ब्लू डाइमन्ड चोरी प्रकरण: राजकुमारको नीलो हीरा र बहुमूल्य रत्न चोरिएपछि कसरी चिसिएको थियो थाई-साउदी सम्बन्ध

चोरी भएको गहनासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दै थाई प्रहरी

तस्बिर स्रोत, Khaosod

तस्बिरको क्याप्शन, चोरी भएको गहनासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दै थाई प्रहरी

साउदी अरब र थाईल्यान्डले हीरा र बहुमूल्य रत्न चोरी तथा शृङ्खलाबद्ध हत्यासँग सम्बन्धित ३० वर्ष पुरानो एउटा विवाद अन्त्य गरेका छन्।

थाईल्यान्डका प्रधानमन्त्री प्रायुत चान ओचाको रियाद भ्रमणका क्रममा यी दुई देशबीच पूर्ण कूटनीतिक सम्बन्ध पुनः स्थापित भएको छ।

एक साउदी राजकुमारका लागि काम गर्ने थाई सफाइ कर्मचारीले सन् १९८९ मा केही रत्नहरू चोरेका थिए।

तर त्यसरी लगिएको भनिएकामध्ये ५० क्यारटको एउटा दुर्लभ नीलो हीरा फेरि फेला परेन।

उक्त चोरीपछि ब्याङ्ककमा तीन साउदी कूटनीतिज्ञको गोली हानी हत्या गरिएको थियो।

उक्त मामिलामा धेरै वरिष्ठ थाई प्रहरीहरू संलग्न भएको मानिए पनि उनीहरूलाई कहिल्यै दोषी ठहर गरिएन।

नीलो हीरा

अहिलेको सम्झौताले कस्तो प्रभाव

अहिले भएको सम्झौताले थाई नागरिकहरूलाई साउदी अरबमा रोजगारी खोज्ने बाटो खोलिदिएको छ।

साउदी अरेबलाई विभिन्न क्षेत्रमा काम गर्ने लाखौँ विदेशी कामदारहरूको आवश्यकता हुने गर्छ।

उक्त सम्झौताले अब पर्यटन र पेट्रोकेमिकलजस्ता क्षेत्रको साझेदारी नवीकरण गर्न पनि अनुमति दिनेछ।

साउदी अरेबियन एअरलाइन्सले आगामी मे महिनादेखि थाईल्यान्डका लागि पुन: सीधा उडान सुरु गर्ने घोषणा गरेको छ।

क्रिअङ्क्राई टेचमोङलाई तीन वर्ष जेल सजाय भएको थियो

तस्बिर स्रोत, Panumas Sanguanwong/BBC Thai

तस्बिरको क्याप्शन, क्रिअङ्क्राई टेचमोङलाई तीन वर्ष जेल सजाय भएको थियो

साउदी अरबका राजा फाहदका जेठा छोरा राजकुमार फैसलका थाई सफाइकर्मी क्रिअङ्क्राई टेचमोङले आफ्ना मालिकका हीराजुहारत चोरेर भागेपछि उत्पन्न परिस्थितिमा दुई देशबीच सम्बन्ध चिसिएको थियो।

क्रिअङ्क्राईले ती गहनाको वास्तविक मूल्य थाहा नपाईकन थाईल्यान्डमा बेचेका थिए।

पछि थाई प्रहरीले दुई करोड डलरबराबरका केही गहनाहरू फिर्ता गरेको थियो। यद्यपि फिर्ता गरिएका अधिकांश रत्न नक्कली भएको साउदी पक्षको दाबी थियो।

चोरीको उक्त घटना भएको एक वर्षपछि थाईल्यान्डमा तीन साउदी कूटनीतिज्ञको गोली हानी हत्या भयो। अनि हराएका गहना पत्ता लगाउन त्यहाँ पठाइएका एक अनुसन्धानकर्ता बेपत्ता भए।

उक्त अपराधका दुई सन्दिग्ध थाई नागरिको पनि शङ्कास्पद अवस्थामा मृत्यु भयो।

उक्त प्रकरणमा ती सफाइ कर्मचारी क्रिअङ्क्राई र एक प्रहरी अधिकृत मात्र जेल परेका थिए।

थाई प्रधानमन्त्री र साउदी राजकुमार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, थाई प्रधानमन्त्री र साउदी राजकुमार

साउदी पक्षले थाई प्रहरीका वरिष्ठ अधिकारीहरूले ती चोरिएका रत्न र गहना हात पारेको तथा फितलो अनुसन्धान गरेको आरोप लगायो।

सन् १९९४ मा साउदी नियोगका तत्कालीन उपप्रमुखले उनीहरूलाई "बोल्न नदिन" " साउदी कूटनीतिज्ञहरूको हत्या गरिएको बताएका थिए।

ब्याङ्ककमा रहेका बीबीसी संवाददाता जोनाथन हेडका अनुसार थाई प्रधानमन्त्रीको साउदी अरबको ऐतिहासिक भ्रमण उक्त विचित्र र लज्जास्पद काण्डपछि ती दुई देशबीच उच्चस्तरमा भएको पहिलो सम्पर्क हो।

एउटा संयुक्त वक्तव्यमा थाई प्रधानमन्त्रीले "सन् १९८९ र १९९० बीच थाईल्यान्डमा भएका दुःखद घटनाका लागि हार्दिक खेद" व्यक्त गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, साउदी राजकुमारहरु कसरी भए वेपत्ता?

उक्त विवादका कारण अर्बौँ डलर बराबरको व्यापारिक घाटा भयो भने हजारौँ थाई आप्रवासी कामदाररूले रोजगारी गुमाउनुपर्‍यो।

उक्त विवादअघि करिब तीन लाख थाई कामदारले साउदी अरबमा काम गरिरहेका थिए।

घटनाका बेला चोरी भएका अधिकांश रत्न र गहना कहिल्यै फेला परेनन्।

नीलो हीरा किन बहुमूल्य?

नीलो हीरा एकदमै कम मात्रामा र विश्वका केही खानीमा मात्र पाइने भएकाले बहुमूल्य मानिन्छ।

हीरा बन्ने क्रममा बोरोन नामक तत्त्वका कारण त्यसको रङ्ग नीलो हुन्छ।

साउदी राजकुमारसँग भएको उक्त हीरा कहाँबाट प्राप्त भएको थियो भन्ने स्पष्ट छैन। त्यसलाई चिन्न सकिने खालको तस्बिर पनि छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, थाईल्यान्डका प्रधानमन्त्रीले हालै एउटा पत्रकार सम्मेलनमा अनौठो बेहोरा देखाएका छन्।