माधवकुमार नेपाल : नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चयन

माधवकुमार नेपाल

तस्बिर स्रोत, MK Nepal Facebook

नेकपा एमाले फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्।

आइतवार बसेको संसदीय दलको बैठकले सर्बसम्मत नेपाललाई संसदीय दलको नेता चयन गरेको हो।

त्यस्तै राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएको सांसद गोपाल बहादुर बमले जानकारी दिए।

प्रमुख सचेतक र सचेतक लगायतका जिम्मेवारी भने दलका नेताले चयन गर्ने सहमति भएको नेत्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

निर्वाचन आयोगका अनुसार उक्त पार्टीका प्रतिनिधिसभामा २३ सांसद छन् भने राष्ट्रियसभामा सात जना सांसद छन्।

निर्णय गर्नुअघि दलको बैठकलाई सम्बोधन गर्दै नेपालले न्यायपूर्ण समाज निर्माण गर्ने अभियान पुरा गर्नका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको तर अहिले नै कुनै पार्टीसँग एकता भने नगर्ने स्पष्ट पारे।

''पार्टी एकता हुने छैन भनेर म प्रस्ट पार्न चाहन्छु। कति चोटि भन्नुपर्छ … प्रस्ट पार्न चाहन्छु। यही सन्देश जाओस् मिडियाबाट किनभने कसै कसैले के भन्ने गर्‍या छन् भने अरूको टाँग मुनि छिर्न गइरहेका छन्, अरूको कार्यकर्ता बन्न गइरहेका छन्, तुरुन्त अर्को पार्टीमा विलीन हुन गइरहेका छन्। ती सबै वाहियात प्रचार हुन,'' नेपालले आफूहरूको पार्टीको सङ्गठन टोल टोलमा रहेको दाबी गर्दै भने।

अरू के निर्णय भयो?

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठकले संसदीय दलको विधान निर्माण गर्ने जिम्मेवारी पाँच जना नेतालाई दिएको छ।

विधान मस्यौदा कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरू, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी छन्।

बैठकले सरकार गठन लगायतका विषयमा पार्टीका तर्फबाट निर्णय लिने एकलौटी अधिकार नेता नेपाललाई प्रत्यायोजन गरेको नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले जानकारी दिए।

सरकार गठनका लागि पहल भइरहेको पहलबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले बढीमा अबको ''चार पाँच दिनमा'' त्यो सम्पन्न हुने बताए।

हालसालै नेकपा एमालेबाट मुख्य मन्त्री बनेका नेताहरूको भविष्यबारे सोधिएको प्रश्नमा खतिवडाले दल विभाजन भएसँगै आफूहरूले गठबन्धनकै मुख्य मन्त्री बनाउन पहल गर्नु स्वाभाविक रहेको बताए।

''…त्यस कारणले अहिले बन्नुभएका मुख्य मन्त्रीहरू नेकपा एकीकृत समाजवादीमा बस्नुभयो गठबन्धनले त्यसै अनुसार सोच्छ। होइन वहाँहरू बस्नुभएन भने गठबन्धनले आफ्नो मुख्य मन्त्री ल्याउन प्रयत्न गर्छ,'' उनले भने।

नेकपा एकीकृत समाजवादीका सांसदहरू

माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरू, प्रेम‍बहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्ण कुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र के.सी., धनबहादुर बुढा, गोपाल बहादुर बम, पार्वती कुमारी विशुंके, लक्ष्मी चौधरी, विना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्रकर्मा, नन्दा चपाई, शान्ति कुमारी अधिकारी जिसी।