कोरोना भाइरस नेपालः २४ घण्टाको अवधिमा 'हालसम्मकै तेस्रो धेरै मृत्यु'

नयाँ कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

नेपालमा कोभिड-१९ का कारण गत २४ घण्टाको समयावधिभित्र आइतवार हालसम्मकै ते‍स्रो* धेरै व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाभित्र २८ जनाको मृत्यु भएको जानकारी गराए।

"गत कार्तिक १९ गते कोभिड-१९ का कारण ३० जनाको मृत्यु भएको थियो," मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बीबीसी न्यूज नेपालीसित भने।

आइतवार कोभिड-१९ का कारण १४ जनाको मृत्यु भएको थियो भने २,६१९ जना नयाँ सङ्क्रमित फेला परेका थिए।

गत २४ घण्टाभित्र एन्टीजन र पीसीआर गरी १०,०७८ वटा परीक्षण गरिँदा ३,१२२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमण बढ्दै

गत २४ घण्टामा काठमाण्डू उपत्यकामा १,४९८ जना सङ्क्रमित फेला परेका छन्।

तीमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लामा १,१३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना सङ्क्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ४५० जना बिरामी निको भई घर फर्किएका छन्।

गत बिहीवारदेखि आइतवारसम्म कुल ३५,६१६ पीसीआर र एन्टीजन परीक्षण गरिँदा १०,३३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए।

तीमध्ये १,४८० जना निको भई घर फर्केका छन्। आइतवारसम्म देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १९,३८२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।

सङ्क्रमण बढ्न थालेसँगै लकडाउन हुन सक्ने अड्कलबाजी भइरहँदा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आंशिक लकडाउनको सम्भावना रहे पनि तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्।

(सच्याइएको: यसअघि भूलवश दोस्रो धेरै मृत्यु हुन गएकोमा सच्याइएको छ। - सम्पादक)

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर