आइडा आँधी: अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी

छाल

तस्बिर स्रोत, Reuters

अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ।

मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन्।

तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन्।

दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन्।

न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको थियो तर कोही पनि बिरामी घाइते भएनन्।

आँधीको प्रभाव कस्तो छ?

लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन्।

हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् भने अन्य व्यक्तिहरूलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ।

आइडाले न्यूअर्लियन्सको बाढी प्रतिरोधी क्षमताको पनि परीक्षण गर्नेछ।

न्यूअर्लियन्स

तस्बिर स्रोत, Brandon Bell/Getty Images

तस्बिरको क्याप्शन, न्यूअर्लियन्सका खाली सडक

कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो।

राष्ट्रपति बाइडनले आइडाले 'जीवन जोखिममा पार्ने' भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गरेका छन्।

उनले दशौँ हजार मानिसका निम्ति पुनः बिजुलीको आपूर्ति सहज बनाउन हप्तौँ लाग्न सक्ने बताए।

आइडाले सप्ताहान्तमा मेक्सिकोको खाडीस्थित न्यानो पानी भएका क्षेत्रबाट शक्ति आर्जन गरेको थियो।

अस्पतालको छानो

तस्बिर स्रोत, Magen Cheramie/Facebook

तस्बिरको क्याप्शन, आँधीले अस्पतालको छाना उडाइदिएको छ

उसले न्यूअर्लियन्सको दक्षिणमा रहेको पोर्ट फोर्सन् नजिकको जमिनमा क्याटगोरी फोरको आँधीका रूपमा अवतरण गरेको थियो जसको अर्थ यसले गम्भीर क्षति पुर्‍याउने आँकलन गरिएको थियो।

एउटा ट्विटर सन्देशमा अमेरिकी राष्ट्रिय मौसम विभागले न्यूअर्लियन्सका बासिन्दालाई घरभित्रका झ्याल नभएका कोठामा जान र भित्रै बसिरहन सुझाव दिएको छ।

आँधीका कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ।