स्मार्ट लाइसेन्स: दैनिक 'सात देखि १० हजार छापिँदै', सेवाग्राहीको हातमा पुग्न अझै कति समय लाग्ला

स्मार्ट लाइसेन्स।

झन्डै नौ महिनालेखि अभावका कारण वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको अधिकारीहरूले बताएका छन्।

यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम अघि बढाइएको जनाएको छ।

त्यसका लागि १८ घण्टासम्म छपाइको काम हुने गरी गरी दैनिक सातदेखि दश हजार लाइसेन्स छाप्ने प्रबन्ध मिलाइएको छ।

कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमति पत्रको आवेदन बन्द गरिएको थियो।

महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ हुन सकेको छैन।

अहिलेको अवस्था कस्तो छ?

सवारी चालक अनुमतिपत्रका लागि परीक्षा उत्तीर्ण गरेर बसेका चार लाख ५० हजारभन्दा बढी चालक परीक्षा उत्तीर्ण गरेपछि दस्तुर तिरेको रसिद वा एक वर्षसम्म कायम रहने परीक्षणकालीन लाइसेन्सका भरमा सवारी चलाउन बाध्य छन्।

लाइसेन्स छपाउनका लागि आवश्यक पर्ने कार्ड सकिएको भन्दै अत्यावश्यक प्रयोजनका लागि आवेदन दिएका बाहेकलाई लाइसेन्स वितरण बन्द गरेको विभागले कार्ड खरिदमै झन्डै एक वर्ष लगायो।

पछिल्लो समय १४ लाख कार्ड प्राप्त गरी त्यसको प्राविधिक परीक्षण सकिएसँगै विभागले कार्ड छपाइको कार्यलाई तीव्रता दिएको छ।

यातायात व्यवस्था विभाग।

''अहिले हाम्रो कार्यालयमा एउटा मास प्रिन्टर छ। त्यसलाई सम्भव भएसम्म तीन वा दुई सिफ्ट चलाएर दिनमा सात देखि १० हजारसम्मको सङ्ख्यामा कार्ड प्रकाशन गर्ने गरी टोली बनाएका छौँ,'' विभागका महानिर्देशक नमराज घिमिरेले भने।

''हाम्रो योजना अनुसार नियमित छाप्न पायौँ भने डेढ महिना जतिमा बाँकी रहेका चार लाख ५० हजार कार्ड प्रकाशन गरेर सम्बन्धित यातायात कार्यालयमार्फत्‌ सेवाग्राहीलाई पठाउँछौँ।''

लाइसेन्स हात पर्न कति समय लाग्छ?

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार करिब सात लाख लाइसेन्स छपाइको काम तत्काल अघि बढाउनुपर्ने अवस्था रहेको अनुमान गरिएको छ।

त्यसबाहेक नयाँ आवेदन अनि परीक्षा उत्तीर्ण गरेकाहरूको सङ्ख्या पनि बढ्दो क्रममा छ।

सवारी साधन चालकको प्रयोगात्मक परीक्षा

तस्बिर स्रोत, VEHICLE ACADEMY AND RESEARCH CENTRE

तस्बिरको क्याप्शन, सवारी साधन चालकको प्रयोगात्मक परीक्षा

''हिजोबाट सुरु भएको लाइसेन्स छपाइको कार्य'' सम्पन्न भएपछि देशभरिका २१ वटा यातायात कार्यालयमा पठाइनेछ र त्यहाँबाट सेवाग्राहीको हातमा पुग्नेछ।

''सेवाग्राहीले पाउँदासम्म चार देखि छ महिनाभित्रमा सबै ब्याक लग (विगतमा आवेदन प्राप्त भइसकेका तर छपाइ भइनसकेको लाइसेन्स) क्लियर हुन्छ,'' भुसालले भने।

