कोभिडः अरूलाई कोरोना भाइरस सारेको अभियोगमा भियतनाममा एक जनालाई पाँच वर्ष जेल

ले भान ट्री

तस्बिर स्रोत, Thanh Nien

भियतनाममा कोभिड-१९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ।

ले भान ट्री नाम गरेका ती व्यक्तिले आठ जनालाई "खतरनाक सङ्क्रामक रोग" सारेको एउटा अदालतले ठहर गरेको हो।

ती आठ जनामध्ये एक जनाको उक्त रोगकै कारण मृत्यु भएको बताइएको छ।

केही समयअघिसम्म भियतनाममा कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्धहरू सफलतापूर्वक लागु गरिएको थियो।

तर जुन महिनादेखि अतिसङ्क्रामक मानिएको डेल्टा भेरिअन्टका कारण त्यहाँ कोभिड तीव्र गतिमा फैलियो।

भियतनाममा पाँच लाख ३० हजार जनाभन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भइसकेका छन्। तीमध्ये १३,३०० जनाको मृत्यु भएको तथ्याङ्क छ।

अधिकांश सङ्क्रमितहरू राजधानी हो चि मिन्ह सिटीमा फेला परेका हुन्।

जुलाईमा २८ वर्षीय ट्री राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर भएको सा माऊ प्रान्त गएको बताइएको छ।

भियतनाममा कोभिड परीक्षण

तस्बिर स्रोत, EPA

सा माऊमा उनले स्वास्थ्य फारम भर्दा यात्रासम्बन्धी विवरणबारे असत्य कुरा लेखेको पाइएको थियो। अनि उनले आइसोलेशनसम्बन्धी नियम पनि पालना नगरेको पाइयो।

स्थानीय निकायले त्यतिबेला अरू प्रान्तबाट सा माऊ आउने सबै मानिसले तत्कालै २१ दिन अरूबाट अलग्गिएर बस्नुपर्ने नियम लागु गरेको थियो।

ट्रीलाई पछि कोभिड भएको पुष्टि भयो।

उनीबाटै उनको परिवारका अरू सदस्य र उनले भ्रमण गरेको एउटा कल्याणकारी संस्थाका कर्मचारीलाई कोरोनाभाइरस सरेको पाइयो।

एकदिने सुनुवाइपछि उनलाई जेल पठाइएको छ भने ८०० डलरबराबर जरिबाना तिराइएको छ।

कोभिड
Presentational grey line
कोभिड
Presentational grey line