टोक्यो ओलिम्पिक्स: उद्घाटन समारोहमा पहिलो पटक म्युनिख हमलाका मृतकको सम्झना, सन् १९७२ मा के भएको थियो?

तस्बिर स्रोत, Getty Images
जर्मनीको म्युनिख ओलिम्पिक्समा भएको त्रासदीपूर्ण हमलाका पीडितहरूलाई घटनाको झन्डै आधा शताब्दीपछि टोक्यो ओलिम्पिक्सको उद्घाटन समारोहमा स्मरण गरिएको छ।
सन् १९७२ मा प्यालेस्टिनी बन्दुकधारीबाट मारिएका ११ जना इजरेली खेलाडीहरूको सम्झनामा मौन धारण गरिएको थियो।
पीडितका परिवारहरूले वर्षौँदेखि ओलिम्पिक्स आयोजकहरूलाई खेल मेलाको उद्घाटनमा सम्झन आग्रह गरे तापनि त्यस्तो प्रस्ताव अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आईओसीबाट बारम्बार अस्वीकृत भएको थियो।
दुईजना मृतकका श्रीमतीहरूले भने, "अन्तत: न्याय भयो।"
शुक्रवारको समारोहमा उपस्थित अन्की स्पिट्जर र इलाना रोमानोले भने, "हामीले ४९ वर्ष सङ्घर्ष गर्यौँ र कहिल्यै हार खाएनौँ।"
सन् १९७२ को घटना के थियो?
५ सेप्टेम्बर १९७२ मा भएको म्युनिख नरसंहारलाई ओलिम्पिक इतिहासकै सबैभन्दा अँध्यारोमध्येको अध्यायको रूपमा लिइन्छ।
त्यसबेला ओलिम्पिक ग्रामभित्रै इजरेली टोलीका ११ सदस्यलाई ब्य्ल्याक सेप्टेम्बर ग्रुपका प्यालेस्टिनी बन्दुकधारीहरूले बन्धक बनाएका थिए।
दुईजनालाई तत्कालै मारिएको थियो भने अन्यको मृत्यु पश्चिम जर्मनीका प्रहरीसँग नजिकैको एक हवाई अड्डामा गोली हानाहानका बेला भएको थियो।
हमलाकारीहरूले उनीहरूलाई देशबाहिर लैजाने प्रयास गरेका थिए।
"ओलिम्पिक्स खेलका बेला ज्यान गुमाउनेहरूलाई हामी सम्झन्छौँ," एकजना प्रस्तोताले शुक्रवारको समारोहमा भने।
"एउटा समूह हाम्रो स्मरणमा अझै बलियोसँग बसेको छ हामी खेलमा ज्यान गुमाउने सबैको पक्षमा छौँ- सन् १९७२ को म्युनिख ओलिम्पिक्स खेलका इजरेली प्रतिनिधिमण्डलका सदस्यहरू," ती प्रस्तोताले त्यसो भनिरहँदा रङ्गशाला अँध्यारो भयो र त्यसका केही ठाउँमा मधुरो निलो प्रकाश बालिएको थियो।
स्वागत
त्यस कदमलाई इजरेली प्रधानमन्त्री नफ्ताली बेनेटले प्रशंसा गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, "म यो महत्त्वपूर्ण र ऐतिहासिक क्षणको स्वागत गर्दछु। उनीहरूको सम्झना समृद्ध रहिरहोस्।"
सन् २०१२ को लन्डन गेम्समा उक्त हमलाको ४० वर्ष पुग्दा एक मिनेटको मौन धारणको आग्रहलाई अस्वीकार गरेपछि आईओसीले आलोचना खेपेको थियो।

तस्बिर स्रोत, Getty Images
आयोजकहरूले त्यस्तो समारोह उनीहरूको सम्मान र सम्झनाका लागि 'उपयुक्त' नभएको बताएका थिए।
सन् २०१६ मा आईओसीले खेलका बेला ज्यान गुमाउनेहरूलाई सम्झनका लागि रियो ओलिम्पिक ग्राममा एउटा 'शोक व्यक्त गर्ने स्थल' तयार पारेको थियो।
टोक्योमा शुक्रवारको सम्झना हेरेपछि श्रीमती स्पिट्जर र श्रीमती रोमानोले आफूहरूले आँसु थाम्न नसकेको प्रतिक्रिया दिएका छन्।
ती विधवाहरूले थपे, "हामीहरू यही क्षण पर्खिराखेका थियौँ।"










