जनगणना नेपालः भारतीय बाटो प्रयोग गर्ने अनुमति नपाउँदा दार्चुलाका दुई दुर्गम गाउँमा गणना गर्न कठिनाइ

व्यास गाउँपालिका वडा नं १

तस्बिर स्रोत, Ashok Singh Bohara

तस्बिरको क्याप्शन, हिउँदमा छाङ्ग्रु र तिन्करका मानिस जाडो छल्न अन्यत्र जान्छन्
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्ग्रु र तिन्कर गाउँ करिब १२ किलोमिटर दूरीमा छन्। क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा। हिउँद लागेपछि ती दुवै गाउँमा बस्न नसकिने हुन्छ।

प्रत्येक वर्ष तिहार मनाइसकेर त्यहाँका गाउँलेहरू ओरालो लाग्छन्। बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा पुग्छन्। छ महिना जाडो छलेर मध्य वैशाखमा पुनः गाउँ फर्किन्छन्।

यस वर्ष भने छाङ्ग्रु र तिन्करका बासिन्दाले अझै सदरमुकामतिरको यात्रा थालेका छैनन्। किनकि वडाअध्यक्ष अशोक सिंह बोहराले भनेका छन्ः "जनगणनाका लागि मान्छे आउँछन्। त्यो सकेर मात्र झर्नू।"

तर यस दुर्गम ठाउँमा सडकको पहुँच नभएकै कारण गणकहरू पुग्न सकेका छैनन्। आफ्नै देशको एउटा कुनाबाट अर्कोमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण जनगणनाजस्तो महत्त्वपूर्ण कार्य प्रभावित भएको अधिकारीहरू बताउँछन्।

"पैदल हिँड्ने गोरेटो पनि ध्वस्त भएको छ। भारतको बाटो हिँड्नुको विकल्प छैन। गणकहरूले त्यहीँ बाटो हिँड्ने अनुमति पाएका छैनन् रे। कहिले आउँछन् टुङ्गो छैन। धेरै ढिला भयो भने गाउँलेहरू सपरिवार बसाइँ सर्न थाल्छन्," व्यास गाउँपालिका १ का वडाअध्यक्ष अशोक सिंह बोहराले भने।

स्थानीयवासी नरेन्द्र तिन्करी जनगणनालगत्तै गाईबस्तु लिएर खलङ्गा जाने बताउँछन्।

"चिसो निकै बढिसक्यो। छाङ्ग्रुमा त मङ्सिरको मध्यसम्म बस्न सकिन्छ तर यहाँ सकिँदैन। त्यसैले चाँडोभन्दा चाँडो काम सकिदिए हुन्थ्यो," उनले भने।

भारतको बाटोको भर

सदरमुकामबाट जिल्लाका विभिन्न गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ। सरकारी कामका लागि भारतीय पक्षसँग अनुमति माग्ने गरेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन्।

अनुमति स्वीकृत भएको खण्डमा तोकिएको सङ्ख्याअनुरूप मानिसलाई प्रवेश पत्र दिइन्छ।

जोशीका अनुसार जनगणनाका लागि गत कार्तिक २५ गते एकजना गणक पठाउनेगरी पिथौरागढ जिल्ला अधिकारीसँग अनुमति मागिएको थियो।

दार्चुलाको बाटो

तस्बिर स्रोत, Ashok Singh Bohara

"एक साता बित्दा पनि उताबाट जबाफ आएन। हामीले पुनः मङ्सिर एक गते दुईजना कर्मचारीका लागि पास माग्यौँ। जबाफ त आयो तर अनुमति पाएनौँ," जोशीले बीबीसीसँग भनिन्,"जुन बाटो हुँदै छाङ्ग्रु पुगिन्छ त्यो बाटो बिग्रिएको जानकारी पायौँ।"

भारतले सडक अवरुद्ध भएको जनाउँदै तत्काल अनुमति दिन नसक्ने बताएको हो। दुई महिनाअघि भएको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि भने सुपरिवेक्षकहरू सोही बाटो हुँदै छाङ्ग्रु र तिन्कर पुगेका थिए।

सूचीका अनुसार दुई गाउँमा गरी ११५ र एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घर छन्।

"मर्मतसम्भारपछि खबर गर्छौँ भनिएको छ। यस विषयमा हामीले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छौँ। चाँडै समस्याको समाधान होला। जनगणना त प्रभावित हुन दिनुभएन," उनले भनिन्।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलले केही दिनमा सडक मर्मत भई अनुमतिपत्र पठाउन सकिने बताए। त्यसो नभएको खण्डमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला जनगणना समन्वयन समितिसँग सहजीकरण गरी जनगणनाका लागि विकल्प खोज्ने जानकारी उनले दिए।

"बाटो नै अवरुद्ध छ भनेपछि समस्या भएरै रोकिएको होला। मर्मतसम्भारपछि स्थिति सहज बन्छ वा गणनाको लागि विकल्प खोजिन्छ," उनले भने।

के हुन सक्छ विकल्प?

