अफगानिस्तान: दुई दिनमा तालिबानद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा

अफगानिस्तान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हेरतमा अफगान सुरक्षाकर्मी

तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ।

यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार गर्न सक्ने बमवर्षक प्रयोग गरिएको र त्यसले लडाकुहरूतर्फ ठूलो क्षति पुर्‍याएको बताएका थिए।

बीबीसीसँग कुरा गर्दै रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अमेरिकी बी-फाइभटू हवाईजहाजले गरेको आक्रमणमा २०० भन्दा बढी विद्रोही मारिएको बताए।

यसअघि तालिबानले उनीहरूले सेबेरगान शहरमा नियन्त्रण कायम गरेको जनाएका थिए।

दुई दिनमा लडाकुहरूको नियन्त्रणमा पुगेको त्यो दोस्रो प्रान्तीय राजधानी हो।

शुक्रवार दक्षिण पश्चिममा अवस्थित निम्रोज प्रान्तको राजधानी जारन्जमाथि लडाकुहरूले नियन्त्रण कायम गरेका थिए।

तर अमनले सरकारी फौज अझै त्यस क्षेत्रमा रहेको उनीहरूले उक्त शहरलाई 'चाँडै' पुन: नियन्त्रणमा लिने बताएका छन्।

२० वर्षको सैनिक कारबाहीपछि विदेशी फौजहरू फिर्ता हुन लाग्दा तालिबानहरूले अफगानिस्तानमा आफ्नो पकड मजबुत बनाउँदै लगेका छन्।

उत्तरमा कुन्दुज र दक्षिणमा लस्कर गामा पनि भीषण लडाइँ भइरहेका खबर छन्।

देशका ग्रामीण इलाकाहरूमा कब्जा जमाउन सफल भएपछि हालैका हप्ताहरूमा तालिबानहरूले प्रमुख नगर र शहरहरूलाई निशाना बनाइरहेका छन्।

अफगान सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

भीषण लडाइँ

सेबेरगान पूर्व अफगान उपराष्ट्रपति तथा युद्ध सर्दार अब्दुल रासिद दोस्तुमको गढ हो र उनका समर्थकहरूले उग्रवादी विरूद्धको लडाइँको नेतृत्व गरिरहेका छन्।

स्थानीय सञ्चारमाध्यमले अफगान फौजहरूलाई सहयोग गर्न १ सय ५० जना मानिसहरू उक्त शहरमा गएको जनाएका छन्।

तालिबानहरूले भीषण भिडन्तपश्चात् शुक्रवार गभर्नरको परिसरमा नियन्त्रण कायम गरेका थिए तर पछि अफगान फौजले त्यसलाई फर्काउन सफल भएको थियो।

तर क्षेत्रीय परिषद्का प्रमुख बबुर इस्चीले उग्रवादीहरूले अहिले पनि लडाँइ चलिरहेको एउटा सैनिक शिविर बाहेक शहरका सम्पूर्ण क्षेत्र कब्जामा लिएको बताए।

अफगान सुरक्षाकर्मी

तस्बिर स्रोत, Reuters

अफगान रक्षा मन्त्रालयका प्रवक्ता अमनले बीबीसीसँग कुरा गर्दै विमानस्थलसहित अझै पनि सरकारी फौजहरूको 'बहुमत रहेको' र सेबेरगान निकट भविष्यमा 'आतङ्कवादीहरूबाट अलग हुने' बताएका छन्।

तालिबान अधिकारीहरूले उनीहरूले सेबेरगानस्थित एउटा कारागारलाई नियन्त्रणमा लिएको जनाएका छन्।

सामाजिक सञ्जालमा राखिएको भिडिओमा सयौँ बन्दीहरू शहरको कारागारबाट बाहिर निस्किरहेको देख्न सकिन्छ।

हालैका हप्ताहरूमा तालिबानहरूले छिमेकी देशहरूसँगका महत्त्वपूर्ण सीमा नाका पनि कब्जा गरेका छन्।

उक्त समूहले पाकिस्तानसँगको सीमा बन्द गरेको छ र तस्बिरमा दर्जनौँ अफगान नागरिक पाकिस्तानी क्षेत्रमा फसेको देख्न सकिन्छ।

खराब सुरक्षा अवस्थालाई ध्यान दिँदै संयुक्त राज्य अमेरिका र यूके सरकारले आफ्ना नागरिकलाई तुरुन्तै अफगानिस्तान छाड्न भनेका छन्।