ओकस: अस्ट्रेलिया र अमेरिकाले झुट बोलेको फ्रान्सका विदेश मन्त्रीको आरोप

फ्रान्सका विदेश मन्त्री जाँ यिभ ल द्रियाँ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फ्रान्सका विदेश मन्त्री जाँ यिभ ल द्रियाँ
Published

अस्ट्रेलिया, यूके र अमेरिकाबीच हालै भएको एक सुरक्षा सम्झौताबाट चिढिएको फ्रान्सका विदेश मन्त्रीले अस्ट्रेलिया र अमेरिकालाई झूटो बोलेको आरोप लगाएका छन्।

सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता गर्ने निर्णय गरिसकेको छ।

फ्रान्स टू टेलिभिजनसँगको अन्तरवार्तामा विदेश मन्त्री जाँ यिभ ल द्रियाँले ती देशहरूले "दोहोरो चरित्र देखाएको, विश्वास तोडेको र आफूहरूको मानमर्दन गरेको" आरोप लगाए।

ओकस नाम दिइएको त्रिदेशीय सम्झौतापछि अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने प्रविधिमा पहुँच पाउनेछ।

सम्झौतासँगै फ्रान्ससँग पनडुब्बी खरिद गर्ने अर्बौँ डलरको सम्झौता अस्ट्रेलियाले खारेज हुने जनाएपछि प्यारिस रुष्ट बनेको छ।

यूके पनि सहभागी भएको सम्झौतालाई दक्षिणी चीनको समुद्रमा चिनियाँ प्रभाव कम गर्ने कदमको रूपमा हेरिएको छ।

सार्वजनिक घोषणाको केही घण्टा अघि मात्रै सम्झौताबारे फ्रान्सलाई जानकारी गराइएको थियो।

सम्बन्धमा "गम्भीर सङ्कट"

विदेश मन्त्री ल द्रियाँले शनिवार एक अर्काका सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा "गम्भीर सङ्कट" उत्पन्न भएको बताएका छन्।

पनडुब्बी

तस्बिर स्रोत, Reuters

"अमेरिका र फ्रान्सबीचको सम्बन्धको इतिहासमै हामीले पहिलो पटक राजदूतलाई छलफलका लागि फिर्ता बोलाउँदै छौँ। यो निकै गम्भीर राजनीतिक कदम हो र यसले दुई देशबीच कायम सङ्कटको स्तर देखाउँछ" ल द्रियाँले भनेका छन्।

उनका अनुसार राजदूतहरूलाई परिस्थितिको पुन:मूल्याङ्कनका लागि फिर्ता बोलाइएको हो।

विदेश मन्त्री ल द्रियाँले यूके "निरन्तर अवसरवादी" भएको आरोप लगाउँदै त्यहाँबाट राजदूत फिर्ता गर्नुपर्ने आवश्यकता नदेखिएको बताए।

"यो पूरै मामलामा ब्रिटेन तेस्रो चक्का मात्रै हो," उनले भने।

यूकेका नवनियुक्त विदेश मन्त्री लिज ट्रसले द सन्डे टेलिग्राफमा एक लेख प्रकाशित गर्दै सम्झौतामा यूकेको सहभागिताको बचाउ गरेका छन्। उनले सम्झौताले यूके आफ्नो हित रक्षाका लागि कति कठोर बन्न सक्छ भन्ने देखाएको उल्लेख गरे।

३७ अर्ब डलरको सम्झौता समाप्त

सम्झौतासँगै अस्ट्रेलिया पनि परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी राख्ने सातौँ देश बन्नेछ।

सँगसँगै उसले परिष्कृत साइबर क्षमता, आर्टिफिशिल इन्टेलिजन्ससहित समुद्रमुनि प्रयोग हुने अन्य प्रविधिहरूमा पहुँच पाउनेछ।

यसको घोषणासँगै फ्रान्ससँग १२ वटा पनडुब्बी किन्ने अस्ट्रेलियाको ३७ अर्ब अमेरिकी डलरको सम्झौता समाप्त भएको छ।

क्यानबेराबाट फिर्ता हुनुअघि अस्ट्रेलियाका लागि फ्रान्सका राजदूत जाँ पियरे थेबाल्टले एकतर्फी रूपमा सम्झौता भङ्ग गर्ने अस्ट्रेलियाको निर्णय "ठूलो गल्ती" भएको बताए।

यता चीनले सम्झौतामा सहभागी तीन राष्ट्रहरूलाई "शीतयुद्धको मानसिकता" कायम राखेको आरोप लगाएको छ।

ह्वाइट हाउसका एक अधिकारीले असहमतिहरू समाधान गर्न वाशिङ्टनले निकट भविष्यमै फ्रान्ससँग छलफल गर्ने बताएका छन्।

अस्ट्रेलियाकी विदेश मन्त्री मरीस पेनले फ्रान्सको चित्त दुखाइ आफूहरूले पनि महसुस गरेको बताएकी छन्।

उनले द्विपक्षीय सम्बन्धको महत्त्व बुझेर फ्रान्स अघि बढ्ने विश्वास व्यक्त गरिन्।