कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमण दर बढ्नुले के सङ्केत गर्छ, अहिले अस्पतालमा कस्तो चाप छ

खोप अभियान

तस्बिर स्रोत, RSS

नेपालमा कोभिड सङ्क्रमणमा दैनिक वृद्धि भइरहेको बेला दुई साताको तथ्याङ्कले अस्पतालमा गम्भीर लक्षणसहित भर्ना हुने बिरामीको सङ्ख्या लगभग स्थिर रहेको तर घरभित्र वा संस्थागत आइसोलेशनमा बस्नेहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहेको देखाएको छ।

कतिपय विज्ञहरूले अहिले विश्वभरि व्यापक रूपमा फैलिन थालेको कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टका कारण नेपालमा पनि तेस्रो लहर सुरु हुन थालेको अर्थमा अहिलेको तथ्याङ्क विश्लेषण गर्नुपर्ने बताएका छन्।

अहिले नेपालमा डेल्टा भेरिअन्टबाहेक ओमिक्रोन पनि क्रमशः फैलिन थालेको विज्ञहरूको आशङ्का छ।

देशभरि सङ्कलन गरिएका १,१४६ वटा नमुनाको एस-जीन स्क्रीनिङ गर्दा २२ प्रतिशत अर्थात् २५० वटामा एस-जीन नभएको पत्ता लागेको र तीमध्ये २४ वटा नमुनालाई जीन सीक्वन्सिङका लागि पठाउँदा सबैमा ओमिक्रोन भेरिअन्ट देखिएको पौष २३ गते बताएका थिए।

उक्त भेरिअन्टका कारण सङ्क्रमण भएपछि कोभिडका मध्यम खालका लक्षणहरू देखा पर्ने र खोप लगाएका धेरै मानिसले अस्पताल नै भर्ना हुनुपर्ने अवस्था नआउने बताइन्छ।

तर विगत केही दिनमा काठमाण्डू उपत्यकाका अस्पतालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षणसहित जँचाउन आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताइन्छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. नेपालमा कोभिड-१९. पौष १२ गतेदेखि दैनिक पुष्टि भएको सङ्क्रमितको सङ्ख्या.

अस्पतालमा कतिको चाप छ

गत पौष १७ गते सार्वजनिक दैनिक तथ्याङ्कमा २४ घण्टाको अवधिमा ३८२ जनामा कोभिड पुष्टि हुँदा देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ५,००० भन्दा कम थियो।

त्यस बेला ४७ सयभन्दा बढी व्यक्ति होम आइसोलेसनमा र झन्डै अढाई सय जना संस्थागत आइसोलेशनमा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।

त्यति सङ्ख्यामा सक्रिय सङ्क्रमण हुँदा ८९ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा थिए।

तर पौष २८ बुधवारसम्म आइपुग्दा २४ दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर ३,००० नाघेको छ। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै ११ हजार ७ सय रहेको सरकारको तथ्याङ्कले देखाउँछ। तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्लामा छन्।

सरकारको तथ्याङ्कले सक्रिय सङ्क्रमितमध्ये ८८० जना अस्पताल वा संस्थागत आइसोलेशनमा र बाँकी अरू घरमै बसेको देखाउँछ।

अस्पतालमा भएका बिरामीमध्ये आईसीयूमा ८७ जना र भेन्टिलेटरमा २२ जना छन्।

अहिलेको तथ्याङ्कले के सङ्केत गर्छ

अहिलेको तथ्याङ्कले समुदायमा सङ्क्रमण फैलिँदै गएको देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार यसको प्रभाव आगामी दिनमा अस्पतालमा देखिन सक्छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गएको मे महिनामा सङ्क्रमण उच्च विन्दुमाहुँदा दाङको कोरोना विशेष अस्पतालमा उपचाररत व्यक्तिहरू

"कम्तीमा एउटा मात्रै मात्रा खोप लगाउनेको सङ्ख्या अहिले दोस्रो लहरको तुलनामा उल्लेख्य रूपमा धेरै छ। अनुसन्धानहरूले ओमिक्रोन भेरिअन्टसँग छिटो फैलिन सक्ने क्षमता भएपनि अघिल्लो भेरिअन्टसँग तुलना गर्दा कम घातक हो कि भन्ने देखाइरहेको छ," उनले भने।

