रुस-युक्रेन युद्ध : एक सिरियाली जसले किएभस्थित घरको भुमिगत कोठालाई बमबाट जोगिने ठाउँ बनाए

- Author, जियाद गनदुर
- Role, बीबीसी अरेबिक
एक साताभन्दा केही अघिको कुरा हो, बिहानको पाँच बजेको थियो जब ओमार गोलाबारी र विस्फोटको आवाजले ब्युँझिए। किएभ नजिकै उनको घरबाट सुनिएको विस्फोटको त्यो आवाज र त्रासदीपूर्ण अनुभवसँग उनी पहिले उनको जन्मस्थान सिरियामा रहँदा नै परिचित थिए।
ओमार करिब त्यस्ता ७० लाख सिरियालीहरूमध्ये एक हुन् जो ११ वर्ष लामो विनाशकारी गृहयुद्धबाट भागेर शान्तिपूर्ण जीवन खोज्दै नयाँ देशमा पुगेका थिए।
उनी र उनकी श्रीमती इरिना करिब चार महिनादेखि युक्रेनको राजधानी किएभमा बस्दै आएका छन्। यी दुईको जीवनस्तर बिस्तारै सुधारिँदै थियो। घरको आन्तरिक सजावटको उनीहरूको व्यवसायले अन्ततः नियमित ग्राहक भेट्न थालेको थियो। तर, रुसले युक्रेनमा गरेको आक्रमणसँगै यो दम्पती पनि रातारात युद्धमा धकेलिए।
"आठ पटक भएको शक्तिशाली विस्फोटले घरका ढोका र झ्यालहरू हल्लाएको थियो," ओमारले बीबीसीसँग भने। त्यो रुसी सेनाले हवाई, स्थल र समुद्री मार्गबाट युक्रेनको विभिन्न क्षेत्रमा गरेको विनाशकारी आक्रमणको सुरुवात मात्र थियो।
ओमारले सिरियाली युद्धमा सिकेको आपत्कालीन सुरक्षाका कदमहरूलाई व्यवहारमा लागू गर्ने समय आएको निर्क्योल गरे।
"बम विस्फोटको आवाज सुनेपछि एक घण्टा पर्खियौँ। त्यसपछि कारमा पेट्रोल भर्न निस्कियौँ। त्यहाँ लाम थियो। त्यसैले हामीलाई ट्याङ्क भर्न दुई घण्टा लाग्यो। त्यहाँबाट हामी पसल गयौँ र त्यहाँ खाद्यान्न किन्नकै लागि तीन घण्टा पर्खियौँ।"
उनीहरूले खानेकुरासँगै ब्याट्री र बत्तीको बल्बहरू किने।
भुमिगत कोठा बन्यो बमबाट जोगिने ठाउँ
रुसी सैनिकहरू प्रत्येक दिन किएभतर्फ नजिकिँदै थिए र उनीहरूबाट जोगिन ओमार दम्पतीसँग चिसो ढुङ्गाका पर्खाल र होचो छत अनि वरपर रहेका निर्माण सामग्रीहरू, प्लास्टिकका झोला र धुलाम्य भएका वस्तुहरू मात्र थिए।
पुरानो भुमिगतकोठाको एउटा कुना अहिले उनीहरूको बमबाट जोगिने आश्रय स्थलमा परिणत भएको छ। त्यहाँ तन्ना, सिरक र सिरानी सहित काम चलाउ सुत्ने ठाउँ बनाइएको छ।
जब तापक्रम माइनस ६ डिग्री सेल्सियसभन्दा कम हुन्छ तब सानो टेबलमाथि राखिएको ताजा स्याउ र चियाले ओमार र उनकी श्रीमतीलाई जाडोको सामना गर्न सहयोग पुर्याउँछ।
त्यस साँघुरो ठाउँमा उनीहरू ब्याट्रीबाट चल्ने बत्तीको मधुरो प्रकाशको सहारामा बस्छन्।
जमिनबाट करिब १९ पाइला मुनिको भुमिगत कोठामा यो दम्पतीका लागि समय निकै सुस्त गतिले चलिरहेको छ। उनीहरू भयको सामना गर्ने सक्दो प्रयास गरिरहेका छन्। त्यस्तो भय जुन उनीहरूले भूमिगत हुनुभन्दा अगाडि स्थानीय सञ्चारमाध्यममा देखेका थिए।
"हामी डराएका छौँ किनकि हामीले खार्किभ र रुसीहरूले कब्जा गरेको अन्य सहरहरूको अवस्था देखेका छौँ। हामीले टेलिभिजनमा रुसी बम विस्फोटहरू देख्यौँ जसले सेनालाई मात्र निशाना बनाएन। त्यहाँ कसरी सर्वसाधारणको समेत ज्यान गयो त्यो देख्यौँ," ओमार भन्छन्।

