कोभिड भारत: कोरोनाभाइरसका कारण टुहुरा भएका बालबालिकाको के हुन्छ?

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, सोनी, उनका भाइ र बहिनिले कोभिडका कारण आफ्ना अभिभावक गुमाएका छन्
    • Author, दिव्या आर्या
    • Role, बीबीसी विश्व सेवा

यो रिपोर्टमा मृत शरीरको तस्बिर समावेश गरिएको छ।

''मेरा अभिभावकको मृत्यु भएपछि उहाँहरूलाई कसैले छुन चाहेन,'' सोनी कुमारी सम्झन्छिन्।

''त्यसकारण मैले आमाका लागि चिहान खने र गाडेँ। यो सबै म एक्लैले गरेँ।''

बीबीसीकी दिव्या आर्यासँगको भिडिओ संवादका क्रममा सोनीले आफूले व्यक्तिगत सुरक्षा पोसाक (पीपीई) लगाएर आमालाई गाडेको बताइन्।

एकजना पत्रकारले त्यो क्षण कैद गरेका छन्।

अन्तिम दिन उनी दुरुस्त सम्झन्छिन्। उनको पिताको कोभिडका कारण मृत्यु भइसकेको थियो र आमालाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याउनका लागि उनले आफ्ना दुई जना भाइबहिनीलाई घरमै छोडेकी थिइन्।

तर उनले आफ्नी आमालाई बचाउन सकिनन्।

सोनी उनको शव लिएर पूर्वी भारतस्थित बिहार राज्यमा रहेको आफ्नो गाउँ फर्किइन्।

तर त्यहाँ ती तीन जनालाई सहयोग गर्न कोही पनि राजी थिएन।

''हामीलाई आफ्नै हालमा छोडिएसँगै हाम्रो दुनियाँ भास्सियो,'' सोनी सम्झन्छिन्।

''हाम्रा अभिभावक धेरै मानिसलाई सहयोग गर्थे। तर हामीलाई चाहिएको बेला कसैले पनि वास्ता गरेन।''

भारतमा कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या निकै धेरै छ र सोनीको परिवारले जस्तै समस्या भोग्नुपरेको विवरणहरू पनि व्याप्त छन्।

तर महामारीका कारण टुहुरो बनेका बालबालिकाहरूलाई के हुन्छ त?

कोरोनाभाइरस

तस्बिर स्रोत, Chandan Chowdhary

तस्बिरको क्याप्शन, व्यक्तिगत सुरक्षा पोसाक लगाएर सोनीले आफ्नी आमालाई गाडिन

मास्क लगाएकी १८ वर्षकी सोनी मसँग आफ्नो कथा भन्दै गर्दा शान्त अनि स्थिर छिन।

स्थिर आवाजले उनको आँखाले दर्शाएको दु:ख लुकाउँछ।

ढोका पछाडिबाट चियाइरहेका १२ वर्षका भाइ र १४ वर्षकी बहिनीको मैले झलक देख्छु।

''एक्लै छाडिनुले सबैभन्दा बढी चोट पुर्‍याएको छ। आमाले हाम्रा लागि पकाएको अन्तिम खाना बाहेक घरमा खानेकुरा थिएन। हामी तिनै जना कोरोनाभाइरस नेगेटिभ प्रमाणित नहुँदासम्म कसैले पनि केही सहयोग गरेन,'' सोनीले भनिन्।

आइसोलेशन र समाजले गर्ने दुर्व्यवहार कोभिडका कारण दुवै अभिभावक गुमाउनेहरूका लागि थपिएको चुनौती हो।

भारतकी महिला तथा बालबालिका सम्बन्धी मामिला हेर्ने मन्त्री स्मृति इरानीले त्यस्ता बालबालिकाहरूका लागि सहयोग उपलब्ध रहेको बताएकी छन्।

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, एकान्तवासमा बसेका बेला मानिसहरू घरमा सहजै प्रवेश गर्न नसकुन् भनेर सोनीको घरमा लगाइएको अस्थायी बार