"त्यही भएर अघिल्लो पटक देखिएका जस्ता समस्या हुबहु दोहोरिँदैनन् कि भन्ने मलाई लाग्छ।"

नेपालमा बुधवारसम्ममा कुल जनसङ्ख्याको ३७.८ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

पर्याप्त खोप वितरण हुन नसक्नुलाई एउटा ठूलो चुनौतीका रूपमा प्रस्तुत गर्दै डा. पुनले भने, "खोप नलगाउने व्यक्तिहरूको सङ्ख्या अझै पनि धेरै नै छ। ती व्यक्तिहरू सङ्क्रमित भए भने चाहिँ समस्याहरू आउँछन् र अस्पतालहरूमा चाप पर्छ कि जस्तो मलाई लाग्छ।"

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकामा . नेपालमा कोभिड-१९. पौष २८ गते बुधवार अपराह्णसम्मको तथ्याङ्क.

अस्पतालमा कस्ता बिरामी जान्छन्

डा. पुनका अनुसार यो एक सातामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको बहिरङ्ग विभागमा कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरू आउने क्रम बढेको छ।

उनका अनुसार घाँटी र जीउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी र ज्वरो सहितका लक्षण लिएर मानिसहरू अस्पताल आइरहेका छन्।

"समानान्तर रूपमा फ्लूसँग पनि लक्षण मिल्दोजुल्दो भएकाले हामी फ्लू र कोरोनाभाइरस दुवै परीक्षण गर्छौँ। तर लगभगलगभग सबैको फ्लू नदेखिने तर कोभिड पोजिटिभ हुने भइरहेको छ।"

"तर एकदमै ठूलो समस्या आएर उनीहरू त्यसरी जाँच गराउन आएको म देख्दिनँ। सामान्य लक्षण भए पनि अलि सावधान भएर उनीहरू जँचाउन आएका हुन्," उनले भने।

कोभिड खोप

तस्बिर स्रोत, EPA

राजधानीस्थित ह्याम्स अस्पतालमा पनि कोरोनाभाइरसको परीक्षण गराउन आउने क्रम बढ्न थालेको तर गम्भीर अवस्थाका बिरामीहरूको सङ्ख्यामा ठूलो नभएको जनाएको छ।

अस्पतालकी नर्सिङ शाखाकी प्रमुख वरुणा पौडेल भन्छिन्, "पहिला एउटा शय्याका लागि पनि बुकिङ गर्नुपर्ने अवस्था थियो। आईसीयू पनि भरिभराउ हुन्थ्यो, बेड खाली हुँदैनथ्यो। अहिले त्यस्तो छैन।'

"हाम्रोमा कोभिडका लागि १९ वटा आईसीयू बेड छन्। अहिले जम्मा एक दुई जना मात्रै कोभिडका बिरामी हुनुहुन्छ।'

दैनिक सङ्क्रमण वृद्धि तीव्र भएसँगै अस्पतालहरूमा चाप बढ्न सक्ने विषयमा अघिल्लो साता प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको निर्देशक समितिको बैठकमा छलफल भएको थियो।

कोरोनाभाइरस नियन्त्रणका लागि औषधि र औषधिजन्य सामग्रीहरू छिटो र छरितो ढङ्गले खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गर्ने सहितका निर्णय उक्त संयन्त्रले गरेको थियो।

राजधानीको भिडभाड

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, राजधानीमा भिडभाड घटेको छैन

अहिले कोभिडलाई लक्षित गर्दै देशभरिका अस्पतालमा ८,००० वटाभन्दा बढी आइशोलेसन बेड, ३८ सय वटाभन्दा एचडीयू बेड र एक हजार वटाभन्दा बढी भेन्टिलेटरको प्रबन्ध गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

झन्डै १४ हजार वटा अक्सिजन सिलिन्डर पनि उपलब्ध रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनाइएको छ।