चेल्सीः फुटबल क्लब बेचेर युक्रेनका युद्धपीडितलाई सहयोग गर्ने रोमन अब्रामोभिचको योजना

तस्बिर स्रोत, PA Media
चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्।
प्रिमिअर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले "एकदमै कठिन निर्णय लिएको" र त्यसले "पीडा दिएको" उल्लेख गरेका छन्।
क्लब विक्रीमार्फत हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने उनले बताएका छन्।
युक्रेनमाथि रुसी आक्रमणपछि अब्रामोभिचले चेल्सी सम्हाल्ने जिम्मेवारी त्यसका संरक्षकहरूलाई दिने शनिवार बताएका थिए।
कति मूल्य छ?
उनको त्यो भनाइपछि चेल्सी अब विक्रीमा राखिने अड्कलबाजी सुरु भएको थियो। अब्रामोभिचले डेढ अर्ब पाउन्ड स्टर्लिङ ऋण लिएका छन्।
अरबपति भिस हान्सयोर्कले बुधवार स्विस पत्रिका ब्लिकसँग कुरा गर्दै आफूलाई चेल्सी क्लब खरिद गर्न प्रस्ताव गरिएको बताएका थिए।
भिसका अनुसार रुसी संसद्मा प्रतिबन्ध लगाइने चेतावनी दिइएपछि अब्रामोभिचले चेल्सीबाट "छिट्टै उन्मुक्ति" चाहेको बताएका छन्।
पचपन्न वर्षीय अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको बताइन्छ। तर उनले त्यो अस्वीकार गर्दै आएका छन्।
उनले क्लब विक्री गरेर हुने "सबै मुनाफा युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूलाई दान दिने" बताएका छन्।

तस्बिर स्रोत, PA Media
बीबीसी स्पोर्ट्सले थाहा भएअनुसार चेल्सी खरिदका लागि अब्रामोभिचले प्रस्ताव पाइसकेका छन्। उनले क्लबको मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेको बताइन्छ।
वक्तव्यमा अब्रामोभिचले भनेका छन्, "मैले सधैँ मनमा क्लबको भलो सोचेर निर्णयहरू लिने गरेको छु।"
"अहिलेको अवस्थामा मैले क्लब बेच्ने निर्णय लिएको छु जुन निर्णय क्लब, प्रशंसक, कर्मचारी र प्रायोजक तथा साझेदारको समेत हितमा रहेको मेरो विश्वास छ।"
"क्लबको विक्री द्रुत गतिमा नभई प्रक्रियाअनुरूप नै हुनेछ। कुनै ऋण तिर्न भन्ने छैन।"
"मैले मेरो टोलीलाई एउटा परोपकारी संस्था खडा गर्न भनेको छु जसमार्फत सबै मुनाफा दान गरिनेछ। यो संस्था युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूका लागि हुनेछ।"
सन् २००३ मा अब्रामोभिचले १४ करोड पाउन्ड स्टर्लिङमा खरिद गरेका थिए।








