जर्मनी निर्वाचनः एङ्गेला मेर्कलको उत्तराधिकारी को बन्ला

लामो समय जर्मनीको चान्सलरको उत्तरदायित्व वहन गरेकी एङ्गेला मेर्कलको उत्तराधिकारी चयनका लागि आइतवार जर्मन नागरिकहरूले संसदीय निर्वाचनमा मतदान गर्दैछन्।

जर्मनीमा लोकप्रिय मानिएकी मेर्कलको उत्तराधिकारी चयन तीव्र प्रतिस्पर्धाबाट हुने ठानिएको छ।

बर्लिनका सडकहरूमा हरेक वर्ष आयोजना हुने म्याराथन भइरहँदा त्योभन्दा ठूलो प्रतिस्पर्धा देशको कार्यकारी पदका लागि हुँदैछ।

चुनावी अभियानको अन्त्यतिर आइपुग्दा मेर्कल कन्जर्भेटिभ उम्मेदवार आर्मिन लासेटको गृहनगर आचेनमा आयोजित चुनावी सभामा सहभागी भइन्।

अन्तिम मतसर्वेक्षणहरूले उनीहरूको असम्भावित विजय हुनसक्ने सङ्केत देखाएका छन्।

युरोपको सबैभन्दा शक्तिशाली अर्थतन्त्रको नेतृत्वमा कसलाई पुर्‍याउने निर्णय जर्मनीका छ करोड मतदाताहरूले लिँदैछन्।

आइतवार साँझ मतदान सकिँदासम्म कसले चुनाव जित्दैछ भन्ने स्पष्ट सङ्केत देखिने बताइएको छ।

जर्मन राजनीतिको सबैभन्दा उच्च पदबाट बाहिरिनुभन्दा केही साताअघि मर्केल आफैँ चुनावी र्‍यालीहरूमा देखा परिन्। निकै अप्रत्यासित मानिएको चुनावी चहलपहल मर्केल र्‍यालीमा नआउँदासम्म तातेको थिएन।

"को सत्तामा छ भन्ने कुराले साँच्चिकै महत्व राख्छ," मतदानको ४८ घण्टाअघिसम्म उनी मतदाताहरूलाई चेतावनी दिँदै थिइन्।

उनले जर्मनीको स्थिरता र युवाहरूको भविष्य उनका उम्मेदवार आर्मिन लासेटले मात्रै सुनिश्चित गर्न सक्ने सन्देश दिने प्रयास गरेकी थिइन्।

चर्को प्रतिस्पर्धा

यो निर्वाचनको परिणाम निकै अनिश्चित छ।

एकतिहाइ मतदाताहरू चुनावी अभियानसम्म पनि कसलाई मत दिने भन्नेमा अनिश्चित थिए। ठूलो सङ्ख्यामा जर्मनहरूले यसअघि नै मतदान गरिसकेका छन्।

मतसर्वेक्षणले महिनौँसम्म कहिले एक पक्षले त कहिले अर्को पक्षले जित्ने देखाइरहेका थिए। प्रारम्भिक सर्वेक्षणहरूमा त्यहाँको कन्जर्भेटिभ सीडीयू र उसको बभेरियन भातृपार्टीले अग्रता लिएका थिए।

एउटा बिन्दुबाट ग्रीन पार्टी अगाडी आएको थियो। तर त्यसलाई ओलाफ सल्ट्सको सोशल डेमोक्याट्सले उछिन्यो।

चान्सलरको प्रतिस्पर्धामा रहेका तीन उम्मेदवारमध्ये ओलाफ सल्ट्स सबभन्दा बलिया देखिएका छन्।

मर्केलको उपप्रमुख भएर काम गरेका सल्ट्सलाई प्रतिद्वन्द्वी कन्जर्भेटिभ उम्मेदवारहरूसामु आफूलाई मर्केलकै उत्तराधिकारीको निरन्तरताका रूपमा देखाउन सजिलो भएको छ।

तर उनले चुनाव जितिहाले पनि उनलाई सरकार बनाउन अरू दुईवटा पार्टीको सहयोग आवश्यक देखिन्छ।

"मेरो लागि सबैभन्दा बलियो गठबन्धन मतदाताहरूसँग हुन्छ। किनभने उनीहरूले मलाई जति बलियो गरी जिताउँछन् मलाई सरकार गठन गर्न त्यति नै सहज हुन्छ," उनले भनेका छन्।

जलवायु सङ्कट प्रमुख मुद्दा

ग्रीन पार्टीका लागि यो निर्वाचन सबैभन्दा ठूलो अवसर हो।

जर्मन मतदाताहरूका लागि जलवायु परिवर्तन सबैभन्दा ठूलो मुद्दा हो। तर ग्रीन पार्टीले सङ्घीय संसद्‌मा एक पटक मात्रै १० प्रतिशतभन्दा बढी मत जुटाएको छ।

यो पार्टीबाट उम्मेदवार रहेकी आनालेना बेयरबर्कले ठूलो जनघनत्व भएका दुईवटा सहरमा १९० जनाको ज्यान जानेगरी आएको बाढीको प्रकोपका बावजुद पनि गत बर्खामा समर्थन पाउन सकिनन्।

बर्लिनमा भेटिएका एक व्यक्तिले जलवायु परिवर्तन आफ्नो प्रमुख मुद्दा भए पनि अन्य पार्टीहरू पनि त्यो विषय उठाउनका लागि उत्तिकै सक्षम रहेको बताए।

शनिवार आर्मिन लासेटले मतदाताहरूसँग नवीकरणीय ऊर्जाका क्षेत्रमा जर्मनी धेरै पछि परिसकेको भन्दै त्यस क्षेत्रमा काम गरिनुपर्नेमा जोड दिए।

ग्रीन पार्टीसँग धेरै विषयमा मतभिन्नता देखाउने लिबरल एफडीपी पार्टी पनि जलवायु परिवर्तनको मुद्दा लिएर युवा मतदातामा पुगेको छ। दुवै पार्टीको सरकार गठन गर्ने वा प्रमुख सत्ता साझेदार बन्ने उत्तिकै सम्भावना रहेको औँल्याइएको छ।

"अबको सरकार जलवायु परिवर्तनका विषयमा सक्रिय प्रभाव राख्ने अन्तिम सरकार हुनेछ," आनालेना बेयरबर्कले ग्रीन पार्टी सरकारमा पुग्नुपर्नेमा जोड दिँदै अन्तिम टेलिभिजन बहसमा मतदाताहरूसँग भनिन्।

तर लिबरल पार्टीकी क्रिश्चियन लिन्डनर ग्रीन पार्टीले भने जस्तो तहमा जर्मनी गइहाल्नुपर्ने आवश्यकता नरहेको बताउँछिन्।

आइतवारसम्म चुनाव जित्ने पार्टीबारे धेरै कुरा थाहा हुने भए पनि त्यसपछि बन्ने सरकारबारे थाहा पाउन जर्मनहरूलाई अझै केही समय लाग्ने देखिन्छ।

चुनाव जित्ने पार्टीले सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने हुन्छ र त्यो कार्य त्यति सहज नभएको विश्लेषण गरिएको छ।