केपी शर्मा ओलीः प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन प्रश्न

ओली

तस्बिर स्रोत, PARLIAMENT/YOUTUBE/SCREENGRAB

सर्वोच्च अदालतद्वारा पुनः स्थापित प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको साझा नीति तथा कार्यक्रमको आलोचना गरेका छन्।

सरकारले जारी गरेको उक्त दस्ताबेज संसद् छलेर सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

त्यसबाहेक उनले आफ्नो सम्बोधनका क्रममा सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा अस्पष्ट कार्यक्रमहरूको फेहरिस्त सुनाएको र तीमध्ये केही आफूले नेतृत्व गरेको सरकारले नै गरेको दाबी गरे।

सम्बोधनका क्रममा उनले एमसीसी सम्झौतादेखि भ्रष्टाचार निवारणसम्मका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारलाई सुझाव दिन भ्याए।

गठबन्धनको पद्धतिले देशलाई कहाँ लान्छ?

आफ्नो मन्तव्यका क्रममा ओलीले शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश "लोकतान्त्रिक संस्कृति नभएर गठबन्धनको संस्कृतितिर" जान थालेको बताउँदै त्यसले विकासको अभियानलाई हाँक्न नसक्ने बताए।

"विकासको अभियानलाई हाँक्न त एउटा चिन्तनका साथ, एउटा दृष्टिकोणका साथ, एउटा गन्तव्य तोकेर उद्देश्य तर्फ हिँडेको स्वस्पष्ट मार्गचित्र भएको र त्यसैअनुसार ती नीति र ती गन्तव्यहरूलाई पुष्टि गर्ने खालको काममा सँगै बिनाछलकपट, बिनास्वार्थ ती राष्ट्रिय उद्देश्यमा केन्द्रित सरकार चाहिन्छ," उनले भने।

देउवा

तस्बिर स्रोत, RSS

सरकारको एक महिनाको समय खेर गइसके पनि चारजना मात्रै मन्त्री बनाउन सफल भएको भन्दै कटाक्ष गरे।

"भोटोको फेरो समातेर आँगनमा नाच्दानाच्दै जाने भो तपाईँहरूको समय। माया लाग्छ," देउवातर्फ हेर्दै उनले भने।

सरकारले काम गरेर आफ्ना भनाइलाई असफल बनाइदिन समेत संसद्‌मा उनले चुनौती दिए।

एमसीसी बिर्सनुभयो?

संसद्‌मा आफ्नो सम्बोधनका क्रममा ओलीले नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीचको सम्झौता बिर्सिएको हो कि भनेर प्रश्न गरेका थिए।

"अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो जस्तो लाग्छ। एमसीसीबारे त संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम … एमसीसी बिर्सनुभएको कि क्या हो?"

एमसीसीमा सरकारले के गर्न चाहन्छ भन्ने कुरा नेपाली जनताले जान्न चाहेको ओलीले बताए।

देउवा

तस्बिर स्रोत, NTV/Screengrab

तस्बिरको क्याप्शन, सरकारले गत हप्ता साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो

"'तपाईँ त बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ। १६५ सीट तपाईँको साथमा छ। कसैको मद्दत चाहिँदैन। त्यो १६५ को सबल जत्थाले के भन्छ?" ओलीले व्याङ्ग्यात्मक प्रश्न गरे।

"त्यही भएर म भन्छु जस्केलाबाट छिर्ने बानी नगरौँ।"

त्यसबाहेक भारतसँग वार्ता गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपालको क्षेत्र फिर्ता ल्याउँछु भन्नुको सट्टा त्यसलाई साझा न्यूनतम कार्यक्रममा समस्याका रूपमा सूचीकृत गरिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे।

"'के लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्या हो? हाम्रो अभिन्न भूभाग, हाम्रो पवित्र भूभाग समस्या हुन्छ?" उनले भने।

"यो समस्या हो भने त तपाईँले छोडिदियो भने समस्या समाधान होला नि। स्पष्ट रूपमा हाम्रो भूमि हामी फिर्ता लिन्छौँ भन्नुपर्छ कि यो समस्या हो समाधान गर्छौँ भन्नुपर्छ?"

निःशुल्क खोप यो सरकारले उपलब्ध गराउन लागेको हो?

सरकारले चैत मसान्तसम्ममा सबैलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको भनेर आफ्नो कार्यक्रम उल्लेख गरेको बताउँदै उनले त्यसबारे पनि टिप्पणी गरे।

"निःशुल्क खोपको व्यवस्था गर्न लागेको हो, अहिले?" हाँस्दै उनले भने, "यो त पोहोरकै कुरा होइन?"

संसद

तस्बिर स्रोत, RSS

निःशुल्क खोप कार्यक्रम निरन्तरता दिने भनिनुपर्ने उनको भनाइ थियो।

आफ्नो सरकारले व्यवस्था गरिदिएको खोप लगाइदिन चैतसम्म कुर्नु नपर्ने उनले तर्क गरे।

चैतसम्म भनेर फागुनमा हुने भनिएको निर्वाचन गर्न नखोजेको हो भनेर ओलीले देउवालाई प्रश्न गरेका थिए।

"कोभिड छ भनेर फागुनको निर्वाचन नगर्न खोजेको हो? कोभिड छ भनेर, खोप चालु छ भनेर? असंवैधानिक काम नगर्नुहोला । म पहिले नै सजग गराउन चाहन्छु।"