एउटा ट्विट सन्देशमा दुई महिना भन्दा कम समयमा ५७७ त्यस्ता घटनाहरूबारे आफूकहाँ जानकारी आएको उनले बताएकी छन्।

त्यो सङ्ख्या निकै कम हुन सक्छ - त्यस्ता धेरै घटनाहरूबारे सरकारलाई जानकारी नै गराइएको हुँदैन।

यसको सट्टा, पहिलो पटक, सहयोग र बालबालिका धर्मपुत्र पुत्री बनाउन चाहनेका लागि अनलाइन अपिल गरिँदै छ।

ह्वाट्सएप र ट्विटरमा छरिएका यस्ता अपिलहरूमा बालबालिकाको नाम र उमेर अनि फोन नम्बर उल्लेख गरिएको हुन्छ।

एउटा ट्विट सन्देशमा लेखिएको छ: ''दुई वर्षकी बालिका, दुई महिने बालक, आमा र बाबुको कोभिडका कारण मृत्यु भएको। बच्चाहरूले असल अभिभावक पाउन भन्नका लागि सकेसम्म धेरै साझा गर्नुहोला।''

भारत सरकारले यस्ता सन्देश प्रवाह नगर्न भनेकाले हामीले यहाँ त्यस्ता ट्विट पोस्ट गरेका छैनौँ।

यस्तै एउटा सन्देश मेधा मीनल र उनका साथी हरिशंकरलाई आयो।

मेधा मीनल र हरिशंकर

तस्बिर स्रोत, Medha Meenal

तस्बिरको क्याप्शन, मेधा मीनल र हरिशंकर

''दुवै अभिभावक गुमाएकी र आफू पनि कोभिड सङ्क्रमित अनि घरमा एक्लै भएकी एक बालिका सम्बन्धी पोष्टले मलाई आश्चर्यचकित बनायो। के गर्ने कसैलाई पनि थाहा थिएन। महामारी सुरु भएयता कसैले पनि बालबालिका सम्बन्धी कुरा गरेको छैन,'' मीनलले भनिन्।

उनको चाहना ती बालिकालाई अपनाउने प्रस्ताव गर्ने थियो। तर भारतीय कानुनले त्यस्तो गर्न बाटो खुला गरेको छैन।

भारतीय कानुन अनुसार बालबालिका टुहुरो भए 'चिल्ड्रेन' न्याशनल हेल्पलाइनमा जानकारी गराउनुपर्छ।

'चिल्ड्रेन'का अधिकारीहरूले राज्यका समाजसेवीहरूलाई जानकारी गराउँछन् जसले ती सूचना पुष्टि गर्छन् र बालबालिकाहरूको आवश्यकता बारे जानकारी लिन्छन्।

बालबालिका सम्बन्धी कल्याणकारी समितिले त्यसका आधारमा के गर्ने भन्ने निर्णय लिन्छ।

बालबालिका अपनाउनका लागि अनलाइनमार्फत् गरिएका आग्रहका कारण सतर्क भएको सरकारले त्यस विषयमा सचेत गराउन एउटा पत्रिकामा विज्ञापन प्रकाशन गरेको थियो।

विज्ञापन

यस्ता आग्रहले पार्ने खतराबारे बालबालिकाको हकहित सम्बन्धी विषयमा कार्यरत संस्थाले पनि सचेत गराएको छ।

यस्ता प्रचारले बालबालिकालाई अपनाउने नाममा मानव तस्करीको खतरामा पार्न सक्ने बताइएको छ।

धनंजय टिंगल ''बच्पन बचाओ'' आन्दोलनका कार्यकारी निर्देशक हुन्। उक्त संस्थाले बालबालिकाका लागि स्याहार गृह सञ्चालन गरेको छ।

