कांग्रेस महाधिवेशन: संवैधानिक समय सीमाको हतारो तर वडा अधिवेशनमै अलमल

नेपाली कांग्रेस

तस्बिर स्रोत, NEPALICONGRESS.ORG

पार्टी अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाको दबावबीच सुरु हुन लागेको सत्ताधारी नेपाली कांग्रेसको वडा अधिवेशन पनि कम्तीमा २१ जिल्लामा प्रभावित भएको बताइएको छ।

देशभरका ६,७०० वडामा एकै दिन अधिवेशन गर्ने तयारी गरेको कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण २१ वटा जिल्लामा वडा अधिवेशनको मिति तय नगरेको जनाएको छ।

क्रियाशील सदस्यता टुङ्गो लागेका जिल्लामध्ये पनि करिब ८० प्रतिशत वडाहरूमा मात्रै शुक्रवार अधिवेशन हुन लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रतिनिधिले केन्द्रीय निर्वाचन समितिको समन्वय र अनुमतिमा भदौ १८ मा तोकिएको अधिवेशनलाई केही दिन ढिलो गर्न सक्ने उनले बताए।

"५६ जिल्ला मध्येको करिब ७०-८० प्रतिशत भूभागमा हुन्छ तर यति नै वडामा हुन्छ भन्ने चाहिँ छैन," शुक्रवारदेखि सुरु भएको अधिवेशनबारे उनले भने।

कांग्रेसले यो पटकबाट क्रियाशील सदस्यले वडा अधिवेशनमा मात्रै भाग लिन पाउने व्यवस्था गरेको छ। उनीहरूले गाउँ वा नगर अधिवेशनका लागि वडाबाट प्रतिनिधि छनौट गर्नेछन्।

भदौ २७ गते गाउँ र नगर स्तरको अधिवेशन गर्ने कार्यसूची रहेका कारण त्यसअघि नै देशभर वडा अधिवेशन नसके महाधिवेशनको कार्यपालिका प्रभावित हुनसक्ने चिन्ता कांग्रेसका कतिपय नेताहरूले गरेका छन्।

तर प्रवक्ता शर्मा २७ गते अगाडि नै बाँकी जिल्लाहरूमा पनि अधिवेशन सम्पन्न हुने दाबी गर्छन्।

"जहाँको क्रियाशील सदस्यताको अन्तिम टुङ्गो भएर सार्वजनिक भइसकेको छैन त्यहाँको सार्वजनिक भइसकेपछि प्रतिनिधिहरू जिल्ला जानुहुन्छ र २७ गते गाउँ नगरको अधिवेशनमा सबैको भेट हुने गरी त्यो भन्दा अगाडि वडा अधिवेशन सक्ने तयारी गरिरहेको अवस्था हो," प्रवक्ता शर्मा भन्छन्।

यसअघि देशभरका जिल्लामा वडामा एकसाथ अधिवेशन सम्पन्न गर्ने भनिए पनि सदस्यता विवादका कारण धेरै जिल्लामा वडा अधिवेशन प्रभावित भएको हो।

सदस्यतामा किन धेरै विवाद?

क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसले महाधिवेशन पटक पटक पछि सार्दै आएको छ।

कांग्रेसको अघिल्लो महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेको रामचन्द्र पौडेल नेतृत्वको समूहले धेरै ठाउँमा क्रियाशील सदस्यताबारे प्रश्न उठाउने गरेको छ।

नेपाली कांग्रेस

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बिहीवारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विकल्पहरूबारे छलफल भएको बताइएको छ

पौडेल पक्षले क्रियाशील सदस्यतामा पार्टी नेतृत्वले अनियमितता गरेकोसमेत आरोप लगाउँदै आएको छ।

बिहीवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन आफूहरूले सङ्घर्ष खेप्नु परिरहेको बताए।

"अभूतपूर्व रूपमा क्रियाशील सदस्यको सङ्ख्या आयो, पार्टीभित्र ल्याइयो वास्तवमा यसले गर्दा हाम्रो पार्टीमा निष्ठावान् साथीहरू पीडित भएको अनुभव पनि गर्नु परिरहेको छ," उनले भने।

