सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री त्रिलोचन भट्ट विश्वासको मत पाउन सफल

सुदूरपश्चिम प्रदेशसभा

तस्बिर स्रोत, pga.sudurpashchim.gov.np

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्।

मङ्गलवार भएको मतदानमा उनको पक्षमा ३० मत परेको थियो।

मतगणना सम्पन्न भएपछि भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै सभामुख अर्जुनबहादुर थापाले भने, "मतदानमा उपस्थित ५१ मध्ये ३० मत परेको र कायम भएको सङ्ख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु।"

उनले पाएको मतमध्ये माओवादीबाट १३ र बाँकी १७ मत छ। विपक्षी नेपाली कांग्रेस मतदानमा सहभागी भएन भने नेकपा एमालेका माधव नेपालपक्षीय सांसदहरूले उनलाई मत दिएका थिए।

प्रदेशसभाको अङ्कगणित

त्रिलोचन भट्ट

तस्बिर स्रोत, Trilochan Bhatta

सुदूरपश्चिम प्रदेशसभामा सैबभन्दा धेरै नेकपा एमालेका २४ सांसद छन्। दोस्रोमा नेकपा माओवादीका १३ जना र तेस्रोमा नेपाली कांग्रेसका १२ सांसद छन्।

प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका दुई सदस्य छन्।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो।

देशमा जारी राजनीतिक सङ्कट र प्रदेश सभाभित्रैबाट उनको राजीनामा माग हुन थालेपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन खोजेका थिए।

मुख्यमन्त्रीले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको थियो।

सुदूरपश्चिम प्रदेश सरकार नेकपा माओवादी र नेकपा एमालेको संयुक्त गठबन्धनको सरकार थियो। तर नेकपा एमालेभित्रको ओली समूह प्रदेश सरकारको विरोधमा छ।