चीन‍-अमेरिका विवादः अमेरिकी अधिकारी चीन भ्रमणमा, बेइजिङलाई 'दानवीकरण' गरेको आरोप

शीए फङ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनका उपविदेशमन्त्री शीए फङले अमेरिकाबारे टिप्पणी गर्दै एउटा विज्ञप्ति जारी गरेका छन्

जो बाइडन राष्ट्रपति भएपछि उनको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको एउटा उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वलाई "दानवीकरण" गर्ने काम रोक्न भनेको छ।

चीनका उपविदेशमन्त्री शीए फङका अनुसार अमेरिकाले चीनलाई "कल्पित शत्रु" का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा "गतिरोध" आएको हो।

शीए अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँग वार्तामा छन्। शर्मन धेरै महिनापछि चीन भ्रमण गर्ने वरिष्ठतम अमेरिकी अधिकारी हुन्।

बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन्।

चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार शीएले अमेरिकाले "आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिन चाहेको" बताएका थिए।

"यो यदि चीनको विकास रोकिँदा ... अमेरिका पुनः महान् बन्छ भने जस्तै हो।"

यसअघि अमेरिकी विदेश मन्त्रालयले "अमेरिकी हितलाई अगाडि बढाउन तथा... सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न" आफूले खुल्ला वार्तालापको अपेक्षा गरेको बताएको थियो।

अमेरिका-चीन

सोमवार सम्पन्न हुने दुईदिने भ्रमणका क्रममा शर्मनले दुवै दिन पूर्वोत्तर ट्येन्जिन सहरमा व्यतीत गर्दैछन्।

धेरैले अमेरिका-चीनको यो वार्तालाई बाइडन र सी जिन्पिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिएका छन्।

केही समयदेखि दुई देशबीच तनाव बढेको छ।

गत साता चीनले केही अमेरिकी नागरिक र संस्थालाई प्रतिबन्ध लगाएको थियो। त्यसमा भूतपूर्व वाणिज्यमन्त्री विल्बर रस पनि परेका छन्।

बाइडन सरकारले हङ्‌कङमा व्यवसाय गर्ने सम्बन्धमा अमेरिकी व्यापारिक समुदायलाई चेतावनी दिएपछि चीनले प्रतिबन्ध घोषणा गरेको थियो।