पौडेल पक्ष नेताहरू पार्टी कार्यालयमै धर्नामा बसेपछि उनीहरूको मागमा क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्ने प्रतिबद्धता काँग्रेस नेतृत्वले गरेको थियो।

अहिले सदस्यताको सबैभन्दा धेरै विवाद प्रदेश २ मा देखिएको छ। स्थानीय नेताहरूबीच सहमति हुन नसक्दा प्रदेश २ का आठ वटै जिल्लाबाट कांग्रेसका क्रियाशील सदस्यहरूको सूची सार्वजनिक हुन सकेको छैन।

आफू अनुकूलका सदस्य बनाएर पार्टीको स्थानीय देखि केन्द्रीय नेतृत्वसम्म पुग्ने नेताहरूको स्वार्थले क्रियाशील सदस्यतामा विवाद हुने गरेको कांग्रेस नेता रामकृष्ण यादवको बुझाइ छ।

"विधान र नियमावलीलाई मिचेर आफू मात्रै नेतृत्वमा पुग्नका लागि अरूलाई सखाप गर्ने र पार्टी कब्जा गर्ने क्रियाकलापले सदस्यता विवाद ल्याएको छ," उनी भन्छन्।

संवैधानिक प्रश्न

विसं २०७२ फागुनमा १३ औँ महाधिवेशन गरेको कांग्रेसले भदौ २३ भित्र अधिवेशन सम्पन्न गर्न नसके कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने कतिपयले बताउँदै आएका छन्।

संविधानको धारा २९६ ले राजनीतिक दलहरूको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था राख्न भनेको छ। विशेष परिस्थितिमा ५ वर्षभित्र हुन नसके त्यसको ५ महिना थप गर्न सकिने व्यवस्था संविधानमा छ।

कांग्रेसले अघिल्लो अधिवेशन सम्पन्न गरेको पाँच वर्ष र ६ महिना भदौ २३ गते पुग्ने भएकाले त्यसअघि नै महाधिवेशनको कार्यक्रम सुरु गर्न लागिएको प्रवक्ता शर्माले बताए।

"भदौ २३ पूर्व नै महाधिवेशनको प्रक्रिया सुरु भएपछि महाधिवेशन चाहिँ सर्वोच्चमा कतिपय मुद्दामा हेर्दाहेर्दैमा भनेजस्तै महाधिवेशन चल्दा चल्दैमा रहेको अवस्था हुन्छ," उनले भने।

शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

निर्वाचन आयोगले भने कांग्रेसले अधिवेशनबारे आयोगलाई कुनै जानकारी नदिएको बताएको छ। हालसम्म कुनै उजुरी नपरेकाले अधिवेशन समयमै सम्पन्न भए नभएको विषयमा चासो नदिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

"हामीले दलहरूलाई समयमै अधिवेशन सक्न सूचना निकालेरै पनि ताकेता गर्दै आएका छौँ। कुनै दल विशेषको अधिवेशन नभएको उजुरी आएको छैन। आएको अवस्थामा संविधान र कानुन बमोजिम हेर्छौँ," थपलियाले भने।

कांग्रेसको पौडेल समूहले पार्टी नेतृत्वले नचाहेका कारण महाधिवेशन समयमा गर्न नसकिएको आरोप लगाउँदै आएको छ।

"पाँच वर्ष छ महिनाभित्र वडाबाट चुनावको सुरुवात बल्लबल्ल गर्न हामी गइरहेका छौँ कमसेकम पार्टी अधिवेशनमा गएको छ," नेता पौडेलले भने।

तीन पटकसम्म पछि सरेको कांग्रेस महाधिवेशन अन्तर्गत आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन तय गरिएको छ। त्यसअघि कात्तिक १२ भित्र प्रदेश असोज १० भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कांग्रेस जिल्ला सभापतिहरू भन्छन्, ‘देउवाले विधिविधान मिचे’