ओमिक्रोन: के यात्रा गर्न प्रतिबन्ध लगाउँदा कोभिड र कोरोना भाइरसको नयाँ भेरिअन्ट रोक्न सकिन्छ?

हनेडा विमानस्थल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोभिडका कारण यात्रा प्रतिबन्ध लगाइँदा जापानको टोक्यो विमानस्थल
    • Author, रीयालिटी चेक टीम
    • Role, बीबीसी न्यूज

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि विभिन्न देशले दक्षिण अफ्रिका आवतजावत गर्न रोक लगाएका छन्।

दक्षिण अफ्रिकाका राष्ट्रपतिले आफ्नो देशमाथि लगाइएको यात्रासम्बन्धी प्रतिबन्धको आलोचना गरेका छन्। उनले त्यसरी यात्रामा प्रतिबन्ध लगाइनुको औचित्यमाथि प्रश्न गरेका छन्।

"यात्रामाथिको प्रतिबन्ध विज्ञानका आधारमा लगाइएको होइन, न त यो भेरिअन्टको विस्तार रोक्न त्यसो गर्नु प्रभावकारी हुन्छ," सिरिल रामापोसाले भनेका छन्।

त्यसो भए विज्ञानले के भन्छ त?

दक्षिण अफ्रिकाका राष्टरपति सिरिल रामापोसा

तस्बिर स्रोत, Getty Images

विश्व स्वास्थ्य सङ्गठनको भनाइ के छ?

ओमिक्रोन उत्पत्ति भएको पुष्टि भएपछि विश्व स्वासथ्य सङ्गठन (डब्ल्यूएचओ) ले जारी गरेको सुझावमा उसले पूरै यात्रा प्रतिबन्ध लगाउँदैमा उक्त भेरिअन्ट फैलिन नरोकिने जनाएको थियो।

यात्रा प्रतिबन्धले मानिसहरूको जीवन र जीवयापनलाई कष्टकर बनाउनको उसको धारणा छ।

सन् २०२० मा कोरोनाभाइरस महामारी सुरु हुँदा डब्ल्यूएचओले यात्रा प्रतिबन्ध उपयुक्त र प्रभावकारी नहुने बरु त्यसले आर्थिक र सामाजिक रूपमा नराम्रो प्रभाव पार्ने जनाएको थियो।

"अन्तर्राष्ट्रिय ट्राफिकलाई उल्लेख्य रूपमा हस्तक्षेप गर्ने यात्रासम्बन्धी उपाय प्रकोपको सुरुमा औचित्यपूर्ण हुन्छ किनभने त्यसले देशहरूलाई नियन्त्रणका लागि समय दिन सक्छ," उसले त्यतिबेला भनेको थियो।

जोहानेसबर्गस्थित विमानस्थल

तस्बिर स्रोत, Reuters

विश्व स्वास्थ्य सङ्गठनको उक्त भनाइको अमेरिकी तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गरेका थिए। चीन र युरोपबाट हुने उडानहरू रोक्न उनको निर्णय विफल भएको थियो।

सङ्गठनको सुझाव सिङ्गापुर, ताइवानजस्ता एशियाली देशहरूले बेवास्ता गरेर चीनमाथि सुरुमै यात्रा प्रतिबन्ध लगाएका थिए। पछि विश्वका अन्य देशले पनि समान कदम चाले।

त्यसयता सङ्गठनले निर्देशिकाहरू अद्यावधिक गरेको छ र अहिले "जोखिमको आधारमा" यात्रा प्रतिबन्ध लगाउन भनेको छ।

डब्ल्यूएचओले खोपका कारण वा सङ्क्रमण भइसकेका कारण मानिसमा बढिरहेको रोग प्रतिरोध क्षमताबारे हेक्का राखिनुपर्ने बताएको छ। अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध लगाउँदा भेरिअन्टको फैलावट र परीक्षण तथा क्वारन्टीनजस्ता उपायहरूको प्रभावकारिता ख्याल गर्नुपर्ने उसको मान्यता छ।

यद्यपि उसका अनुसार भाइरसको भेरिअन्टले खतरा निम्त्याउन सक्छ भनेर चिन्तित देशहरूले सतर्कतासम्बन्धी दृष्टिकोण अवलम्बन गर्नुपर्ने र यात्रा प्रतिबन्ध पनि सीमित समयावधिका लागि थप कठोर प्रतिबन्ध लगाउनुपर्नेछ।

उसले यी उपायहरू "समानुपातिक" हुनुपर्ने जनाएको छ।

कोभिड

वैज्ञानिक प्रमाण के छ?

