कोरोना भाइरस नेपाल: महामारीयता सबैभन्दा ठूलो सङ्ख्यामा कोभिड-१९ पुष्टि, थपिए ७२ सय सङ्क्रमित

कोभिड काठमाण्डू

तस्बिर स्रोत, RSS

विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये आधाजति काठमाण्डू उपत्यकामा छन्।

नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो।

चौबीस घण्टाको अवधिमा २७ जनाको कोभिड-१९ का कारण निधन भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ। तीमध्ये १४ जनाको सो अवधिमै मृत्यु भएको हो।

एन्टिजन र पीसीआर विधिबाट गरी कुल १६, ७७० जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये १६,१४७ जनाको पीसीआर र ६२३ जनाको एन्टिजन परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

पीसीआर विधिबाट ७,१३४ र एन्टिजन विधिबाट ७४ जनाको सङ्क्रमण पुष्टि भएको हो।

यसअघि शनिवार अपराह्ण सरकारले थप ५,७६३ जनालाई सङ्क्रमण भएको दैनिक विवरण सार्वजनिक गरेको थियो।

नेपाल कोभिडको तथ्याङ्क

त्यसभन्दा पहिले गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको विवरण आएको थियो।

सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिले थपिएका सङ्क्रमितमध्ये उपत्यकाका तीन जिल्लाभित्र ३,५९५ जना छन्।

तीमध्ये काठमाण्डूमा २,७४४ जना, ललितपुरमा ५५० जना र भक्तपुरमा ३०१ जनामा कोभिड-१९ पुष्टि भएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘निको भएपछि कोभिड बिरामीको सेवामै फर्किन्छु’

सक्रिय सङ्क्रमित कति

मन्त्रालयका अनुसार अहिले देशभरि ४८,७११ जना सक्रिय सङ्क्रमित छन्।

तीमध्ये संस्थागत आइशोलेसनमा ३,५३० जना र होम आइशोलेसनमा ४५,१८१ जना छन्।

गत २४ घण्टाको अवधिमा १,६१२ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतवारसम्म देशभरि ४७७ जना आईसीयूमा रहेकामा त्यसमध्ये १३१ जना भेन्टिलेटरमा छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?

सङ्क्रमितको उमेर समूह

सङ्क्रमित हुनेमा उमेर समूहको हिसाबले ३० देखि ३९ वर्षका मानिसमा सबैभन्दा बढी १,८०९ जना सङ्क्रमित छन्।

त्यसपछि २० देखि २९ वर्षका १,७६७ जना र ४० देखि ४९ वर्षसम्मका १,२२० जना सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

अहिले १२ जिल्ला प्रत्येकमा ५०० जनाभन्दा बढी सङ्क्रमित उपचाररत छन् भने २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १७ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।

के छ भारतको अवस्था?

आइतवार बिहान भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा शनिवार देशभरिमा तीन लाख ९२ हजार ४८८ जनामा नयाँ सङ्क्रमणमा पाइएको बीबीसी हिन्दीले जनाएको छ।

चौबीस घण्टाको अवधिमा त्यहाँ ३,६८९ जनाको कोभिड-१९ का कारण निधन भएको छ।

त्यस अवधिमा तीन लाख ७,८६५ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्केका छन्।

भारतमा कुल ३३ लाख ४९,६४४ जनामा सक्रिय सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ।

हालसम्म भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ९५ लाख ५०,००० भन्दा बढी पुगेको छ।

त्यहाँ हालसम्म दुई लाख १५,५४२ जनाको कोभिड-१९ का कारण निधन भइसकेको छ।

भारतमा हालसम्म १५ करोडभन्दा बढीले कोभिडविरुद्धको खोप लिइसकेका छन्।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर