फेसबुकले बालबालिकालाई हानि पुर्याउने र प्रजातन्त्रलाई कमजोर पार्ने गरेको एक पूर्वकर्मचारीको बयान

तस्बिर स्रोत, Getty Images
फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले 'बालबालिकालाई हानि पुर्याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने' अमेरिकी विधायकहरूसँग बताएकी छिन्।
उनले त्यसबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको बताइन्।
फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले सो कम्पनीका गोप्य कुराहरू चुहाएकी थिइन्।
र, उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिइन्।
फेसबुकले के भन्यो?
फेसबुकले भने श्रीमती हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ।
तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ।
मङ्गलवारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा दुर्लभ रूपमा एकै ठाउँमा देखिएका थिए।
उक्त विशाल प्रविधि कम्पनीमाथि छानबिन र नियमनको बढ्दो माग भइरहेका बेला यी अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्।
आलोचना
२.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो।
करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँछन्।

तस्बिर स्रोत, Getty Images
तर फेसबुक कम्पनीमाथि प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना हुने गरेको छ।
हाउगनले फेसबुक आफै नसुध्रिने भन्दै अमेरिकी संसद् कङ्ग्रेसको हस्तक्षेप आवश्यक रहेको बताइन्।
बहस
हाउगनले पछिल्ला साताहरूमा फेसबुकका कैयौँ गोप्य दस्तावेज द वालस्ट्रीट जर्नल पत्रिकालाई दिएकी थिइन्।
जसमा टेकेर उक्त पत्रिकाले प्रकाशन गरेको समाचारमा इन्स्ट्रागामकै एउटा अध्ययनले उक्त एपले युवतीहरूको मानसिक स्वास्थ्यलाई असर पार्ने देखाएको उल्लेख छ।
मङ्गलवार सिनेटर एड मार्कीले फेसबुकका मालिक मार्क जकरबर्गलाई आफ्नो सन्देश भन्दै 'गोपनीयतामा हस्तक्षेप, विषाक्त विषयवस्तुको प्रवर्द्धन र बालबालिकालाई बिगार्ने समय सकिएको' बताएका थिए।









