नेपाल कोभिड १९: खोप अभियानमा अरुचि देखिन सक्ने विज्ञको चिन्ता, सरकारलाई यस्ता छन् सुझाव

खोप

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, नेपालले यो वर्षभरीमा सबै लक्षित नागरिकलाई खोप दिने बताएको छ

नेपालमा जनसङ्ख्याको निश्चित तप्कासम्म कोरोनाभाइरसको खोप पहुँच पुग्न नसक्ने जोखिम रहेको सरकारद्वारा गठित खोपसम्बन्धी विज्ञ समूहका संयोजकले औँल्याएका छन्।

सरकारले त्यस्ता निष्क्रिय समूहहरूलाई खोप अभियानमा समेट्न विशेष ध्यान दिनुपर्ने डा. श्यामराज उप्रेतीले बताए।

खोप अभियानमा मानिसहरूको सक्रियता केही समय देखिए पनि निश्चित विन्दुबाट खोप लगाउने प्रवृत्ति कम हुनसक्ने भन्दै उनले त्यस्तो बताएका हुन्।

सरकारले यो वर्षभरिमा १८ वर्षभन्दा माथिका सम्पूर्ण नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य राखेको छ।

मङ्गलवार अपराह्नसम्म ६४ लाख ४६ हजारभन्दा बढी नेपालीले कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा र ८३ लाखभन्दा बढीले एक मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अवस्था के छ?

खोप अभियानमा महामारी र त्यसलाई नियन्त्रण गर्न खोपको भूमिका महत्त्वपूर्ण रहेको तथ्य बुझेको जनसङ्ख्या अहिले सक्रिय रूपमा सहभागी भएको देखिएको कैयौँ जनस्वास्थ्यविद्हरूको विश्लेषण पाइन्छ।

तर उक्त जनसङ्ख्याले खोप लगाइसकेपछि खोप अभियानमा कैयौँ मानिसहरू छुट्न सक्ने भएकाले सरकारले बेलैमा त्यसलाई सम्बोधन गर्ने उपाय खोज्नुपर्ने कोभिड-१९ सम्बन्धी विज्ञ समितिका संयोजक डा. उप्रेतीले बीबीसीलाई बताए।

उनले भने, "सक्रिय समूहहरूले खोप लिइसकेपछि खोप लिन जाने दर कम हुँदै जान्छ। दोधारमा परेका समूहहरूलाई जबसम्म हामीले सम्झाउँदैनौँ र खोपको महत्त्व बुझाउँदैनौँ त्यसपछि कम भएर जान्छ।"

"त्यसपछि हामी खोप नै लिँदैनौँ भन्ने समूह पनि आउँछ। काठमाण्डूकै खोप केन्द्रहरूको उदाहरण लियो भने खोप केन्द्रहरूमा भिडभाड कम छ। तर खोप लिनुपर्ने मान्छे अझै धेरै छन्।"

सुरुमा १८ लाख ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिनुपर्ने देखिएपनि कैयौँ छुटेको पाइएको उनको भनाइ छ।

अझै पनि कैयौँ निम्न वर्गका मजदुर र अशिक्षित वर्गका व्यक्तिहरूले खोप नलाएको आफूले पाएको उनले बताए।

कोभिड

तस्बिर स्रोत, EPA

त्यसबाहेक पहिलो मात्रा लगाएर दोस्रो मात्रा खोप लगाउन मानिसहरू नआएको हुनसक्ने भन्दै थप खोजी हुनुपर्ने उनले बताए।

विज्ञानप्रति भरोसा नगर्ने र अन्धविश्वासी समूह पनि खोप अभियानबाट छुट्नसक्ने जोखिम रहेको डा. उप्रेतीको भनाइ छ।

समाधानको उपाय के हुनसक्छ?

