कोभिड नेपाल: विद्यालय बन्द गर्न र स्मार्ट लकडाउन लगाउन सीसीएमसीसीको सिफारिस

काठमाण्डू

तस्बिर स्रोत, EPA

कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले विद्यालयहरू बन्द गर्नेसहित सरकारलाई चार सिफारिस गरेको छ।

केन्द्रले सार्वजनिक सेवा तथा हवाईयात्राका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गर्न समेत सरकारलाई सिफारिस गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

केन्द्रका सिफारिसहरू सरकारका सम्बन्धित मन्त्रालयको निर्णयपछि मात्रै कार्यान्वयनमा आउने व्यवस्था छ।

अत्यधिक सङ्क्रामक भनिएको ओमिक्रोन भेरिअन्टका कारण विश्वभरि कोभिड बढिरहेको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको तथ्याङ्कले देखाएको छ। आइतवार अपराह्ण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विगत २४ घण्टामा १,१६७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा एक साता अघिसम्म २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर तीनगुनाले बढेर आइतवार ९.१ प्रतिशत पुगेको छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. नेपालमा कोभिड. पौष १२ गतेदेखि दैनिक पुष्टि भएको सङ्क्रमितको सङ्ख्या.

आइतवार बसेको केन्द्रको बैठकले सङ्क्रमण नियन्त्रणका लागि गरेका चारवटा सिफारिसहरू यस्ता छन्।

१. विद्यालय बन्द

केन्द्रले आगामी माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ।

"१८ वर्षमुनिका बालबालिकालाई खोप लगाइसक्न नभ्याउँदै सङ्क्रमण बढेको अवस्थालाई ध्यानमा राख्दै जाडो बिदालाई लम्ब्याएर माघ १५ सम्मलाई बिदा दिन सिफारिस गरेका छौँ," केन्द्रकी प्रवक्ता नेपालले भनिन्।

"सम्बन्धित मन्त्रालयले कार्यान्वयनमा ल्याउने भन्ने कुरा भएको छ।"

सिन्धुपाल्चोकमा स्वास्थ्य मापदण्ड पूरा नगरी गरिएको एउटा कार्यक्रममा सहभागीहरू

तस्बिर स्रोत, Rss

तस्बिरको क्याप्शन, सिन्धुपाल्चोकमा स्वास्थ्य मापदण्ड पूरा नगरी गरिएको एउटा कार्यक्रममा सहभागीहरू

२. स्मार्ट लकडाउन

केन्द्रले स्मार्ट लकडाउनलाई पुन: प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

बढी सङ्क्रमण भएका जिल्लाहरूमा जोखिमका आधारमा विभिन्न सेवाहरू बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको उनले जानकारी दिइन्।

यसअघि गृह मन्त्रालयले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्याका आधारमा सार्वजनिक यातायात बन्द गर्नुका साथै पसलहरू खोल्ने अवधि तय गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएको थियो।

"जिल्लाको जोखिम हेरेर सुरक्षाका उपायहरू अपनाउनका लागि केही क्षेत्रहरू निषेधित गर्नुपर्ने भए त्यसको व्यवस्थापन गर्न गृह मन्त्रालयमार्फत् पठाउने भन्ने सिफारिस गरेका छौँ," सीसीएमसीसीकी प्रवक्ता नेपालले भनिन्।

लकडाउन

तस्बिर स्रोत, RSS

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि ६,७०० जनाभन्दा बढी सङ्क्रमित संस्थागत र होम आइसोलेशनमा छन्।

तीमध्ये उपत्यकाका तीन जिल्लामा करिब तीन हजार जनामा सक्रिय सङ्क्रमण रहेको छ।

३. भेला र मेलामा रोक

केन्द्रले राजनीतिक भेलाहरू नगर्न आह्वान गर्दै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

"सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला महोत्सव नगर्नलाई भनेर गृह मन्त्रालयमार्फत् स्थानीय प्रशासनलाई लेखिपठाउन सिफारिस गरेका छौँ," उनले भनिन्।

४. खोप कार्ड अनिवार्य

माघ ३ गतेबाट लागु हुनेगरी विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गर्न पनि सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको छ।

त्यसबारे प्रवक्ता नेपालले भनिन् "जस्तै कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, हवाईयात्रा र र पार्कहरूमा जाँदा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा पाउने अनिवार्य व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गरेका छौँ।"

कोभिड बढ्दो छ

स्वास्थ्य मन्त्रालयको अहिलेसम्मको तथ्याङ्कअनुसार नेपालमा कोभिड भएर निको हुने दर ९७.८ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ।

गत साता नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएपछि उक्त भेरिअन्ट फैलिने वा फैलिसकेको हुन सक्ने स्वास्थविज्ञहरूको आशङ्का छ।

तर पनि डेल्टा भेरिअन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या उच्च रहेको विज्ञहरू बताउँछन्।