कोरोना भाइरस नेपाल: १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित

कोभिड

तस्बिर स्रोत, File Photo/RSS

नेपालमा विगत २४ घण्टामा काठमाण्डू उपत्यकामा दुई हजारसहित थप ४,८९७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो हालसम्मको तेस्रो सर्वाधिक दैनिक सङ्क्रमण सङ्ख्या हो।

नेपालमा गत वर्ष कार्तिक ५ गते सर्वाधिक सङ्ख्यामा ५,७४३ जनामा र असोज २४ गते ५,००८ सङ्क्रमण पुष्टि भएको थियो।

सो सङ्क्रमण १३,८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।

नेपालमा कोभिड-१९ का कारण गत २४ घण्टाको समयावधिमा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२११ पुगेको छ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जना र मङ्सिर १५ गते २९ जनाको निधन भएको थियो।

यो वर्ष कोरोनाभाइरसको सङ्क्रमण बढेयता यसअघि सबैभन्दा बढी गत आइतवार २८ जनाको निधन भएको थियो।

विगत २४ घण्टामा ७७३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।

कोभिड

१२ जिल्लामा ५०० भन्दा धेरै

नेपालमा अहिले कुल ३०,२०९ जनाको सक्रिय सङ्क्रमण रहेको छ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन्: मोरङ, पर्सा, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली।

थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये २,३६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३१७ जना सघन उपचार कक्षमा र ९८ जना भेन्टिलेटरमा उपचाररत छन्।

उपत्यकामा मात्रै दुई हजारभन्दा बढी

बुधवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका १,४६४ जना, ललितपुरका ३५१ जना र भक्तपुरका २३२ जना गरी उपत्यकामा कुल २,०४७ जना छन्।

रुपन्देहीमा ४३४ र बाँकेमा ३२८ जना सङ्क्रमित थपिएका हुन्।

थपिएका सङ्क्रमितमध्ये १२३ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।

मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ९९ जना नौ वर्षसम्मका, ३१७ जना १० देखि १९ वर्षका २,३८१ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।