''सामाजिक सञ्जालका पोस्ट गैरकानुनी छन् र तस्करीको परिभाषा भित्र पर्छन्। बालबालिकालाई अपनाउनका लागि यसरी कसैले पनि सूचना दिन मिल्दैन। यसले बालबालिकाको बेचबिखन सम्म हुनसक्ने सम्भावना रहन्छ,'' टिंगलले भने।

श्रम, यौन दुर्व्यवहार, बालविवाहका लागि बालबालिकाहरूको तस्करी भारतमा कोभिड नहुँदाको समयमा समेत एक जटिल चुनौती हो।

भारतको न्याशनल क्राइम रेकर्ड ब्युरोको सन् २०१९को तथ्याङ्क अनुसार ७० हजारभन्दा बढी बालबालिका हराएका थिए - जसको अर्थ प्रत्येक आठ मिनेटमा एकजना हराउनु हो।

सरकारले बालबालिकाहरूको तस्करी रोक्न विभिन्न कदमहरू चालेको छ जसमा कडा कानुन पारित गर्ने देखि समाज कल्याण विभाग, प्रहरी र गैरसरकारी संस्थाहरूसँग समन्वय समावेश छ।

यसले केहीलाई कानुनको दायरामा त ल्याएको छ तर शक्ति, पैसा अनि आवश्यकताको साठगाँठ तोड्न भने गाह्रो छ।

अधिकांश तस्करहरू जरिवाना तिरेर उम्कन्छन्।

बालबालिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतमा प्रत्येक आठ मिनेटमा एक जना बालबालिका हराउने तथ्याङ्कले देखाउँछ

अभिभावक गुमाएका बालबालिकाहरूका लागि संस्थागत स्याहार पहिलो प्राथमिकता हुन सक्दैन।

दिल्ली चाइल्ड वेलफेअर कमिटीका अध्यक्ष वरुण पाठकले आफूहरूको प्राथमिकता बालबालिका संयुक्त परिवारमा रहुन भन्ने रहेको मलाइ बताए।

बालबालिकाको जिम्मेवारी नाता पर्ने कसैलाई दिइएमा आफ्नो टोलीले उनीहरूलाई पच्छ्याउने र आर्थिक सहायताका साथै परामर्श दिने उनले बताए।

कोभिड-१९ का कारण टुहुरो बनेका बालबालिकाहरूका लागि भनेर कैयौँ राज्य सरकारहरूले विशेष कोष खडा गरेका छन्।

सोनी कुमारी र उनका भाइ बहिनीले राज्य सरकारबाट खाद्य सामाग्री र आर्थिक सहायता प्राप्त गरेका छन्।

केही रकम समाजसेवीहरूले पनि उठाएका छन्।

सोनी कुमारी
तस्बिरको क्याप्शन, सोनीले आफ्ना भाइ बहिनीको जिम्मेवारी लिने अपेक्षा गरेकी छन्

लामो जीवन जिउन बाँकी रहे पनि अहिले उनीहरूसँग स्थिर आमदानीको स्रोत छैन।

''हामी उहाँहरूलाई प्रत्येक दिन सम्झन्छौँ। उहाँहरू साथै छँदा हाम्रो जिन्दगी निकै फरक थियो,'' आफ्ना अभिभावकबारे सोनीले भनिन्।

''उहाँहरूले हामीबारे सपना साँच्नु भएको थियो र घरमा सीमित स्रोत भए पनि आफ्नो आवश्यकता अघि सधैँ हाम्रो राख्नुहुन्थ्यो।''

केही समय सँगै बस्न अहिले उनीहरूको हजुरआमा आएकी छन्। तर सोनीलाई थाहा छ की भाइबहिनीको मुख्य जिम्मेवारी अब सधैँ उनमा रहने छ।

सोनीका पिता गाउँका स्थानीय चिकित्सक थिए।

उनको आशा छ- भाइबहिनीमध्ये एकजनाले कुनै दिन बाबुको पदचाप पच्छ्याउने छन्।