गत वर्ष महामारीको प्रारम्भिक चरणपछि गरिएको अध्ययनले सुरुका चरणमा लगाइएका यात्रा प्रतिबन्धको भाइरसलाई केही मत्थर पार्न प्रारम्भिक रूपमा असर रहने जनाएको थियो।

सन् २०२० को डिसेम्बरमा नेचर जर्नलमा प्रकाशित अनुसन्धानले एकदमै सुरुमा त्यसले काम गरे पनि ढिला यात्रा प्रतिबन्ध लगाउँदा कम प्रभावकारी हुने जनाएको थियो।

गत अक्टोबरमा जर्मनीस्थित डब्ल्यूजेडबी बर्लिन सोशल साइन्स सेन्टरले गरेको अध्ययनले १८० भन्दा बढी देशमा यात्रा प्रतिबन्ध र मृत्युदरबारे गरेको अध्ययनले पनि समान खालका निष्कर्ष निकालेको थियो।

प्रभावकारिताबारे उसको अध्ययनले यस्ता निष्कर्ष निकालेको थियो:

  • १० वा त्योभन्दा बढी जनाको मृत्यु पुष्टि हुनुअघि देशहरूले लगाएको यात्रा प्रतिबन्धको प्रभाव धेरै रह्यो
  • प्रवेशमाथिको प्रतिबन्धभन्दा यात्रुहरू अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम थप प्रभावकारी रह्यो (परिणामस्वरुप केही नागरिकहरू स्वेदश फर्किनुपरेको थियो)
  • सबै विदेशी यात्रुमाथि सोलोडोलो प्रतिबन्ध लगाउनुभन्दा खास देशहरूलाई लक्षित गरी प्रतिबन्ध लगाउँदा त्यसको प्रभाव बढी रह्यो

यूकेमा महामारीको सुरुमा गरिएको अध्ययनका अनुसार थोरै यात्रा प्रतिबन्ध लगाएको बेला हजार जनाभन्दा बढी कोभिडका बिरामी देखिइसकेका थिए। उनीहरू प्रायः युरोपेली देशबाट आएका थिए।

अहिलेसम्म ओमिक्रोन भेरिअन्ट कम्तीमा एक दर्जन देशमा पुष्टि भइसकको छ र अरू देशमा पनि क्रमशः फैलिरहेको छ।

लन्डनस्थित क्वीन्स मेरी विश्वविद्यालयकी सङ्क्रामक रोगविज्ञ डा. दीप्ति गुर्डासनीले बीबीसी न्यूजसँग कुरा गर्दै यात्रा प्रतिबन्धले सङ्क्रमणलाई सुस्त बनाए पनि कोरोनाभाइरस विश्वमा यसअघि नै धेरै भागमा फैलिसकेको स्पष्ट भएको छ।

"यात्रा प्रतिबन्ध लगाउनुभन्दा परीक्षण र आइसोलेशनको राम्रो नीति हुनुपर्छ जसले फैलिने क्रमलाई सुस्त बनाउँछ," उनले भनिन्।

नेदरल्याण्डस्‌स्थित विमानस्थल

तस्बिर स्रोत, Getty Images

महामारीको प्रारम्भिक चरणसँग तुलना गर्दा अहिलेको मुख्य भिन्नता भनेको अहिले विश्वभरि नै खोप दिइँदैछ।

यद्यपि,खोप लगाउने गति भने देशअनुसार फरक छ। अनि ओमिक्रोन भेरिअन्टका लागि खोप कति प्रभावकारी छ भन्ने पनि स्पष्ट भइसकेको छैन।

पर्यटनमा धेरै भर पर्ने देशहरूले यात्रा प्रतिबन्धले अर्थतन्त्रमा पार्ने असर पनि तौलिनुपरेको छ।

कडा यात्रा प्रतिबन्ध कहाँ लागेको छ?

अस्ट्रेलियाले १८ महिना प्रतिबन्ध लगाएर नोभेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय सीमाहरू पुन: खोलेको थियो। यो बीचमा विशेष अनुमति हुने आफ्ना नागरिकले मात्रै देश भित्रिन र बाहिरिन पाएका थिए।

तर अहिले फेरि उसले विदेशी विद्यार्थी र दक्ष मजदुरहरूलाई अनुमति दिने योजनाहरू यथावत् राखेको छ।

हनोइ विमानस्थल

तस्बिर स्रोत, Reuters

न्यूजील्यान्डले गत वर्षयता नै आफ्नो सीमा बन्द गरेको छ।

यद्यपि सककारले आफ्ना नगरिकहरू र भिसा भएका विदेशीलाई अस्ट्रेलियाबाट नयाँ वर्षबाट र खोप लगाएका मानिसलाई एप्रिलबाट आउन दिने बताएको थियो।

भियतनाममा पनि लामो यात्रा प्रतिबन्ध लगाएर यसै महिनादेखि सीमाहरू खोल्न थालिएको हो।

यो वर्षको जुलाईसम्म यी देशमा तुलनात्मक रूपमा कम सङ्क्रमितहरू फेला परेका थिए।

त्यतिबेला भारतमा पहिलोपटक पहिचान गरिएको डेल्टा भेरिअन्ट फैलिन थालेको थियो।

तर कम्तीमा सुरुको चरणमा सङ्क्रमण कम राख्नका लागि लकडाउन, व्यापक परीक्षण र सुरक्षा मापदण्डहरू पनि यात्रा प्रतिबन्ध जतिकै महत्त्वपूर्ण हुनसक्थ्यो।

कोरोनाभाइरस
Presentational grey line
Reality Check branding