स्पेस शटल कार्यक्रम बन्द भएपछि यो साझेदारी नासाका लागि उपयोगी भयो। सन् २०११ र २०२० का बीचमा रुसी रकेटहरू अमेरिकी र अरू विदेशी अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षको यात्रा गर्ने एक मात्रै माध्यम रुसी रकेट बन्यो।
सन् २०२० मा अमेरिकी अर्बपति एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेस एक्सले अन्तरिक्षयात्रीलाई लैजान थालेपनि त्यसले अवस्थामा खासै परिवर्तन गरेको छैन।
धेरै अमेरिकी अन्तरिक्ष अभियानहरू अझै पनि रुसमा बनेका रकेट इन्जिनहरूमा निर्भर छन्। अहिले नासाले भुल्कान नामक नयाँ रकेटको विकास गरिरहेको छ र त्यसले अमेरिकी कम्पनी ब्लु ओरिजिनले बनाएको इन्जिनहरूको प्रयोग गर्नेछ।

तस्बिर स्रोत, Getty Images
रुस र उसका पश्चिमा साझेदारहरूबीच युक्रेनमा हमला हुनुअघि बाटै तनावहरू सुरु भइसका थिए।
यूकेको युनिभर्सिटी अफ लेस्टरका अन्तरिक्ष विज्ञ ब्लेडिन बोले सन् २०१४ मा रुसले क्राइमियालाई आफूमा गाभेपछि सम्बन्धमा चिसोपन देखिन थालेको बताए।
मस्कोले प्रतिवादमा चालेका कदमहरूबाट बो आश्चर्यचकित छैनन्। उनले दीर्घकालमा अन्तरिक्ष राजनीतिमा रुसले थप क्षति बेहोर्नुपर्ने बताए।
"केही समय यता रुसको अन्तरिक्ष सामर्थ्य कमजोर भइरहेको थियो र उसले अन्तरिक्ष उद्योगका अति महत्वपूर्ण सामग्रीहरूलाई आधुनिकीकरण गर्न सकिरहेको थियो। कम्प्युटर प्रविधिका लागि पश्चिमाहरूसँग मात्र नभई दक्षिण कोरिया, जापान र ताइवानमा उ निर्भर रहेको थियो।"
चीनसँगको साझेदारी
अभूतपूर्व प्रतिबन्धहरूका कारण रुसी अर्थतन्त्र प्रभावित भएसँगै अन्तरिक्ष कार्यक्रम अझ खराब चरणबाट गुज्रने देखिन्छ।
रकेटहरूको प्रक्षेपण रुसका लागि कमाउने एउटा प्रमुख श्रोत थियो। मानवसहितको एउटा रुसी विमान उडानका लागि नासाले सन् २०२० मा ९० मिलिअन डलर भन्दा बढी खर्च गर्नुपर्थ्यो।
अन्तरिक्ष विज्ञहरूले युक्रेन द्वन्द्वपछि मस्कोले साझेदारीका लागि पूर्वतर्फ आँखा लगाउने अभिलासा राख्ने टिप्पणी गरिरहेका छन्।
रुसले चीनसँग सन् २०२१ मा कैयौँ संयुक्त मिसनहरू अघि बढाउने र चन्द्रमामा एउटा केन्द्र विकास गर्ने सहमति गरेको थियो।
हालैका वर्षहरूमा चीन उदियमान अन्तरिक्ष शक्ति हो र उसले आफूलाई अमेरिका र युरोपको प्रतिस्पर्धी ठान्छ। यसै वर्षको अन्त्यसम्म बेइजिङले आफ्नै अन्तरिक्ष केन्द्र बनाउने लक्ष्य लिएको छ।

तस्बिर स्रोत, Getty Images
चीन आईएसएसमा आवद्ध देशहरूको सूचीमा छैन त्यही भएर सन् २०११ यता अन्तरिक्ष यात्रीहरूलाई पठाउन आधिकारिक रूपमा बन्देज खेपिरहेको छ।
त्यसबेला अमेरिकाले 'राष्ट्रिय सुरक्षामा चिन्ता' भन्दै चिनियाँ अन्तरिक्ष कार्यक्रमसँग अमेरिकाले सम्पर्क गर्न नमिल्ने कानुन पारित गरेको थियो।
रुसी अर्थतन्त्रमाथिका कैयौँ प्रतिबन्धका कारण चीनसँग साझेदारी अघि बढाउन मस्कोलाई कठिन हुने विज्ञहरूको धारणा पाइन्छ।
"रुसको भन्दा चीनको अन्तरिक्ष कार्यक्रम एकदमै उपल्लो स्तरको छ, " अमेरिकामा रहेका अन्तरिक्ष नीति सम्बन्धी विज्ञ जन लग्डसन भन्छन्। "रुसलाई चीन चाहिएको छ, चीनलाई रुस होइन।"
रुसी संसद्मा गएको अक्टोबरमा प्रस्तुत गरिएको आँकडा अनुसार सन् २०२२ का लागि नासाको बजेट २४ अर्ब डलर भन्दा बढी छ जुन रसकोसमस भन्दा १० गुणा बढी हो।
लगानीमा देखिएको खाडलले भविष्यमा रुसलाई अन्तरिक्ष अन्वेषणमा कनिष्ठ भूमिकामा पुर्याउने लग्डसनले बताउँछन्।
"रुसी अन्तरिक्ष कार्यक्रमले केही समय यता नै आफ्नो प्रभाव गुमाइरहेको थियो। चीनले सहयोग नगरेसम्म उ एक्लिरहने सम्भावना छ।"








