कोभिड नेपालः सङ्क्रमण पुष्टि दर भारतको भन्दा चारगुना बढी, घटाउन के गर्नुपर्छ

तस्बिर स्रोत, EPA
नेपालमा कोरोनाभाइरस सङ्क्रमित मानिसको कुल सङ्ख्या सात लाख र मृत्यु हुनेको सङ्ख्या १०,००० पुग्न लागेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार अपवादबाहेक अझै सङ्क्रमण पुष्टि दर २० प्रतिशतभन्दा घट्न सकेको छैन। अर्थात् १०० जना मानिसको परीक्षण गर्दा सरदर २० जनामा कोभिड पुष्टि हुने गरेको छ।
सोमवारकै तथ्याङ्क हेर्दा २४ घण्टाभित्र परीक्षण गरिएका नमुनामध्ये २२ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पाइयो।
अतिसङ्क्रामक मानिएको डेल्टा भेरिअन्टको उत्परिवर्तन हालै नेपालमा पनि पुष्टि भएपछि कोभिड महामारीबारे थप चिन्ता र चासो व्यक्त भइरहेका छन्।
दक्षिण एशियामा सङ्क्रमण र मृत्यु
भारतमा मङ्गलवार बिहानसम्म कुल ३,१६,९५,९५८ कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने कोभिड-१९ बाट ४,२४,७७३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।
भारतपछि बाङ्ग्लादेशमा हालसम्म कुल १२,८०,३१७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २१,१६२ जनाले ज्यान गुमाएका छन्।
पाकिस्तानमा कुल सङ्क्रमण सङ्ख्या १०,३९,६९५ पुगेको छ भने २३,४६२ को मृत्यु भएको छ।
नेपालमा सोमवार अपराह्णसम्म कुल सङ्क्रमितको सङ्ख्या ६,९९,६४९ पुगेको थियो भने ९,८९८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।

तस्बिर स्रोत, Reuters
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार श्रीलङ्कामा हालसम्म ३,१३,७६९ जना कुल सङ्क्रमित छन् भने ४,५६६ जनाको मृत्यु भएको छ।
अफगानिस्तानमा १,४७,९८५ जना सङ्क्रमित भएका छन् भने ६,७७४ जनाको मृत्यु भएको छ।
माल्दिभ्समा ७७, ६३३ जना कुल सङ्क्रमित छन् भने २२१ जनाको मृत्यु भएको छ।
दक्षिण एशियाली मुलुकमध्ये भुटानमा सबैभन्दा कम सङ्क्रमण र मृत्यु भएको तथ्याङ्क छ।
त्यहाँ हालसम्म २,५२४ जना मात्र सङ्क्रमित छन् भने कोभिड-१९ का कारण दुई जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ।
सङ्क्रमण दर कस्तो छ?
दक्षिण एशियाली मुलुकमध्ये बाङ्ग्लादेशमा अहिले सङ्क्रमण लर सबैभन्दा उच्च देखिएको छ।
अहिले तेस्रो लहर खेपिरहेको बाङ्ग्लादेशमा सङ्क्रमण पुष्टि दर ३० प्रतिशत रहेको बीबीसी बाङ्ग्लाले बताएको छ।
नेपालमा पछिल्ला केही सातायता १९ देखि २३ प्रतिशतको बीचमा सङ्क्रमण दर पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

कोभिड महामारीको चौथो लहर झेलिरहेको पाकिस्तानमा अहिले देशव्यापी औसतमा ८ प्रतिशत सङ्क्रमण दर पाइएको बीबीसी उर्दूले जनाएको छ।
केही साताअघिसम्म संसारमै ठूलो सङ्ख्यामा दैनिक सङ्क्रमित र मृतकको सङ्ख्या पुष्टि हुने गरेको भारतमा अहिले त्यो ओरालो लाग्ने क्रममा छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो समय त्यहाँ पाँच प्रतिशतभन्दा कम सङ्क्रमण दर देखिएको छ।
नेपालको अवस्थाबारे विज्ञ के भन्छन्
नेपालमा सङ्क्रमण नियन्त्रण तथा रोकथाम र खोप कार्यक्रमको गतिलाई लिएर विज्ञले असन्तोष व्यक्त गरेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेले बीबीसीसँग भने, "सङ्क्रमण दर अझै पनि २० प्रतिशत देखिनु भनेको दक्षिण एशियामा नेपालको अवस्था गम्भीर नै छ भन्ने हो।"
"यसले नियन्त्रणमा नरहेको देखाउँछ। स्वीकार्य तहमा भन्नलाई सङ्क्रमण दर पाँच प्रतिशतभन्दा मुनि नै हुनुपर्छ, जस्तो कि अहिले भारतमा छ।"

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY
सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी सरकारले अझै पनि पर्याप्त परीक्षण गर्न नसकेको बताउँछन्।
"अझै पनि २० प्रतिशतभन्दा बढी सङ्क्रमण देखिनु भनेको त परीक्षण गर्नुपर्ने मानिसमध्ये एकदम कमले परीक्षण गराउन पाएका रहेछन् भन्ने थाहा हुन्छ।"
"यसको अर्थ ९० देखि ९५ प्रतिशतसम्म जनसङ्ख्या सङ्क्रमित नभएसम्म यो सङ्ख्या बढिरहन्छ। महामारी आफैँ कम हुने अवस्थामा जाँदैन," उनले थपे।
डा. पाण्डेको बुझाइमा पनि सरकारले हालसम्म परीक्षण गर्दै आएकामध्ये 'स्वस्थ्य जनसङ्ख्या'को अंश बढी छ।
नेपालले अब के गर्नुपर्छ?
जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराउनुका साथसाथै परीक्षण तथा खोप कार्यक्रमलाई व्यापक पार्नुपर्ने विज्ञहरूको सुझाव छ।
"कि त खोप दिने कामलाई व्यापक बनाउनुपर्यो कि त उच्च जोखिममा पर्ने समूहलाई पर्याप्त मात्रामा खोप दिन सक्नुपर्यो। अनि मात्रै सफल भइन्छ," सङ्क्रामक रोग विशेषज्ञ सुवेदी सुझाउँछन्।

तस्बिर स्रोत, EPA
आउँदा दिनमा सङ्क्रमण अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्वतयारी अगाडि बढाउनुपर्नेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक पाण्डेको जोड छ।
"अब चाडवाडको समय पनि आउन लागेको छ। त्यो भएर सरकारी तवरबाटै निजी अस्पताल समेतलाई तयारी अवस्थामा राख्नुपर्छ," उनले भने।
प्रतिबन्धात्मक कदमहरू खुकुलो पारिएसँगै जनस्वास्थ्यका मापदण्डलाई लिएर लापरवाही देखिन थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
"नेपालमा सङ्क्रमण घटेर नभई अर्थतन्त्रलाई चलायमान बनाउन र जनजीविकालाई सहज बनाउन निषेधाज्ञा हटाइएको हो। यो कुरा मानिसले बुझ्नुपर्यो र सरकारले पनि बुझाउन सक्नुपर्यो।"