जिल्लाका सहायक जनगणना अधिकृत खगेन्द्र कार्कीका अनुसार छाङ्ग्रु र तिन्करसम्म कर्मचारीलाई पैदल पठाउनु असम्भव छ।

"हिँडेर त्यहाँ पुग्न करिब छ दिन लाग्छ। तर हिँड्ने बाटो पनि जोखिमपूर्ण छ।"

भारतले बाटो प्रयोग गर्न दिए खलङ्गास्थित महाकाली पुल तरेर भारतको धार्चुला पुग्न सकिन्छ। धार्चुलाबाट सवारी साधनमार्फत् व्यास गाउँपालिका जोड्ने पुलसम्म पुगिन्छ।

"तर उनीहरूको भूमि हामीले चाहँदा प्रयोग गर्न पाउँदैनौँ। प्रक्रियागत ढङ्गमा अगाडि बढ्दा जनगणनाको लागि तोकिएको समय नै सकिएला भन्ने डर," कार्कीले चिन्ता व्यक्त गरे।

कालापानी क्षेत्र‍।
तस्बिरको क्याप्शन, कालापानीमा भारतले सैन्य शिविर राखेको छ

जिल्लाको जनगणना अधिकृतको कार्यालयले 'हेलिकप्टरमार्फत् गणकलाई पुर्‍याउने र ल्याउने सकिन्छ' भन्ने सुझावसहित केन्द्रीय तथ्याङ्क विभागलाई पत्राचार गरेको उनले बताए।

"दशकमा एक पटक आउने गणनामा देशका जनता छुट्नु त भएन। त्यसैले विकल्प सुझाएका छौँ," उनले भने।

विभागका उपनिर्देशक हेमराज रेग्मीले पनि आवश्यक परेको खण्डमा हेलिकप्टरमार्फत् भए पनि गणक पठाउने बताए।

"खर्चिलो त हुन्छ तर तथ्याङ्क सङ्कलन त्योभन्दा महत्त्वपूर्ण हो। केही दिन कुरौँ। निकै ढिला भएको अवस्थामा गणक थप्नेदेखि उनीहरूलाई उचित सुरक्षासहित पठाउने काम गर्छौँ।"

सुरक्षाका दृष्टिकोणले संवेदनशील भएकाले भारतले उक्त क्षेत्र प्रयोग अनुमति नदिएको उनको कथन छ।

जनगणना प्रभावित भएको गाउँहरू सानो र सीमित परिवारको बसोबास भएकाले गणनाका लागि समय पर्याप्त भएको बताउँछन्।

नेपालको नक्सा

तस्बिर स्रोत, DoS Nepal

तस्बिरको क्याप्शन, नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट गरी नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच तनाव बढेको थियो

फरक मत

वडाध्यक्ष बोहराको भने फरक मत छ।

जाडोका कारण गाउँहरू माथिल्लो र तल्लो भेगमा छरिने क्रम बढ्दो छ। त्यसो हुँदा गणक आइपुग्दा सूचीकृत ११५ वटै घरका मानिस नभेटिन सक्छन्। उनीहरूलाई खोज्दै खलङ्गा र वरपरका गाउँ पुग्नु झनै चुनौतीपूर्ण बन्ने बताए।

"सडक नभएकाले देशले यो ठाउँलाई देख्दैन। यहाँका गाउँहरूलाई आफ्नै देशसँग जोड्ने सडक बने धेरै समस्या समाधान हुन्थ्यो। रासनपानी किन्नदेखि यसरी देशकै मान्छे गन्न भारतको भूमिमा टेक्नुपर्थेन," बोहराले भने।

जाडोका कारण वडा कार्यालय, स्वास्थ्य चौकीलगायत सरकारी कार्यालयहरू खलङ्गा सारिएको छ।