खोप प्रतिको सम्भावित अनिच्छा र कोरोनाभाइरस विरुद्धको खोपको पहुँच विस्तारबारे सरकारलाई राय दिन गठित स्थायी संरचना राष्ट्रिय खोप सल्लाहकार समितिमा पनि पटक पटक छलफल भएको बताइन्छ।

उक्त समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी भन्छन्, "पहिला खोप लगाउनलाई उमेर देखिने कागजपत्र र नागरिकता ल्याउनुपर्छ भन्ने थियो। यस्ता कुराहरू बिस्तारै बिस्तारै हटाएर म यहाँ बस्छु भनेर जो कोही आउँछ भने उसलाई खोप दिने भन्ने कुरा स्वीकार भइसकेको छ।"

"स्थानीय तहका खोप सुपरिवेक्षक र अधिकारीहरूसँगको समन्वयमा यो गर्‍यो भने अझ राम्रो हुने रहेछ। माथिल्लो तहबाट यसो गर भनेर मात्रै हुने रहेनछ।

उनले थपे, "कहीँ कहीँ स्थानीय तह र खोपका मान्छेका बीचमा तालमेलमा समस्या देखा पर्ने रहेछ। त्यस्तोमा माथिका मानिसहरूले समन्वय गरिदिनुपरेको जस्तो देखिन्छ।"

"खोप आउँदै छ लिनुहोस् भन्ने सन्देश व्यापक रूपमा प्रवाह गर्ने र अनुगमन गर्ने हो भने उपयुक्त हुन्छ।"

खोप

तस्बिर स्रोत, UNICEF

तस्बिरको क्याप्शन, अहिले पनि खोप जुटाउने विषय आफ्नो उच्च प्राथमिकतामा रहेको सरकारले बताउने गरेको छ

एउटा अनुसन्धानमूलक जर्नल नेचरमा यसै वर्ष प्रकाशित भएको एउटा अध्ययनले नेपाललाई विज्ञान, सामाजिक सहमति र खोपप्रति उच्च विश्वास भएका सात देशमध्येमा राखिएको छ।

जारी खोप अभियानमा छुटेका वर्ग र खोपको पहुँच जस्ता विषयमा सरकारी स्तरबाट अध्ययन हुनुपर्ने विज्ञहरू बताउँछन्।

विज्ञान र वैज्ञानिकहरूप्रति विश्वास हुने देशहरूमा खोपप्रति बढी विश्वास व्यक्त गरिने उक्त अध्ययनमा उल्लेख छ।

सरकारी अधिकारी के भन्छन्?

नेपालमा जारी खोप अभियानमा छुटेका वर्ग र खोपको पहुँच जस्ता विषयमा सरकारी स्तरबाट खासै अध्ययन भएको छैन।

तर त्यसबारे सरकारले सोचिरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले बीबीसीलाई बताए।

उनले भने, "अहिलेसम्म त खोप नै नभएर आउने बित्तिकै हारालुछ भइरहेको स्थिति थियो। अब यो विषयमा हामीले थप गृहकार्य गर्नुपर्छ। हामी खोप केन्द्रहरू अलिकति घटाउँछौँ र त्यही खालको सन्देश पनि प्रवाह गर्छौँ। खोप प्रतिको अरुचिका बारेमा सर्वेक्षण भइरहेको छ बिस्तारै हामी खोपको पहुँचबारे पनि अध्ययन गर्छौँ।"

नेचर जर्नलमा प्रकाशित अर्को सर्वेक्षणमा विकसित र कम तथा मध्यम आय भएका देशहरूमध्ये नेपालमा सबैभन्दा बढी कोभिड-१९ विरुद्धको खोप लगाउने तत्परता व्यक्त भएको पाइएको छ।

नेपालको कैलाली र कञ्चनपुर जिल्लामा अमेरिकी येल विश्वविद्यालयद्वारा गरिएको सर्वेक्षणको परिणाम विकसित देशमध्ये अमेरिका र रुस र अन्य नौवटा कम तथा मध्यम आय भएका देशसँग तुलना गरिएको थियो।

सर्वेक्षणमा सहभागी नेपालीहरूले सरकार वा सञ्चारमाध्यम तथा अनलाइन समूहहरूभन्दा पनि स्वास्थ्यकर्मी, साथी वा परिवारका सदस्य र चर्चित व्यक्तिका रायलाई आफूहरूले सबैभन्दा बढी विश्वास गर्ने र त्यसका आधारमा खोप लगाउने विषयमा निर्णय लिने बताएका थिए।

नेपालमा कोभिड-१९ विरुद्धको खोप सुरुमा आउँदा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत खोप लगाउन अनिच्छुक भएको पाइएको थियो।

तर एक पछि अरू वैज्ञानिक अध्ययनहरूले खोप प्रभावकारी रहेका र यसबाट कुनै हानी नहुने देखाएसँगै खोपप्रतिको आकर्षण बढेको थियो।