कोरोना भाइरस उपचारः कुनै बेला 'एशियाका सबैभन्दा गम्भीर बिरामी' मानिएका एक विमानचालकको चेतावनी, 'हेलचेक्र्याइँ नगर्नुहोस्'

कोरोनाभाइरसको सङ्क्रमण भएपछि स्कटल्यान्डका स्टीभन क्यामरन भियतनाममा दुई महिना कोमा अर्थात् पूरै अचेत अवस्थामा परे। कोभिड महामारीबारे भियतनाममा सतर्कता बढाइँदा उनले उक्त भाइरसले कतिसम्म गर्न सक्छ भन्ने कुराको आफू प्रत्यक्ष उदाहरण भएको बीबीसीलाई बताएका छन्। उनले उक्त रोगबारे हेलचेक्र्याइँ नगर्न चेतावनी दिएका छन्।
आफ्नो घर स्कटल्यान्डभन्दा १०,००० किलोमिटर टाढा भियतनाममा कोभिड-१९ सँग सङ्घर्ष गरिरहँदा उनको जीवित रहने सम्भावना १० प्रतिशत रहेको बताइयो।
उनलाई ६८ दिन भेन्टिलेटरमा राखेर उपचार गरियो।
"मेरो शरीरका विभिन्न भागमा रगत जमेको थियो र मिर्गौला काम नगर्ने भएको थियो। अरू अङ्गहरूले पनि काम गरिरहेका थिएनन्। एउटा बिन्दुमा मेरो फोक्सोले १० प्रतिशतमात्रै काम गरिरहेको थियो," कोमाबाट बिउँतिएपछि स्टीभन क्यामरनले भने।
उनको अवस्था अत्यन्त नराम्रो भएकाले भियतनामका चिकित्सक, सरकारी निकाय र सञ्चारमाध्यम सबैले त्यसप्रति गहिरो चासो व्यक्त गरेका थिए। "मलाई एशियाकै सबैभन्दा सिकिस्त बिरामी भएको बताइएको थियो," उनी भन्छन्।"
कोरोनाभाइरस महामारीका माझ भियतनामका चिकित्सकहरूले उपचार गरेकामध्ये सबैभन्दा गम्भीर अवस्थाका बिरामी उनी नै थिए। बयालीय वर्षीय क्यामरनलाई बिरामी नम्बर ९१ भनेर चिनिन्छ।
उनको उपचारमा अझै लामो समय लाग्ने चिकित्सकहरूले बताएका छन्। उनी चाहिँ भाइरससँग निर्धक्क नहुन र हेलचेक्र्याइँ नगर्न अरूलाई चेतावनी दिन्छन्।
स्कटल्यान्डस्थित अस्पतालको शय्याबाट उनले बीबीसीसँग भने, "भाइरसले केसम्म गर्नसक्छ र त्यो कति गम्भीर हुनसक्छ भन्ने कुराको म जीवित उदाहरण हुँ। यसलाई उन्मूलन नगरेसम्म हामीहरू थाक्नु हुँदैन।"

'शव लैजाने तयारी'
कोमामा रहेको अधिकांश बेला क्यामरनको जीवन रक्षार्थ एउटा विशेष उपकरण प्रयोग गरिएको थियो।
उक्त उपकरणले बिरामीको शरीरबाट रगत लिएर त्यसमा अक्सिजन मिसाइदिन्छ र पुनः शरीरलाई उपलब्ध गराउँछ।
एउटा बिन्दुमा विदेश मन्त्रालयले उनको जीवित रहने सम्भावना १० प्रतिशत मात्रै भएको बताएको उनी संस्मरण गर्छन्।
"मेरा साथीले मेरो घर खाली गरे तथा शव लैजान अरूले जस्तो तहारी गर्छन् त्यस्तै गर्न थाले," हो ची मिन्ह सहरस्थुत अस्पतालमा हुँदै उनले बीबीसीसँग भनेका थिए।
दुःख खेप्नुपरे पनि क्यामरनले भियतनाममा बिरामी परेकोमा आफूलाई भाग्यमानी ठानेका छन्।
झन्डै साढे नौ करोड जनसङ्ख्या भएको भियतनाममा ६०० जति व्यक्ति सङ्क्रमित भएका छन् भने केवल तीन जनाको मृत्यु भएको छ। केही बिरामीहरूलाई सघन उपचार कक्षमा राखिएको छ।

तस्बिर स्रोत, Cho Ray Hospital
"पृथ्वीमा अन्यत्र कतै भएको भए भने म मरिसकेको हुन्थेँ। अरूहरूले ३० दिनपछि उपचार बन्द गरिसकेका हुन्थे," गत जुन महिनामा उनले बीबीसीलाई बताएका थिए।
उनी भियतनामी जनता र आफ्नो उपचारमा संलग्न चिकित्सकहरूप्रति कृतज्ञ भएको बताउँछन्।
अभूतपूर्व
स्कटल्यान्ड फर्किएपछि क्यामरनको श्वासप्रश्वास प्रणालीको उपचारमा संलग्न चिकिस्तक मनीष पटेलका अनुसार लामो समयसम्म त्यस्तो खालको कोमामा रहेर बाँच्नु 'अभूतपूर्व' हो।
डा. पटेलले बीबीसीसँग भने, "मानिसहरू सघन उपचार कक्षमा जानु नै म्यारथन दौडिनु जस्तै हो भन्ने गर्छन्। मलाई लाग्छ उनी एउटाभन्दा धेरै म्यारथन दौडिरहेका छन्।"
कोमामा परेपछि ३० केजी तौल गुमाएका उनी निरन्तरको उपचारपछि पनि अझै हिँड्न सङ्घर्ष गरिरहेका छन्।

तस्बिर स्रोत, Vietnam government
"जब म पहिलो पटक बिउँझिए मलाई 'के म फेरि हिँड्न सक्छु?' भन्ने लाग्यो। मलाई पक्षाघात भएको छ कि छैन, मैले थाहा पाइनँ। मेरो पैतालामा संवेदना थिएन।"
क्यामरनले 'अर्को वर्षको सुरुमा' आफू पुन: विमान उडाउन सक्ने अवस्थामा फर्किने लक्ष्य लिएका छन्।
तर उनको पुनर्स्थापना र उपचार लामो र जटिल हुनेछ।
त्यसबाहेक कोरोनाभाइरसको महामारीले निम्त्याएको ठूलो क्षतिका कारण एशियाको हवाई उद्योगमा रोजगारी समेत जोखिममा पर्न सक्ने ठानिएको छ।

तस्बिर स्रोत, EPA
























