क्रिप्टोकरेन्सी जालसाजी: स्क्विडको मूल्य अकासियो अनि शून्यमा झर्यो

तस्बिर स्रोत, Netflix
नेटफ्लिक्सको चर्चित शृङ्खला स्क्विड गेमबाट नाम राखिएको एउटा डिजिटल टोकन जाली हुनसक्ने विवरण आएपछि त्यसको मूल्य लगभग शून्यमा झरेको छ।
खेलेर कमाउन सकिने क्रिप्टोकरेन्सीका रूपमा प्रचार गरिएको स्क्विडको मूल्य केही दिनयता अकासिएको थियो।
तर बीबीसी लगायतका सञ्चारमाध्यममा विज्ञहरूले यो टोकन किन्न सकिने भए पनि बेच्न वा साट्न नसकिने बताउँदै यसको आलोचना गरेका थिए।
क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूले यस्तो खालको जालसाजीलाई "रग पुल" भन्ने गर्छन्।
रग पुलमा क्रिप्टोकरेन्सीका प्रवर्धकहरूले लगानीकर्ता आकर्षित गरेपछि त्यसको सटही रोक्छन् र उठेको पैसा लिएर बेपत्ता हुन्छन्।
प्रविधि समाचार साइट गिज्मोडोका अनुसार स्क्विडका प्रवर्धकहरू अनुमानित ३३ लाख ८० हजार अमेरिकी डलर कमाएर हराएका छन्।
खेलेर कमाउन सकिने क्रिप्टोकरेन्सी खासमा मानिसहरूले अनलाइन गेम खेल्न किन्ने गर्छन् र त्यसपछि खेलमा अघि बढ्दै जाँदा उनीहरूले थप कमाउँदै पनि जान्छन्। त्यसरी जम्मा भएको टोकन पछि अन्य क्रिप्टोकरेन्सी वा राष्ट्रिय मुद्रामा साट्न सकिन्छ।
गत मङ्गलवार स्क्विडको मूल्य एक सेन्ट थियो। एक साताभन्दा कम समयमा त्यसको मूल्य २,८५६ अमेरिकी डलरभन्दा माथि पुगेको थियो।
कोइनमार्केटक्याप साइटका अनुसार अहिले त्यसको मूल्य ९९.९९ प्रतिशतले झरेको छ।
नेटफ्लिक्समा स्क्विड गेम सफल बनेपछि आएको अनलाइन गेममा प्रयोग गर्न सकिने भनी यो टोकन निस्किएको थियो। सो अनलाइन गेम यो महिनाको अन्त्यमा सुरु हुँदैछ।
तर विज्ञहरूले सो क्रिप्टोकरेन्सी जाली हुनसक्ने सङ्केतहरू रहेका बताएका थिए।
सो टोकन किनेका धेरैले त्यसलाई बेच्न नसकेको बताएका थिए।
आलोचकहरूले स्क्विडको वेबसाइटमा धेरै हिज्जे र व्याकरणमा गल्ती रहेका पनि बताएका थिए।
अहिले सो वेबसाइट बन्द छ भने स्क्विड क्रिप्टोकरेन्सीमा सामाजिक सञ्जाल खाताहरू हराएका छन्।
"यो सोझा लगानीकर्ताहरूलाई फसाउने जालसाजी हो," कोर्नल विश्वविद्यालयका अर्थशास्त्री ईश्वर प्रसादले भने।
नियामक निकाय नभएकोले मानिसहरूले क्रिप्टोकरेन्सी कारोबार गर्दा सावधान हुनुपर्ने प्रसादले बताए।