तस्बिर स्रोत, Getty Images
किएभ पछि युक्रेनको दोस्रो ठूलो सहर, खार्किभ रुसका लागि आक्रमणको पहिलो लक्षित सहर थियो।
फेब्रुअरी २४ मा सुरु भएको आक्रमणको छैटौँ दिन, यस उत्तर-पूर्वी सहरको सांस्कृतिक केन्द्रमा रुसले क्षेप्यास्त्र र रकेटहरू प्रहार गरेपछि खार्किभ विश्वभर समाचारको शीर्षक बन्यो। सहरको मध्य भागमा रहेको फ्रिडम स्क्वायरस्थित एक प्रदर्शनी केन्द्र, सभा हल र सरकारी कार्यालयहरू ध्वस्त भएका छन्।
त्यस समय कम्तीमा १० जना मानिसको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका थिए।
सिरिया रहँदा पनि उस्तै भोगाइ
युक्रेन युद्ध ओमारका लागि सेप्टेम्बर २०१५ देखि सिरियामा हवाई आक्रमण र सैन्य कारबाही गर्ने रुसी सेनासँगको पुनः साक्षात्कार पनि हो।
लेबनानको हिजबुल्लाह र इरानसँगै रुस सिरियाली राष्ट्रपति बसर अल-असदको लामो समयदेखि समर्थक रहेको छ। बसर अल-असद सन् २००० मा बुबा हाफेजको मृत्यु पछिका उत्तराधिकारी हुन्।

तस्बिर स्रोत, Getty Images
युद्धअघि सिरियामा रुसको सैन्य आधार शिविर थियो। रुसी सरकारले आफ्नो सेनाले "आतङ्कवादी" लक्षित आक्रमणहरू मात्रै गरेको बताउँछ। तर, अभियानकर्मीहरू भने रुसी सेनाले नियमित रूपमा मुख्य विद्रोही र सर्वसाधारणलाई समेत मार्ने गरेको बताउँछन्।
ओमारले बीबीसीलाई भने, "मलाई रुसी आक्रमणको क्रूरता र हिंसा थाहा छ।"
राष्ट्रसङ्घको बालबालिका सम्बन्धी निकाय युनिसेफका अनुसार सिरियाली युद्धमा करिब १२ हजार बालबालिका मारिएका वा घाइते भएका छन्।
सिरिया भरका कार्यकर्ताहरूबाट प्राप्त जानकारीमा आधारित अनुगमन समूह 'भायोलेसन डकुमेन्टेसन सेन्टर'ले अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकार कानुनको उल्लङ्घन, नागरिकहरूमाथि हुने आक्रमणहरूलगायतका घटनाहरूको विवरण सम्मिलित दस्ताबेजहरू प्रस्तुत गरेको छ।
यस समूहले सन् २०२० को डिसेम्बरसम्म १३५,६३४ नागरिकहरूसहित २२६,३७४ युद्धको समयमा भएका मृत्युहरूको दस्ताबेज प्रस्तुत गरिसकेको छ।
'के अब मैले मेरो परिवारलाई एक युद्धबाट अर्को युद्धमा लिएर हिँड्नु पर्छ?'

तस्बिर स्रोत, BBC Arabic
गाजामा जन्मिएका प्यालेस्टाइनी अश्रफ रोश सन् २००९ देखि आफ्नी श्रीमती, दुई सन्तान, ससुरा र जेठाजुसँग किएभमा बस्दै आएका छन्। उनी किएभमा इलेक्ट्रोनिक्स इन्जिनियरको रूपमा कार्यरत छन्।
उनको छोरा खार्किभ विश्वविद्यालयमा प्रथम वर्षको विद्यार्थी हुन् जहाँ उनी जेट इन्जिन इन्जिनियरिङ पढ्छन्।
"विश्वविद्यालयमा पहिलो सेमेस्टर पढ्दै गर्दा ऊ धेरै खुसी थियो," रोशले बीबीसीलाई भने।
"दोस्रो सेमेस्टर सोमवारबाट सुरु हुने तालिका थियो। अब त ऊ दुःखी छ। अहिलेको अवस्थाले उस्ले आफ्नो भविष्य र विश्वविद्यालय दुवै गुमाएको महसुस गरेको छ।"
ओमारजस्तै अश्रफका लागि पनि युद्ध नौलो विषय होइन।
यद्यपि यो द्वन्द्व गाजामा आफूले अनुभव गरेको भन्दा जोखिमपूर्ण हुनसक्ने अनुमान उनले गरेका छन्।
"म प्यालेस्टाइनी भएकोले यो मैले देखको पहिलो युद्ध होइन। तर यो युद्ध बढ्यो भने अवस्था सामान्य रहँदैन," उनले रुसी पारमाणविक अस्त्रको सन्दर्भ इङ्गित गर्दै भने।
संयुक्त राष्ट्रसङ्घका अनुसार अहिले १५ लाखभन्दा बढी नागरिक युक्रेनबाट पलायन भएका छन्। युरोपेली सङ्घले रुसको आक्रमणका कारण ४० लाख मानिसले युक्रेन छोड्ने प्रयास गर्न सक्ने अनुमान गरेको छ।
अश्रफ, उनको परिवार र युक्रेनमा रहेका अन्य युद्ध शरणार्थीहरूको भविष्य अस्पष्ट छ। उनीहरूलाई थाहा छ घर फर्कनु विकल्प होइन।
"एक प्यालेस्टाइनी र गाजाको मानिस भएकाले मसँग विकल्पको अन्य बाटो छैन। मेरा विकल्पहरू चिन्ताजनक, सीमित र अस्पष्ट छन्। के अब मैले मेरो परिवारलाई एक युद्धबाट अर्को युद्धमा लिएर जानुपर्छ?", अश्रफले खिन्न बोली बोले।










