कोभिड नेपालः २४ घण्टाको अवधिमा हालसम्मकै धेरै सङ्क्रमण पुष्टि

नीलो रङ्गमा उत्परिवर्तन भएको कोरोनाभाइरस देखाइएको छ

तस्बिर स्रोत, TIM VERNON / SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन, यो साङ्केतिक चित्रमा नीलो रङ्गमा उत्परिवर्तन भएको कोरोनाभाइरस देखाइएको छ

विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिवार एन्टीजन र पीसीआर विधिबाट गरी कुल १४,९६९ जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शुक्रवार ५,६५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३३ जनाको मृत्यु भएको थियो।

हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो।

सक्रिय सङ्क्रमित

मन्त्रालयका अनुसार अहिले देशभरि ४३,२१३ जना सक्रिय सङ्क्रमित रहेका छन्।

गत २४ घण्टाको अवधिमा १,२८७ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म देशभरि ४०१ जना आईसीयूमा र ११० जना भेन्टिलेटरमा छन्।

त्यसैगरी देशभरि होम आइसोलेशनमा ४०,१०३ जना छन भने संस्थागत आइसोलेशनमा ३,११० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

सङ्क्रमित हुनेमा उमेर समूहको हिसाबले ३० देखि ३९ वर्षका सबैभन्दा बढी १,४४१ जना सङ्क्रमित छन्।

त्यसपछि २० देखि २९ वर्षका १,३४६ जना र १९ वर्षसम्मका ४३८ जना सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

अहिले पाँच सयभन्दा बढी सङ्क्रमित उपचाररत रहेका १२ जिल्ला छन् भने दुई सयभन्दा बढी उपचाररत सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १६ रहेको मन्त्रालयले शनिवार जनाएको छ।

पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर