संसद् अवरोध: संसद्मा एमाले सांसदको नाराबाजी, 'काँध नचढ्न' केपी ओलीको निर्देशन

तस्बिर स्रोत, Pradeep Raj Onta/RSS
प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले आइतबार पनि वेलमा नाराबाजी गर्दै संसद् अवरोध जारी राखेका छन्।
एमाले सांसदहरूको अवरोधपछि संसद् बैठक सुरुमा १५ मिनेटका लागि स्थगित भयो।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सत्ताधारी र प्रतिपक्षका सांसदहरूसँग छलफल गरे पनि सहमति नभएपछि पुन: सुरु भएको बैठकमा एमालेको अवरोध जारी रह्यो।
निरन्तरको अवरोधपछि प्रतिनिधिसभाको बैठक आगामी मङ्गलवारसम्म लागि स्थगित भएको छ।
सभामुखले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न संविधानले बन्देज गरेको भन्दै एमाले सांसदहरूलाई अवरोध हटाउन आग्रह गरे पनि उनीहरूले अवरोध जारी राखेका छन्।
आफ्नो दलले निष्कासन गरेका १४ सांसदहरूको पद रिक्त गर्न सभामुखले अस्वीकार गरेपछि रुष्ट बनेको एमालेले संसद्को जारी अधिवेशनमा पहिलो बैठकबाटै अवरोध जारी राखेको हो।
प्रतिनिधिसभाको बैठकअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको संसद्मा माइक हान्ने कुनै योजना नभएको भन्दै मर्यादामा रहेर विरोध जनाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
'माइक हान्ने योजना थिएन'
गत शुक्रवारको संसद् बैठकमा एक जना एमाले सांसदले आफूले सभामुख र अर्थमन्त्रीलाई माइकले हान्ने योजना बनाएको पत्रकारहरूसँग बताएकी थिइन्।
आइतवार एमाले सांसदहरूलाई निर्देशन दिँदै ओलीले भने, "सभामुखलाई माइक हान्ने त्यस्तो योजना थिएन। त्यस्तो हुँदै नभएको कुरा मिडियामा गर्नु हुँदैन।"
मर्यादापालकहरूको घेरा तोड्ने आफूहरूको नीति नभएको भन्दै ओलीले वेलमा उपस्थित भएर नारा लगाउने बाहेक अन्य गतिविधि नगर्न समेत सांसदहरूलाई सचेत गराए।
"काँध चढेर माथि जान खोज्ने कुरा नगरौँ," उनले थपे।

तस्बिर स्रोत, Rss
मर्यादापालकहरूले एमाले सांसदहरूलाई वेलमा नाराबाजी गर्नबाट समेत अवरोध गरेको ओलीको आरोप थियो।
आफूहरूलाई नारा समेत लगाउन नदिएको विषयमा कुरा उठाउन एमाले प्रमुख सचेत विशाल भट्टराई लाई उनले निर्देशन दिए।
"हामीले पनि तोकेका नारा तोकिएका स्थानबाट लगाऊँ। अतिरिक्त व्यक्तिगत सुर्याइँ देखाउने होइन," उनले भने।
सांसदहरूलाई वेलमा नाराबाजी गर्नबाट अवरोध गरिए स्थिति मुठभेडमा जान सक्ने ओलीको चेतावनी थियो।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसद्मा विरोध गर्नबाट पनि अवरोध गरिए आफूहरू संसद् छोडेर सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
सत्तापक्षलाई चेतावनी
"सानु कुवा जत्रो ठाउँ राखेर मर्यादापालकले वेल कब्जा गर्ने होइन, सेक्युरिटी दिने हो," ओलीले भने।
"त्यसो भए संसद् छोडेर बाहिर नारा लगाउन जानुपर्ने अवस्था बन्छ। म भन्न चाहन्छु सत्ता पक्षलाई बढी कन्फ्रोन्टेशन नलेओस्। मर्यादापालकको परिचालन पनि सीमा भित्रबाट मात्र गरोस्," उनले भने।
प्रतिपक्ष पार्टी विभाजनमा सभामुखको प्रत्यक्ष संलग्नता देखिएको आरोप लगाउँदै ओलीले सभामुखको आचरणको कारणले संसद् अवरोध जारी राख्ने बताए।








