नेपाल दशैँ: कुटपिट र चोरीदेखि आफ्नै छोराको हत्यासम्म, ठूला चाडपर्वका बेला किन हुन्छ अपराध

तस्बिर स्रोत, NurPhoto via Getty Images
असोज २६ गते सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा एक ५५ वर्षीय व्यक्तिले आफ्नै छोराको हत्या गरेको खबर आयो। दशैँका लागि काटिएको राँगाको मासुबारे विवाद उत्पन्न भएपछि उनले ३३ वर्षीय छोरालाई खुर्पा प्रहार गरी मारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिएका छन्।
मृतक चार दाजुभाइमध्ये माइला छोरा हुन्। उनीहरू अंशबन्डापछि भिन्नाभिन्नै बस्दै आएका थिए। तर दशैँका लागि एकै संयुक्त रूपमा राँगा काटेका थिए। मासु भाग लगाउँदा उनको चित्त बुझेन। आफ्नो भागमा हड्डी मात्र राखिदिएको भन्दै उनी आफ्ना बुवासँग रिसाए र गाली गरे।
आफूसँग दुर्व्यवहार गरेको भन्दै बुवाले प्रहरी बोलाउने चेतावनी दिएका थिए। तर बोलाएनन्। सोही दिन राति छोरा फेरि बाबुआमा बस्ने घरमा पुगे। मादकपदार्थ सेवन गरेका उनले बुवालाई गिज्याउँदै सोधेः 'खोइ त तेरो पुलिस, बोलाइनस्?'
"छोराले पटकपटक जिस्काएपछि उनलाई असह्य भएछ। मादकपदार्थ सेवन गरेका उनी पूर्ण होसमा थिएनन्। दलिनमा झुन्डाएको खुर्पा निकालेर छोराको गर्धनमा प्रहार गरे," प्रवक्ता पौडेलले बताए।
आवेशमा आएर पटकपटक प्रहार गरिएकाले उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँमा दशैँको चहलपहल भएको बेला छोरालाई त्यसरी साङ्घातिक आक्रमण गर्ने व्यक्ति भने प्रहरी हिरासतमा पुगे। पूरै परिवार अहिले शोक र चिन्तामा छ।
अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
"मासु र रक्सी त बहाना मात्र हो। उहाँहरूबीच पहिलेदेखि नै सम्बन्ध चिसिएको रहेछ। जग्गाका कारण झगडा भएको रहेछ। त्यही रिसका कारण जघन्य अपराध भयो," प्रहरी निरीक्षक पौडेलले बीबीसीसँग भने।

तस्बिर स्रोत, NurPhoto via Getty Images
चाडपर्वमा अपराध किन?
नेपालमा मनाइने अधिकांश चाडपर्वमा पूजाआजा गरिन्छ। दशैँमा पूजा र रमाइलो दुवै गरिन्छ। सांस्कृतिक, सामाजिक र पारिवारिक महत्त्वका कारण यो पर्वलाई विशेष मानिन्छ।
धेरै समुदायका मानिसले चाडपर्वमा मादकपदार्थ पनि प्रयोग गर्छन्।
यही बेला धेरै अपराध हुने तथ्याङ्कले देखाउँछ।
समाजशास्त्री टीकाराम गौतमका अनुसार संवेगात्मक सामाजिक मनोविज्ञानका कारण अपराध हुन्छ। चाडपर्वमा मानिसले पाउने छुट, स्वतन्त्रता र हुने जमघटका कारण अपराधका लागि वातावरण बन्ने उनको भनाइ छ।
"अपराध चाडपर्वमा मात्र हुँदैन, सधैँ हुने त्यस्ता गतिविधि धेरै मानिस एकै ठाउँमा जमघट भएको बेला सतहमा देखिने हो," उनले भने,"चाडवाडको समयमा अभावदेखि स्वभावसम्मले मानिसलाई प्रेरित गर्छ।"
दशैँतिहारमा विभिन्न महँगा वस्तु उपभोग र प्रदर्शन गर्ने परिवेश बनेको र क्षमता भए पनि नभए पनि त्यस परिवेशमा आफू जसरी पनि अटाउनुपर्छ भन्ने सोचले मनोविज्ञानमा असर गरेर संवेगात्मक बनाउने गौतमको भनाइ छ।

