कोभिड खोपः दान दिन यूनिसेफको जी७ राष्ट्रलाई आग्रह

तस्बिर स्रोत, Getty Images
आर्थिक रूपमा समृद्ध राष्ट्रहरूले तुलनात्मक रूपमा विपन्न राष्ट्रहरूमा एकै पटक ठूलो मात्रा बाँकी रहेका खोप पठाए लाखौँ मात्रा खोप खेर जानसक्ने संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले चेतावनी दिएको छ।
आर्थिक रूपमा कमजोर राष्ट्रहरूसँग एकै पटक ती खोप प्रयोगमा ल्याउनका लागि श्रोतको अभाव रहेका कारण क्रमिक रूपमा खोप उपलब्ध गराइनुपर्ने यूनिसेफले जनाएको छ।
यूके सहित अन्य केही मुलुकहरूले आफूसँग मौज्दात रहेको बाँकी खोप दिने वाचा गरेका छन्। तर उनीहरूलाई अलि अगावै खोप दिन आग्रह गरिएको छ।
बीली आएलीस र डेभिड बेकम जस्ता प्रख्यात व्यक्तित्वहरूले यूनिसेफको आग्रहमा समर्थन जनाएका छन्।
उनीहरूले जी७ भनेर चिनिने विश्वका महत्त्वपूर्ण सात अर्थतन्त्रहरूलाई हस्ताक्षर सहितको पत्र पठाएका छन् जसमा यूके सहितका राष्ट्रहरूलाई उनीहरूसँग रहेको २० प्रतिशत खोप अगस्ट महिनासम्ममा दिइसक्न आग्रह गरिएको छ।
''सबैतिर यो महामारी नरोकिएसम्म कहीँ पनि रोकिँदैन,'' बेकमले भने।
पत्रमा हस्ताक्षर गर्ने अन्य ख्यातिप्राप्त व्यक्तित्वहरूमा यान्डी मरी, एलीभीया कोलमन, युएन मगग्रेग, लिएम पेन, प्रियङ्का चोपडा जोनस, ओल्यान्डो ब्लुम, केटी प्यारी, जेमा च्यान, उपी गोल्डबर्ग, क्लोडिया सीफर र क्रिस होए छन्।

तस्बिर स्रोत, Getty Images
यूनिसेफमा खोप सम्बन्धी विषयको नेतृत्व गरिरहेकी लीली कप्रानीले बीबीसी न्यूजनाइटसँग कुरा गर्दै राष्ट्रहरूले विश्वका अन्य मुलुक सँगसँगै आफ्ना देशवाशिहरूलाई खोप दिनुपर्ने बताइन्।
''कुनै न कुनै विन्दुमा हामीले १८ वर्ष भन्दा मुनिका मानिसहरूलाई खोप दिनुपर्ने हुन्छ। यसमा कुनै दुबिधा छैन,'' उनले भनिन्।
''तर यस बेलाको प्राथमिकता विश्वभरका कमजोर तथा प्राथमिकतामा राखिएका मानिसहरूले खोप पाउन भन्ने हुनुपर्छ।''
''त्यस कारण हामीले यूके र अन्य जी७ राष्ट्रहरूलाई आफ्नो देशमा खोप कार्यक्रम जारी राख्दै निम्न आय भएका देशहरूलाई दान गर्न भनिरहेका छौँ।''
तर गत हप्ता ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले यूकेको प्राथमिकतामा अन्य देशहरूमा खोप पठाउने भन्दा पनि आफ्नो देशका बालबालिकाहरूलाई उपलब्ध गराउने रहेको बताएका थिए।
अन्य देशहरू भन्दा फरक यूकेले कोभ्याक्सलाई खोपको कति मात्रा दिने छ भन्ने योजना खुलाएको छैन। यूकेले आफूसँग रहेको अतिरिक्त मात्रा उपलब्ध गराउने मात्रै भनेको छ।
ख्याति कमाएका व्यक्तित्वहरूले यूनिसेफले आर्थिक रूपमा विपन्न राष्ट्रहरूमा खोप दिइरहेको तर ऊसँग आवश्यकता भन्दा १९ करोड मात्रा कम रहेको आफ्नो पत्रमा उल्लेख गरेका छन्।
यूकेले विभिन्न खोपको ४० करोड मात्रा मगाइसकेको छ। उसले आफ्नो जनसङ्ख्याको ठूलो हिस्सालाई खोप उपलब्ध गराइसकेको छ।
तर केही देशहरूले भने हालसम्म पनि खोपको पहिलो ढुवानीको प्रतीक्षा गरिरहेका छन्। धेरै गरिब राष्ट्रहरू कोभ्याक्सबाट प्राप्त हुने खोपमा भर परिरहेका छन्।
केही राष्ट्रहरूले यो वर्षको अन्त्य सम्ममा खोप दिने वाचा गरेका छन् तर विश्व स्वास्थ्य सङ्गठनले उनीहरूलाई आफूसँग रहेको खोप तत्काल बाँड्न सुरु गर्न भनेको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर










