के डीएनए परीक्षणबाट प्रेमी/प्रेमिका खोज्न सकिन्छ?

माया

तस्बिर स्रोत, Getty Images

    • Author, रेबेका थर्न
    • Role, बीबीसी विश्व सेवा

चलिआएका प्रेमकथाको सुरुवात दुई अपरिचित व्यक्तिले टेस्ट ट्युबमा थुकेर सुरु हुँदैन।

तर चेइको मिट्सुईका लागि लामो समयदेखि उनले खोजिरहेको उत्तर थुकको नमुनामा नै भेटियो। उनले आफ्नोलाई सही व्यक्ति भेटिन् र उसलाई नै आफ्नो पति बनाउन तयार भइन्।

डीएनएबाट एकल व्यक्तिलाई जीवनसाथी खोजिदिने कुरा नेटफ्लीक्सको द वन र एएमसी टिभी च्यानलको सोलमेट्समा केन्द्रीय विषय हो।

तर यो कुरा लेखकको मस्तिष्कमा आएको भविष्यको कुरा भने होइन। किनभने डीएनए मिलाएर जोडी खोल्ने चलन चलिसकेको छ।

चेईकोजस्ता एकल व्यक्तिलाई रसायनयुक्त प्रेमी खोजिदिने र जोडी बनिसकेकाहरूका लागि दाम्पत्य जीवनको सम्भावनाबारे बुझ्ने मौका भन्दै केही वेबसाइटहरूले डीएनए परीक्षणको विज्ञापन गरेका छन्।

बीबीसीले डीएनएमार्फत् प्रेमी खोजेका केही व्यक्तिहरूसँग माया पिरतीको कुरामा विज्ञानको स्थान छ कि छैन भनेर बुझ्ने प्रयास गरेका छौँ।

'जीवन परिवर्तन भयो'

पारपाचुके गरेपछि लगभग १० वर्षदेखि प्रेमको खोजीमा रहेकी ४५ वर्षीया जापानी चेइको भाग्यमै नभएको सोचिरहेकी थिइन्।

"साथीमार्फत केही मानिसहरू त भेटेकी थिएँ र विवाह गराइदिने एजेन्सीमा पनि नाम लेखाएकी थिएँ तर मैले सही व्यक्ति भेटेको थिइनँ," उनले भनिन्।

त्यसपछि उनले चेइको डेट भन्ने संस्थाका बारेमा सुनिन् जसले २० वर्षमा ७०० जोडी बनाएको दाबी गरिरहेको थियो।

चेइको

तस्बिर स्रोत, Cheiko Mitsui

तस्बिरको क्याप्शन, चेइको भाग्यमै प्रेमी नभएको सोचिरहेकी थिइन्

सन् २०१४ मा उनी स्वीट्जरल्यान्डस्थित जीनपार्टनर संस्थाको सम्पर्कमा पुगिन्। जीनपार्टनरले जीनको परीक्षणले जोडी मिलाउन सहयोग गर्न सक्ने दाबी गर्छ।

"दुवै पक्ष मिल्नु जरुरी छ: पहिलो जैविक कुरो जसलाई हामी मन मिलेको भन्छौँ," जीनपार्टनरका एक संस्थापक डा. तमारा ब्राउन भन्छिन्।

"अर्को पक्ष भनेको सामाजिक हो। कुनै पनि सम्बन्ध सफल हुन यी दुवै पक्ष मिल्नु पर्छ।"

डीएनएको नतिजाका लागि थुकको नमुना लिइन्छ र त्यसमा ह्युमन ल्यूकोसाइट एन्टिजन एचएलए विश्लेषण गरिन्छ।

लमी चेइको डेट (बीचमा) अहिलेसम्म आफुले मिलाएका ४५० जोडीले डीएनए परीक्षण गरेको बताउँछिन्

तस्बिर स्रोत, Cheiko Mitsui

तस्बिरको क्याप्शन, लमी चेइको डेट (बीचमा) अहिलेसम्म आफुले मिलाएका ४५० जोडीले डीएनए परीक्षण गरेको बताउँछिन्

"एचएलए मानिसको रोग प्रतिरोधी क्षमताका लागि महत्त्वपूर्ण जीन हो," डा. ब्राउन भन्छिन्। "जति धेरै भयो उति नै मानिसको रोगसँग लड्ने क्षमता हुन्छ।"

"स्तनधारी प्राणीका भाले र पोथीले यो जीनलाई चिन्छन् किनभने उनीहरू रोगसँग लड्ने बढी क्षमता भएका बच्चा जन्माउन चाहन्छन्। यो साधारण सिद्धान्त हो तर यो काम गरेन भने प्रजाति लोप हुन्छ।"

जीनपार्टनरको दाबी सन् १९९५ मा डा. क्लाउस वेडकाइन्डले गरेको 'पसिनायुक्त टीसर्ट अध्ययन'को आधारमा बनेको हो।

उनले महिलाहरूको एक समूहलाई दुई रात फरक-फरक पुरुषले लगाएका लुगाको गन्धलाई मन परेको आधारमा अङ्क दिन भने। नतिजामा महिलाले आफूभन्दा फरक एचएलए जीन भएका पुरुषप्रति आकर्षित हुने देखायो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, डिजिटल डाटा भण्डारणका लागि डीएनए?

डा. ब्राउनले यो सिद्धान्त करिब २५० विवाहित जोडीमा परीक्षण गर्दा उस्तै नतिजा आएको बताउँछिन्।

चेइको मिट्सुई डीएनए परीक्षणले पति छान्दा मनमा शान्ति हुने अपेक्षा गरेको बताउँछिन्।

सन् २०१८ को सेप्टेम्बरमा उनको जोडीका रूपमा उनको जस्तै रुचि र सोच भएका ४५ वर्षीय पुरुषलाई प्रस्ताव गरियो। एक महिनाको भेटघाटपछि उनीहरूले डीएनए परीक्षण गरे।

"नतिजा शतप्रतिशत थिएन तर मैले सोचेभन्दा राम्रो थियो त्यसैले म खुसी भएँ," मिट्सुई भन्छिन्।

चेइको

तस्बिर स्रोत, Cheiko Mitsui

दुई सातापछि उनीहरूले विवाह गर्ने निर्णय गरे र सन् २०१९ को सेप्टेम्बरमा विवाह गरे।

मिट्सुई डीएनएको नतिजाको कारण आफूले सुरक्षित महसुस गरेको बताउँछिन्।

"डीएनएबिना मैले उनलाई विवाह गर्थेँ वा गर्दिन थिएँ भन्न सक्दिनँ। त्यसैले यो परीक्षणले जीवन परिवर्तन गर्‍यो।"

ब्राजिलको साओ पाउलो विश्वविद्यालयका आनुवंशिक विज्ञ डा. डिओगो मेयरले अहिले पनि विज्ञानले अन्तिम निर्णय नदिइसकेको बताए।

उनले डीएनएबाट जोडी मिलाउने कुरा विवादित भएको भन्दै फरक एचएलए भएकै आधारमा जोडी मिल्न सक्ने प्रमाण दिन नसकिने बताए।

मेलिसा विज्ञानलाई विश्वास गर्ने बताउँछिन्

तस्बिर स्रोत, Alison M Jones photography

तस्बिरको क्याप्शन, मेलिसा विज्ञानलाई विश्वास गर्ने बताउँछिन्

उनले उक्त सिद्धान्त प्रयोग गर्नु 'गाई कि त्रिशुल गरेर निर्णय लिनुभन्दा खासै फरक नरहेको' टिप्पणी गरेका छन्।

तर नाम परिवर्तन गरिएकी एमी आफूले दाउ लगाएको भन्दै त्यसले फाइदा दिने अपेक्षा गर्छिन्।

इसाई धर्म मान्ने ३२ वर्षकी उनी पनि जापानी हुन र उनले डीएनए विधिमार्फत बाँकी जीवन बिताउन मिल्ने व्यक्ति फेला पार्ने अपेक्षा गरेकी छन्।

चिइको डेटको डीएनए सेवामा अघिल्लो साल जोडिएपछि उनी दुई जना पुरुषसँग डेट गइन्। यो विधिले काम गरिरहेको उनलाई लाग्छ।

डीएनए

तस्बिर स्रोत, DNA Romance

"जब मैले ती दुई जना भेटेँ मलाई उनीहरू एकदमै राम्रा, शिक्षित र सज्जन लाग्यो। उनीहरू राम्रा मान्छे भएको मैले महसुस गरेको भए पनि मलाई केही अपूर्ण जस्तो लाग्यो। थाहा छैन किन। त्यो अनुभव के थियो म व्याख्या गर्न सक्दिन।"

"जब मैले चिइकोसँग कुरा गरेँ र हामीले डीएनए परीक्षण हेर्‍यौँ। दुवै जना मित्रता गाँस्ने तहमा रहेछन्। त्यही भएर मैले उनीहरूसँग हुँदा मैले सहज महसुस गरे पनि त्यहाँ थप केही थिएन। उक्त परिणाम मेरो लागि रोचक थियो।"

मित्रताको आकर्षण वा यौन आकर्षण डा. ब्राउनको टोलीले प्रदान गर्ने विश्लेषणको एउटा हिस्सा हो।

चिइको डेटले आफ्नो डीएनए सेवा लिने अधिकांश राम्रो शिक्षा हासिल गरेका र उच्च तहमा रोजगारीमा भएका व्यक्ति छन्।

'हाम्रो सम्बन्ध तोड्न सक्थ्यो'

क्विन्सल्यान्ड अस्ट्रेलियाकी मेलिसाले आफ्नो प्रेमीसँग अप्ठेरो समयबाट गुज्रिरहेको अवस्थामा डीएनए परीक्षण गराउने निर्णय लिएको बताइन्।

उनीहरूले डीएनए रोमान्स नामक वेबसाइटको प्रयोग गरेका थिए। विगतमा आफूले धेरै केटा साथीसँग प्रेमसम्बन्ध राखेको भन्दै उनले आफूले धेरै समय खेर फालेको बताइन्।

सन् २०१७ मा उनले आफ्ना प्रेमी मेजलाई टीन्डरमा भेटिन् जो पहिलो डेटका लागि उनी भएको शहरसम्म आए।

पहिलो भेट एकदम विशेष भए पनि डेटिङको पहिलो वर्ष उतारचढाव बिनाको नभएपछि उक्त जोडीले केही समय सम्बन्ध तोड्यो। फेरि जोडिएपछि उनले मेजलाई आनुवंशिक जाँचका लागि मनाइन्।

परीक्षणले डीएनए रोमान्स विश्लेषण विधिबाट ९८ प्रतिशत जोडा मिल्ने निष्कर्ष देखायो।

"म एकदमै खुसी भएँ। त्यो जान्न पाउनु थप पुष्टि गर्नु जस्तै थियो। त्यो मेरा लागि हाम्रो सम्बन्ध सही भएको अर्को सानो प्रमाण थियो।"

तर जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर द साइन्स अफ ह्युमन हिस्ट्रीका अनुवंशका वैज्ञानिक रोड्रिगो बारक्वेरा एचएलए जीनले जोडा मिलाउन सहयोग गर्ने प्रमाण भए पनि त्यो कतिको सफल सम्बन्ध हुने भन्ने प्रमाण नभएको बताए।

"जीनहरू प्रजनन तथा सन्तान उत्पादनबारे सही हुन्छ। अरू कुरा ध्यान दिँदैनन्। तर मानव सम्बन्ध धेरै जटिल रहेको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, सबै अवरोध तोडेको एउटा प्रेमकथा

तर मेलिसाले आनुवंशिक मेलले आफ्नो जोडीलाई विश्वास दिलाएको बताउँछिन्। उनीहरूले विवाह गरेका छन् र पहिलो सन्तानको प्रतीक्षा गरिरहेका छन्।

"मलाई लाग्छ यो रोचक मात्रै नभई वैज्ञानिक पनि छ। कतिले यसलाई पागलपन भन्लान् तर मेरो लागि यो एकदमै विश्वसनीय छ।"

तर डा. मेयर जीनलाई डेटिङ वा जोडी खोज्ने सेवा दिन प्रयोग गर्ने थालिनुले विज्ञानलाई कसरी बिक्री गरिँदैछ वा बुझिँदैछ भन्ने झल्को दिने बताउँछन्।

"मलाई लाग्छ विज्ञानको अवधारणा बुँदागत तथ्य प्रस्तुत गर्ने भन्ने हो। किनभने योसँग तथ्याङ्कको परीक्षण गर्ने क्षमता छ र योसँग डीएनए र अति सूक्ष्म कणहरूको परीक्षण गर्ने सामर्थ्य छ। मानिसहरूले यसलाई सत्यको नजिक र अरू भन्दा बढी विश्वसनीय ठान्छन्।"

"त्यही भएर विज्ञानको जे क्षमता छ त्यसलाई बढाइचढाइ गरेर बिक्री गरिएको छ।"