तस्बिर स्रोत, NurPhoto via Getty Images
"त्यही मनोविज्ञानले हो मानिसलाई आपराधिक गतिविधितर्फ उन्मुख गर्ने। त्यस्तै चाडपर्वमा हुने जमघटले पुरानो रिसइवी फेर्ने मौका समेत प्रदान गर्छ।"
चाडपर्वले आवेशलाई सतहमा ल्याउन भूमिका खेल्ने वा अपराधका लागि परिस्थिति निर्माण गरिदिने उनको धारणा छ। सामाजिक सम्बन्ध, खानेपिउने तरिका र फरक मत राख्ने मानिस एकै ठाउँमा हुँदा निर्माण हुने सामाजिक मनोविज्ञानले समेत असर पार्ने तर्क उनको छ।
हत्याका घटना
चाडपर्वमा आपराधिक गतिविधि बढ्ने नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउँछन्। असोज २१ गतेदेखि असोज ३० गतेसम्म अर्थात् घटस्थापनादेखि एकादशीको दिन सम्ममा देशभरि झन्डै ३०० वटा आपराधिक गतिविधिको भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।
यस वर्ष दशैँको १० दिनभित्र देशभरि १२ जना मानिसको हत्या भयो। त्यस्तै १० जनाको हत्याको प्रयास भयो। उक्त सङ्ख्या गत वर्षभन्दा कम भएको अधिकारीहरूको दाबी छ।
गत वर्ष दशैँ र तिहारको अवधिमा ३१ जनाको हत्या भएको थियो भने ४७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। त्यस्तै २०७६ सालमा ३२ जनाविरुद्ध कर्तव्य ज्यान र ३७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो।
"ज्यान नै लिने अपराधका गतिविधिहरू यस वर्ष कम भएका छन्। प्रहरीको सूक्ष्म निगरानी र जनस्तरमा सचेतनाका कारण अपराध कम भएको देखिन्छ," प्रवक्ता कुँवरले भने,"ज्यान लिनेबाहेक चोरी, लुटपाट, लागुऔषधलगायत घटनामा पनि कमी आएको छ।"

तस्बिर स्रोत, RSS
लुटपाट र चोरी
प्रहरीको तथ्याङ्कअनुसार यस वर्ष दशैँमा १९ वटा मात्र चोरीको घटनाबारे उजुरी परेको छ। तीमध्ये डाका चोरीको घटना दुई वटा, घरको भित्ता वा ढोका नै फोडेर हुने नकाबजनी चोरी एउटा र साधारण चोरी १६ वटा दर्ता भएका हुन्।
गत वर्ष दशैँ र तिहारमा गरेर ७० वटा चोरीका घटना भएका थिए। तीमध्ये सातवटा डाका चोरी, सातवटा नकाबजनी चोरी, ४७ वटा साधारण चोरी र नौवटा चौपाया चोरीको घटना दर्ता भएका थिए।
"चाडपर्वको समयमा आर्थिक कारोबार बढ्ने भएकाले चोरीको घटना पनि बढ्ने गरेको पाइन्छ। तर यस वर्ष सङ्ख्यात्मक हिसाबमा चोरी पनि घटेको छ," चोरी घट्नुको कारणबारे कुँवर भन्छन्,'सीसीटीभी क्यामरालगायत प्रविधिको प्रयोगले पनि चोरी कम भएको हो।"
प्रहरीको तथ्याङ्कअनुसार दशैँको अवधिमा कालोबजारीको घटनाबारे कुनै उजुरी परेको छैन।
तर नियमन निकायका अधिकारीहरूले भने हरेक वर्ष दशैँअघि म्याद गुज्रिएका, गुणस्तरहीन सामग्रीको जोखिमलगायत अन्य कालोबजारीबारे सचेत रहन उपभोक्तालाई आग्रह गर्छन्। यस वर्ष पनि चाडपर्वका बेलामा बजारमा उपभोक्ताको ठुलो भिडभाड हुने र गुणस्तरहीन तथा म्याद गुज्रेका सामान व्यवसायीले बेच्न सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यसतर्फ सचेत पारेको थियो।
"त्यस्ता घटना भए पनि प्रहरीसम्म आइपुग्दैनन्," कुँवरले भने,"प्रहरीले कारबाही गरेका वा मुद्दा चलाएका घटना मात्र तथ्याङ्कमा समावेश हुने भएकाले कालोबजारीको घटना नदेखिएका हुन्।"
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपाने भने दशैँअघि २०७ जना पाकेटमार एकसाथ कारवाहीमा पर्नुले चोरी र डकैतीका घटना कम घटेको बताउँछन्।
उनले भने,"सार्वजनिक हुने र कारवाहीमा पर्ने डरका कारण पनि मानिसहरू आपराधिक गतिविधिमा संलग्न नभएको हुनसक्छ।"