देशैभरिका आवेदकको कार्ड काठमाण्डूमै छापिने भएकाले कार्यालय अनुसार त्यहाँ आवेदन परेका सबै कार्ड छापिएको वा ठूलो सङ्ख्यामा छापिए पछि मात्रै पठाइने हुँदा कार्ड छपाइ सुरु भइसकेको भए पनि सेवाग्राहीको हातमा पुग्न भने समय लाग्ने बताइएको छ।

तर यसबीचमा प्राविधिक समस्या आए लाइसेन्सको पर्खाइ थप लम्बिन सक्छ।

सरकारले हुलाक सेवामार्फत्‌ सेवाग्राहीले चाहेको स्थानमै लाइसेन्स कार्ड पुर्‍याउने छलफल अघि बढाएको भए पनि त्यस विषयमा ठोस निर्णय भई नसकेको विभागको भनाइ छ।

परीक्षणकालीन लाइसेन्सले दिएको राहत

पछिल्ला दिनमा सवारी चालक अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएकाहरूलाई एक वर्ष समयावधि भएको फरक खालको परीक्षणकालीन लाइसेन्स दिने गरिएको छ।

जसका कारण हाल खरिद गरिएको कार्डले स्मार्ट लाइसेन्सका लागी अझै केही समय थेग्ने विश्वास विभागका अधिकारीहरूको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘राजाकी डाइभर्नी’

सीमित बजेटमा थोरै सङ्ख्यामा कार्डका लागि बोलपत्र आह्वान गर्नु र एकै पटक धेरै सङ्ख्यामा छाप्ने मेशिन नल्याउनुले परीक्षा उत्तीर्ण गरेकाहरूले समयमै लाइसेन्स पाउन नसकेको यातायात व्यवस्था विभागका एकजना पूर्वमहानिर्देशकको भनाइ छ।

''बजेटको व्यवस्थापन पनि हुनुपर्‍यो। ल्याउँदाखेरी एकै पटक ठूलो परिमाणमा ग्लोबल टेन्डर गरेर … प्रिन्टर पनि त्यही क्षमताको चाहियो। प्रिन्ट गर्ने कार्ड पनि त्यही अनुसारको ल्याउनुपर्‍यो। त्यही नै हो त्यसको उपाय भनेको। त्यो नगरीकन सल्भ (समाधान) हुँदैन,'' पूर्वसचिव तथा विभागका पूर्वमहानिर्देशक रहिसकेका चन्द्रमान श्रेष्ठले भने।

चौध लाख कार्ड छापिएपछि के हुन्छ?

लाइसेन्स छपाइमा देखिएको समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागकाबीच नीतिगत परिवर्तनका विषयमा पछिल्लो समय छलफल भइरहेको छ।

एउटै बोलपत्रबाट एकै पटक एक करोडभन्दा बढी कार्ड खरिद गर्ने वा छपाइ देखी कार्ड खरिद अनि वितरणसम्मको सबै कार्यको जिम्मा एउटै कम्पनीलाई दिने दुई फरक विकल्पमा छलफल भइरहेको अधिकारीहरूले जनाएका छन्।

तर लाइसेन्समा प्रयोग हुने व्यक्तिगत विवरणहरूको सुरक्षालाई सुनिश्चित गर्नुपर्ने भएकाले निर्णयमा पुग्न ढिलाइ भइरहेको उनीहरूको भनाइ छ।

स्मार्ट लाइसेन्स

भुसालका अनुसार सरकारले कार्ड खरिद गर्नका लागि चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेको छ।

तर कसरी, कुन प्रक्रियाबाट खरिद गर्ने वा कस्तो खाले कार्ड ल्याउने विषयमा भने ठोस निर्णय भई नसकेको उनले जानकारी दिए।

''पछिल्लो चरणमा नेपालकै कम्पनीहरूले पनि यस्तो किसिमको कार्ड हामीले दिन सक्छौँ भन्ने कुरा आएको छ,'' भुसालले भने।