रुस-युक्रेन युद्ध : मारिएका भनिएको १३ जना युक्रेनी सैनिक जीवितै

स्नेक आइल्यान्ड।

तस्बिर स्रोत, Ukrainian Naval Forces

युक्रेनको जलसेनाले रुसी आक्रमणको पहिलो दिन ज्मीन्यी (स्नेक) आइल्यान्ड भनिने टापुको प्रतिरक्षा गर्ने क्रममा ज्यान गुमाएको ठानिएका १३ जना सैनिक जीवितै रहेको बताएको छ।

सिपाहीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका अडिओ रेकर्डिङ्गमा ती सीमा रक्षकहरूले रुसी युद्धपोतलाई आक्रमणको चेतावनीको बदलामा अश्लील गाली गरेको सुनिएको थियो।

त्यस्तो अडिओ बाहिरिएपछि युक्रेनका राष्ट्रपतिले ती ज्यान गुमाएका भन्ने विश्वास गरिएका सीमा रक्षकहरूलाई मरणोपरान्त सम्मान दिएका थिए।

अडिओमा सुनिएको बोलीलाई उनीहरूको अन्तिम शब्दहरूका रूपमा व्याख्या गरिएको थियो। त्यहाँ प्रयोग गरिएको दुर्वचन तत्काल युक्रेनियन सामाजिक सञ्जाल प्रयोगकर्ताहरू माझ व्यङ्ग्यात्मक सामग्रीको विषय बन्यो।

रुसले त्यस समय त्यो टापुमा रहेका युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेका बताएको थियो।

सोमबार युक्रेनको जलसेनाले एक फेसबुक पोस्टमार्फत "हाम्रा दाजुभाइ जीवित र स्वस्थ छन्" भन्ने जानकारी सार्वजनिक गरेको थियो।

स्नेक टापुका सीमा रक्षक र मरीनहरूले "दुई पटक रुसी कब्जाकारीहरूलाई साहसका साथ विफल तुल्याए" तर उनीहरूले युद्ध जारी राख्न सकेनन् किनभने उनीहरूसँग गोला बारुद सकिएको थियो, पोस्टमा लेखिएको छ।

रुसीहरूले लाइटहाउस, टावर, एन्टेना र मुख्य भूमिसँगको सञ्चार सम्पर्कको उपाय लगायत टापुको पूर्वाधारलाई "पूर्ण रूपमा ध्वस्त पारिदिएका", पोस्टमा उल्लेख गरिएको छ।

'स्वैच्छिक आत्मसमर्पण'

स्नेक आइल्यान्ड।

तस्बिर स्रोत, Google

युक्रेनका जलसेनाले, रुसी आक्रमणपछि मानवीय उद्धार अभियान अन्तर्गत युक्रेनले उक्त टापुमा पठाएको नागरिक खोजी र उद्धार जहाजका चालक दल र उनीहरूसँग आएका दुई जना पादरीहरूलाई गैर कानुनी रूपमा हिरासतमा लिएको आरोप समेत लगाएको छ।

"कुनै पनि सैन्य अभियानमा संलग्न नभएका गैर-लडाकु नागरिक जहाजको गैरकानुनी कब्जा युद्धको नियम र प्रचलन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हो," जलसेनाले चेतावनी दिएको छ।

शुक्रवार रुसी रक्षा मन्त्रालयका प्रवक्ताले ८२ जना युक्रेनी सैनिकहरूले ज्मीन्यी टापुमा "आफूसँग भएका हतियार विसाएर स्वेच्छाले आत्मसमर्पण गरेको" बताएका थिए। उनले रुसी युद्धपोतले कुनै हमला गरेको वा हताहत भएको उल्लेख नगरी त्यस्तो दावी गरेका थिए।

उनले बन्दीहरूलाई "शत्रुतापूर्ण गतिविधिमा भाग नलिने प्रतिबद्धतामा हस्ताक्षर गर्न भनिएको " र "छिट्टै भविष्यमा उनीहरूको परिवार समक्ष पठाइने" बताएका थिए।

ज्मीन्यी टापु उत्तर-पश्चिमी ब्ल्याक सी मा अवस्थित छ। युक्रेनी तटबाट लगभग ४८ किलोमिटर र क्राइमियाको ३०० किलोमिटर पश्चिममा पर्छ, जुन क्षेत्रलाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो।

आकारमा सानो भए पनि यसको रणनीतिक महत्त्व छ। एट्लान्टिक काउन्सिलले यसलाई समुद्री क्षेत्रमाथि दाबी गर्नका निम्ति युक्रेनका लागि एउटा महत्त्वपूर्ण कडी भएको बताएको छ।

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: यसरी पेट्रोल बम बनाइरहेका छन् युक्रेनी महिलाहरू
Presentational grey line