एक दिवसीय क्रिकेटः कमजोर ठानिएको पपुवा न्यूगिनीसँग नेपालको कठिन जित

नेपाल क्रिकेट

आइसीसी विश्वकप लिग-२ को पुछारमा रहेको टोली पपुवा न्यूगिनी विरुद्ध बुधवार प्रतिस्पर्धात्मक एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा २०५ रनको लक्ष्य पछ्याउन आएको नेपाली टोलीले निकै खराब सुरुआत गर्‍यो।

तर आरिफ शेख र रोहित पौडेलले पाँचौँ विकेटको लागि १०२ रनको शतकीय साझेदारी गरेपछि टोलीले चार बल बाँकी छँदै जित पक्का गरेको हो।

ओडीआईमा कुनै पनि नेपाली जोडीले गरेको यो पहिलो शतकीय साझेदारी पनि हो।

दुवैले अर्धशतकीय पारी पनि खेले। पौडेलले ८५ बल खेलेर ओडिआईमा पहिलो पटक ५८ रन बनाए भने शेखले ५३ रन बनाए।

उनीहरूले ४२ रनको स्थितिबाट खेललाई १४४-६ मा पुर्‍याएका थिए।

यसले नेपाल हारको सङ्घारबाट माथि आएको थियो। तर खेलको रोमाञ्च भने अन्तिम समय सम्म रह्यो।

विनोद भण्डारी १२ र सोमपाल कामी ८ रनमा आउट भएपछि खेल अन्तिम ओभरमा पुगेर टुङ्गियो।

करण केसीले महत्त्वपूर्ण समयमा २५ बलमा अविजित ३३ रन बनाएपछि खेल नेपालको पक्षमा आयो।

नेपाल क्रिकेट

उनले २ छक्का र १ चौका प्रहार गरे।

जितसँगै नेपाल लिग २ को ७ राष्ट्र सम्मिलित शृङ्खलाको छैटौँ स्थानमै यथावत् रहन पुगेको छ।

पुछारमा रहेको पीडनजीले भने लिग २ को १४ औँ खेल हारेको छ।

यस अघि खेलेको लिग २ को १३ औँ खेलसम्म पपुवा न्यूगिनी जित विहीन भएको थियो।

टोलीले ३ वटा शृङ्खलाको सबै १२ खेल तथा हिजो मङ्गलवार युएई सँग गरी १३ खेलमा लगातार हार बेहोरेको थियो।

विश्वकप लिग- २ एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका ७ राष्ट्र बीचको ४ वर्षे लामो शृङ्खला हो।

जसमा एउटा टोलीले सन् २०१९ देखि २०२३ बीच कुल ३६ खेल खेल्ने तालिका छ।

खराब सुरुआत

ब्याटिङ पिचको रूपमा चिनिने शारजहाको मैदानमा पपुवा न्यूगिनीले दिएको २०५ रनको लक्ष्य मध्यम ठानिएको थियो।

तर नेपालको प्रारम्भिक जोडीले निकै खराब प्रदर्शन गर्दै आउट भएपछि टोली दबाबमा पर्‍यो।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए। उनी लिए नाओको बलमा विकेट किपरबाट क्याच हुन पुगेका थिए।

नेपाल क्रिकेट

त्यसपछि नेपालको विकेट लगातार जसो पतन हुन थाल्यो।

तेस्रो ओभरमा अनुभवी ज्ञानेन्द्र मल्ल ४ रनमा नर्मन भानुआको बलमा एलबीडब्लु धरापमा परे।

पछिल्लो समय निकै भरपर्दो ब्याटिङ गर्दै आएका दीपेन्द्र सिंह ऐरी ९.२ ओभरमा आउट भएपछि नेपाल २४-३ को खराब स्थितिमा पुगेको थियो।

आठ रन बनाएर खेलिरहेका ऐरीलाई राइली हाकुरेले लिए नाओबाट क्याच गराएका थिए।

चौथो विकेट आसिफ शेखको झरेको थियो। १५ औँ ओभरमा असाद भालाको बलमा ओपनर शेख (१६ रन) विकेट किपरबाट स्टम्पिङ भएका थिए।

त्यसपछि क्रिजमा पौडेल र शेखले सम्हाले।

पपुवा न्यूगिनीको ब्याटिङ

यसअघि टस जितेर ब्याटिङ लिएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो।

नेपाल क्रिकेट

टोलीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रनको योगदान गरेका थिए भने चाद सोपरले ३५ रनको योगदान दिएका थिए।

टोलीलाई चुनौतीपूर्ण लक्ष्यसम्म पुर्‍याउन पाँचौँ विकेटका लागि अमिनी र चाद सोपरको ७५ रनको साझेदारी महत्त्वपूर्ण बन्यो।

यो जोडीले २४.४ ओभरमा ९१-४ को धरमराउँदो अवस्थाबाट टोलीलाई उकासेका थिए।

नेपालबाट तेज गतिका बलर सोमपाल कामीले ३ विकेट, कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १/१ विकेट लिए। दुई विपक्षी रनआउट भए।

मल्लको ओडीआईमा यो पहिलो विकेट हो।

ढकालको डेब्यू

बायाँ हाते युवा स्पिनर सागर ढकालले पपुवा न्यूगिनीविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा राष्ट्रिय टोलीमा 'डेब्यू' (पहिलो खेल) गरेका छन्।

उनी ओडिआई डेब्यू गर्ने २८ औँ नेपाली खेलाडी हुन्।

काठमाण्डूमा गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) मा चितवनलाई उपाधि दिलाउने क्रममा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी भएपछि उनी प्रशिक्षक पुबुदु दशानायकेको रोजाइमा परेका थिए।

ढकालले अघिल्लो महिना ओमानविरुद्धको खेलबाट टी-२० आईमा डेब्यू गरिसकेका छन्।

उमेर समूहको प्रतियोगिताहरूमा ढकालले राम्रो प्रदर्शन गर्दै आएका छन्।

सन्दीप लामिछानेले पपुवा न्यूगिनीसँगको खेलबाट ओडिआईमा 'डेब्यू' कप्तानीको अवसर पाए।