तस्बिर स्रोत, EPA
अपहरण र लागुऔषधसम्बन्धी अपराध
विगतका वर्षहरूमा चाडपर्वको समयमा लागुऔषध ओसारप्रसारका धेरै घटनाहरू हुने गर्थे। यस वर्ष त्यसमा समेत कमी आएको अधिकारीहरू बताउँछन्।
तथ्याङ्कअनुसार दशैँको बेला २०७६ सालमा १३९ र २०७७ सालमा ११६ जनाविरुद्ध लागुऔषध कारोबारको मुद्दा दायर भएको थियो। यस वर्ष दशैँमा अहिलेसम्म छ दर्जन जनाजतिलाई मात्र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै गत वर्ष दशैँ र तिहारमा गरी १० जना अपहरणमा परेका थिए भने यस वर्ष दशैँमा केवल एउटा घटना जानकारीमा आएको छ।
"अनुसन्धानमा प्रविधि र तालिम प्राप्त कुकुरको प्रयोग बढेपछि लागुऔषधि साथै हातहतियार ओसारप्रसारमा कमी आएको छ। अपहरणको घटना कम हुनुमा पनि त्यसैको प्रभाव हुन सक्छ," कुँवरले भने।
चाडपर्वमा यौन अपराध
चाडपर्वको समयमा घरेलु हिंसा र यौन दुर्व्यवहारका घटना बढ्ने प्रहरी प्रवक्ता कुँवर बताउँछन्। यस वर्ष दशैँमा २४ जनाविरुद्ध जबरजस्ती करणी भएको तथ्याङ्क छ। गत वर्ष दशैँ र तिहारमा गरेर उक्त सङ्ख्या १२० रहेको थियो भने २०७६ मा ५९ थियो।
त्यस्तै असोज २१ गतेदेखि ३० गतेसम्ममा नौ जनाविरुद्ध जबरजस्ती करणीको प्रयास भएको देखिन्छ। २०७६ सालको दशैँ र तिहारमा ३० जनामा जबरजस्ती करणीको प्रयास भएको थियो भने गत वर्ष उक्त सङ्ख्या बढेर ४१ पुगेको थियो।
वयस्क मात्र नभई बालबालिका समेत यौनजन्य अपराधको सिकार बन्ने गरेका छन्। प्रहरीको तथ्याङ्कअनुसार दशैँका १० दिनमा बालयौनदुराचारका पाँचवटा घटना दर्ता भएका छन्।
अन्य अपराध कति?
गत वर्ष दशैँ र तिहारमा गरेर कुल ११२ वटा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर दर्ता भएका थिए भने यस वर्ष दशैँमा उक्त कसुरमा ९८ वटा घटना दर्ता भएका छन्। त्यस्तै गत वर्ष १४४ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत कारबाही गरिएको थियो भने यस वर्ष जम्मा सात जनाविरुद्ध उक्त कसुर लगाइएको छ।
कुटपिट गरेर अङ्गभङ्ग हुनेको सङ्ख्या गत वर्ष दशैँ र तिहारमा गरेर एक थियो भने यस वर्ष दशैँमा मात्र एक जनाको कुटपिटका कारण अङ्गभङ्ग भएको छ।
सार्वजनिक उपद्र्याइँ गरेको आरोपमा २०७६ को दशैँ र तिहारमा गरी कुल छ जना पक्राउ परेका थिए। सो सङ्ख्या २०७७ मा ५ मा झर्यो भने यस वर्ष हालसम्म शून्य रहेको छ।
अपराध नियन्त्रणका लागि प्रहरीले के गर्यो?
नेपाल प्रहरीले अत्यधिक मादकपदार्थ सेवन, चाडपर्वमा हुने भिडभाड, बढ्ने आर्थिक गतिविधिका कारण हुने आपराधिक गतिविधि आकलन गरेर सुरक्षा योजना बनाएको प्रवक्ता कुँवरको भनाइ छ। त्यसका लागि सूक्ष्म निगरानी र नागरिकसँगको सहकार्यमा जोड दिइएको उनी बताउँछन्।
"हामीले कानुन कार्यान्वयनदेखि फील्डमा खट्ने सबैलाई सक्रिय बनायौँ। जिल्ला प्रहरी कार्यालयहरू र मातहतका एकाइमार्फत् विशेष सुरक्षा योजना अपनाएर काम गर्यौँ। निगरानी र नागरिकलाई सचेत बनाउनुले अपराध घटाएको हो," कुँवरले दाबी गरे।
सर्वसाधारण नागरिकलाई बहुमूल्य सामान घरमा नराख्न वा प्रदर्शन नगर्न सचेत गरिएकाले चोरी, लुटपाटजस्ता घटना कम भएको उनले बताए। नागरिकलाई अन्तर्क्रियामार्फत् अपराध नियन्त्रणमा सहभागी बनाउनु, प्रविधिको प्रयोग, तत्काल कारबाही र नियम कार्यान्वयनको पाटो सशक्त बन्नुलाई अपराध कम देखिनुको कारकका रूपमा व्याख्या गर्छन्।
प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले भने,"संवेदनशील क्षेत्रहरूमा कडा निगरानी, २४ घण्टा गाडी, मोटरसाइकल वा पैदल गस्तीका कारण पनि सार्वजनिक अपराधका गतिविधि कम देखियो। गतका वर्षहरूको तुलनामा यस वर्ष जघन्य अपराध कम भएका छन्।"










