माथिल्लो तामाकोशी जलविद्युत् आयोजना: उद्घाटन भइसकेको ४५६ मेगावाटको आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन कहिले?

तस्बिर स्रोत, utkhpl
केपी शर्मा ओलीले प्रधानमन्त्री रहँदा उद्घाटन गरेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले "भदौ मसान्त वा असोजको सुरु"सम्म व्यावसायिक उत्पादन थाल्ने अधिकारीले बताएका छन्।
स्वदेशी पुँजी र व्यवस्थापनमा सम्पन्न गरिएको नेपालको हालसम्मकै ठूलो आयोजना उद्घाटन भएको दुई साता नबित्दै समस्या देखिएको विवरण आएका छन्।
पूर्ण रूपमा आयोजना सञ्चालनमा ल्याउन अझै केही साता लाग्ने अपर तामाकोशी हाईड्रोपावर लिमिटेडका अधिकारीहरूले जनाएका छन्।
"हतार गरेर उद्घाटन भएको" हुँदा परीक्षण चरणमै आयोजनाले उत्पादन रोक्नुपरेको कतिपयले टिप्पणी गरेका छन्।
छ वटा युनिट रहेको आयोजनाले लगभग १५ दिनको अन्तरालमा दुई युनिटबाट उत्पादन गरिरहेको जनाएको छ।
केही समस्या देखिए पनि त्यो "ठूलो विषय नरहेको" लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।
आयोजनको संरचना निर्माणको पाटोको परीक्षण "सफल देखिएको" र मेकानिकल अनि इलेक्ट्रिक पाटामा आउने समस्या भने "सामान्य रहेको" उनले दाबी गरे।
पछिल्लो अवस्था कस्तो छ ?
सत्ताबाट बाहिरिनुभन्दा केही दिनअघि मात्रै ओलीले उद्घाटन गरेको आयोजना हाल परीक्षणकै चरणमा रहेको बताइएको छ।
दुई युनिट प्रणालीमा जोडिएको र त्यसमध्ये एउटाबाट ७६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
दोस्रो युनिटको भने बुधवारबाटै 'लोड टेस्ट' सुरु गर्न लागिएको श्रेष्ठले जानकारी दिए।

तस्बिर स्रोत, NEA
"परीक्षणकै क्रममा एक पटक परीक्षण गरिसकेपछि बीचमा रोकेर चेकजाँच गर्नुपर्ने हुन्छ। यो सामान्य कुरा हो," पछिल्लोपटक देखिएको समस्याबारे उनले भने।
त्यस्तै दुईमध्ये एक युनिटको ट्रान्सफर्मरमा समस्या आएको तर त्यो समाधान भइसकेको श्रेष्ठले बताए।
आयोजना पाँच वर्ष ढिला हुँदा आफूहरूले सधैँ आलोचना सुन्नुपरेको अवस्थामा एक दिन पनि समय खेर नजाओस् भन्ने उद्देश्यका साथ उद्घाटन भने गरिएको उनले सङ्केत गरे।
व्यावसायिक उत्पादन कहिलेदेखि?

तस्बिर स्रोत, NEA
आयोजनाको प्रत्येक युनिटको १५ दिनसम्म परीक्षण गरेपछि मात्रै व्यावसायिक उत्पादन सुरु गर्न सकिने श्रेष्ठ बताउँछन्।
परीक्षणका बेला उत्पादन गरिएको ऊर्जा नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क उपलब्ध गराउनुपर्ने हुन्छ।
आयोजनाले भदौसम्ममा छ वटै युनिट तयार हुने र चार युनिटसम्म सञ्चालनमा आएपछि विद्युत् खरिद सम्झौता अनुसार व्यावसायिक उत्पादनमा जान सकिने जानकारी दिए।
''एक हप्ता जति यताउता हुन सक्छ तर आश्विनदेखि ४५६ मेगावाटकै शुल्क आउने अवस्था रहन्छ," उनले भने।
'राम्रो सन्देश प्रवाह भएन'
भूतपूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेल पछिल्लो सरकारले योजनाहरूलाई आफू सत्तामा रहने वा नरहने जे भए पनि उद्घाटन गर्दिहाल्ने मानसिकताबाट प्रेरित भएको देखिएको बताउँछन्।
"गोदावरीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वा मेलम्चीको कुरा पनि त्यहीँ आयो। र अहिले आएर तामाकोशीको पनि त्यहीँ गति देखिएको छ,'' उनले भने।
''सत्तामा बसेकाहरू असुरक्षित भावनाले गर्दा आफूले काम गरेको देखाउन चाहेर वास्तविक रूपमा त्यो सम्पन्न भएको छ वा छैन भन्ने कुरा विचार नगरीकन हामीले गर्यौँ भनेर उद्घाटन गरिदिने मानसिकताबाट काम गरेको छ।"
यस्तो प्रवृत्तिले आम जनतामा राम्रो सन्देश प्रवाह नगर्ने र संयन्त्रप्रति विश्वास गर्ने ठाउँ नदिएको उनी ठान्छन्।








