नेपाली कांग्रेस: केन्द्रीय समितिमा देउवाकै वर्चस्व, उनी कति शक्तिशाली छन्?

शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा केन्द्रीय समितिका सबै पदको नतिजा आइसक्दा सभापति शेरबहादुर देउवा झन् बलियो देखिएको विश्लेषण भइरहेको छ।

समूहगत उम्मेदवारी परेको सत्तारूढ दलको आन्तरिक प्रतिस्पर्धामा दुई तिहाइभन्दा बढी पदहरूमा संस्थापन पक्षले जित हासिल गरेको बताइएको छ।

देउवाले केन्द्रीय सदस्यमा अझै ३३ जना मनोनीत गर्न सक्ने कांग्रेसको विधानले व्यवस्था गरेकाले त्यो भइसक्दा सङ्ख्याका हिसाबले पार्टीमा देउवाको पकड अझ बलियो हुने देखिन्छ।

कोषाध्यक्ष पदमा केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।

सभापति निकट नेता रमेश लेखकले बीबीसीसँग निर्वाचन परिणाम देउवालाई 'नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने मतको अभिव्यक्ति' भएको बताएका छन्।

पदाधिकारीमा समेत देउवा बहुमतमा रहे तापनि कोषाध्यक्षबाहेकका १३ पदमध्ये महत्त्वपूर्ण मानिने दुई महामन्त्रीसहित पाँच जना उनीबाहेकका समूहका छन्।

तर कांग्रेस केन्द्रीय समिति सदस्यमा पराजित नेता शङ्कर तिवारीले १४औँ अधिवेशनपछि पार्टीलाई 'सङ्ख्याले नभई मुद्दाले अघि बढाउने' ठान्छन्।

देउवा कति शक्तिशाली?

सङ्ख्याका हिसाबले मनोनयन गरिने बाँकी सबै पद अर्को पक्षलाई दिँदा समेत देउवाको पकड बलियो रहने देखिएको तिवारी ठान्छन्।

"राजनीति एजेन्डाले अगाडि बढाउने कुरा हो, सङ्ख्या प्राविधिक कुरा मात्र हो," देउवाको शक्ति आकलन गर्ने प्रश्नमा नेता शङ्कर तिवारीले बीबीसीसँग भने।

"त्यसमाथि देउवाको प्रचण्ड बहुमत उहाँ मात्रैको कारणले भन्दा पनि उहाँ इतरको समूहमा देखिएको विभाजनको कारण हो। उहाँ स्वयं दोस्रो चरणको प्रतिस्पर्धामा गएर निर्वाचित हुनुभएको हो।"

पदाधिकारीमा देउवालाई चुनौती दिएका नेताहरू निर्वाचित हुनुलाई उनी निकट नेता रमेश लेखकले 'राम्रो सन्देश दिएको' ठान्छन्।

विश्वप्रकाश शर्मा र गगन थापा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, विश्वप्रकाश शर्मा र गगन थापा देउवाका विपक्षी प्यानलबाट महामन्त्री जितेका हुन्

"यसले कार्यकर्ता, जनताकाबीचमा लोकप्रिय मानिस कांग्रेसमा नेता बन्न सक्छ भन्ने देखाएको छ," नेता लेखकले भने।

केन्द्रीय समितिमा देउवा दुई-तिहाइले बलियो अवस्थामा रहे पनि त्यसलाई उनले 'सबैलाई समेट्ने अवसरको रूपमा लिनुपर्ने' लेखक बताउँछन्।

"पार्टीमा वहाँलाई कुनै समस्या हुने देख्दिनँ, कांग्रेसलाई एकताबद्ध पार्ने गरी लैजानुपर्छ, अन्यथा असन्तुलन हुने खतरा रहन्छ।"

पदाधिकारीमा आएका नयाँ अनुहारहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डे, जीवन परियारजस्ता नेताहरू 'विगत कयौँ वर्ष विचारका भरमा अगाडि बढेका नेताहरू' भएकाले उनीहरूको शक्ति 'एजेन्डामा हेर्नुपर्ने' शङ्कर तिवारीको मत छ।

झण्डै ४० प्रतिशत मत ल्याएका सभापतिमा पराजित शेखर कोइरालाले पार्टीभित्र गुटबन्दी र भागबन्डामा नलाग्ने बताएका छन्।

जसका कारण समेत देउवालाई भागबन्डाले व्यवस्थापन गर्ने सुविधा नरहेको बताइन्छ।

देउवाका चुनौती

नेपाली कांग्रेसमा धेरैजसो एजेन्डा उनीबाहेकका समूहबाट जितेका महामन्त्रीहरूले तय गर्ने भए तापनि त्यसलाई अगाडि बढाउने र पारित गर्ने हकमा देउवाको शक्ति निर्णायक हुने देखिन्छ।

महामन्त्रीहरूले कसरी कांग्रेसमा एजेन्डाहरू उठाउनेछन् भन्ने विषयले समेत देउवाको परीक्षण हुने जानकारहरू बताउँछन्।

ईकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापाका विचारमा देउवा अर्को पटक सभापतिमा उठ्न नपाउने भएकाले त्यस बेलासम्म नेतृत्वमा उदाउन सक्नेतर्फ नेताहरू ढल्किने ठान्छन्।

"निरन्तर शक्तिमा रहने म देख्दिनँ, तर अहिलेको अवस्थामा उनी शक्तिशाली नै छन्," कांग्रेसमा विगतदेखि नै गुटहरू अन्तिम समयमा भत्कने देखिएको बताउँदै थापाले भने।

"उहाँले अहिलेबाट नै सहज रूपले नेतृत्व हस्तान्तरण गर्ने र नयाँ नेतृत्व विकास गर्नेतर्फ लाइन लिनुभयो भने मात्र अर्को अधिवेशनमा उहाँले चाहेको मानिस ल्याउन सकिएला।"

अडिओ क्याप्शन सुरु हुँदैछ, शेखर कोइराला भन्छन्, 'म हारेर पनि जितेँ, देउवालाई साढे चार वर्षभन्दा एक दिन पनि चलाउन दिन्नौँ'

देउवा पछिल्लो कार्यकालमा भातृ सङ्गठन र विभागहरूलाई पूर्णता दिन विफल भएको भन्नेदेखि विधान कार्यान्वयनका थुप्रै विषयमा आलोचित बनेका थिए।

"ती विषय यस पटक महाधिवेशनमा उठेन वा उठाइएन। नत्र केही माहौल यस पटक नै अर्कै बन्न सक्थ्यो।"

समावेशी समिति, तर खस-आर्य वर्चस्व

पहिलो पटक संविधानको समावेशी मर्म अनुसार महाधिवेशन गरेको कांग्रेसको पदाधिकारीमा खुलातर्फ उपसभापति धनराज गुरुङबाहेक मुख्य पदमा खस आर्य समुदायको बाहुल्यता देखिन्छ।

देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक बाँकी जना ११ पहिलो पटक पदाधिकारीमा चयन भएका हुन्।

खुलातर्फका ३५ केन्द्रीय सदस्यमा महिलाको प्रतिनिधित्व हुन सकेको छैन।

बाँकी क्लस्टरमा समेत महिलाहरू आरक्षित पदमा मात्र विजयी बनेका छन्।