कोरोना भाइरस नेपाल: आईसीयू र भेन्टिलेटर 'पाउन गाह्रो', तीन महिनामा गम्भीर बिरामीको सङ्ख्या '१५ हजार पुग्नसक्ने'

कोरोनाभाइरस सङ्क्रमितको उपचार गराइराखेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्ष

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सघन उपचार कक्ष (फाइल फोटो)

नेपालमा गम्भीर अवस्थाका कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले अस्पतालहरूमा सघन उपचारका लागि पूर्वाधार र जनशक्तिको अभाव देखिन थालेको चिकित्सकहरूले बताएका छन्।

कतिपय अस्पतालमा पुगेका कोभिड-१९ का गम्भीर बिरामीलाई आइसीयूमा भर्ना गर्न वा भेन्टिलेटरमा राख्न नपाइएका खबर पनि सार्वजनिक थालेका छन्।

सरकारी अधिकारीहरूले चाहिँ गएको एक वर्षमा सघन उपचारका लागि "उल्लेख्य मात्रामा पूर्वाधार विकास गरिएको" बताएका छन्।

यद्यपि उनीहरू "अहिलेकै दरमा सङ्क्रमण बढेमा जटिल अवस्था आउनसक्ने" स्विकार्छन्।

आईसीयू र भेन्टिलेटरमा रहेका बिरामी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार हाल देशभरि कोभिड-१९ भएका १८० बिरामी आईसीयूमा रहेका र तीमध्ये ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यसमध्ये काठमाण्डू उपत्यकाभित्र ५६ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा रहेका छन्।

मङ्गलवारसम्म १६० जना बिरामी आईसीयूमा रहेका थिए भने भेन्टिलेटरमा ४५ जना रहेका थिए।

मन्त्रालयका अधिकारीहरूका भनाइमा विभिन्न अस्पतालहरूमा अहिले गम्भीर प्रकृतिका बिरामीको सङ्ख्या बढिरहेको देखिन्छ।

बीबीसीले कुराकानी गरेका सघन उपचारमा खटिएका काठमाण्डू उपत्यकाभित्रका कतिपय अस्पतालका स्वास्थ्यकर्मीहरूले पनि अहिले हरेक दिनजस्तो आईसीयूमा भर्ना हुन आउने र भेन्टिलेटर आवश्यक पर्ने बिरामीको सङ्ख्या बढ्दो छ।

मन्त्रालयले जारी गरेको विवरण अनुसार हाल देशभरि कोभिड-१९ बिरामीका लागि १ हजार १ सय ८५ वटा आईसीयू बेड र ५१२ वटा भेन्टिलेटर छुट्ट्याइएको छ।

उपत्यकाका एक दर्जन अस्पतालहरूमा अहिले आईसीयू र भेन्टिलेटरमा कोभिडका बिरामीहरू रहेका मन्त्रालयले जनाएको छ।

'बिरामी भर्ना गर्न आईसीयू बेड छैनन्'

सघन उपचारमा खटिएका चिकित्सकहरूका भनाइमा उपत्यकामा कोभिडका गम्भीर बिरामी बढेकाले अहिले कैयौँ अस्पतालहरूमा आईसीयू बेडहरू भरिएका छन्।

त्यस्तै भेन्टिलेटर चाहिने बिरामीले पनि त्यो सुविधा नपाउने अवस्था आएको उनीहरू बताउँछन्।

नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर (एनएससीसीएम) का महासचिव डा. हेमराज पनेरु गम्भीर बिरामी बढ्दा अवस्था जटिल बनिसकेको बताउँछन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत उनी उक्त अस्पतालकै उदाहरण दिँदै भन्छन्, "आईसीयूमा अहिले कुनै बिरामी भर्ना गर्नुपर्‍यो भने हामीसँग उपलब्ध छैन। अहिले पूरा भरिएको छ। एक हप्ताअघिसम्म बेडहरू खाली थियो, एउटा/दुइटा मात्र बिरामी थिए।"

"अरू निजी अस्पतालहरूमा पनि मैले साथीहरूसँग कुरा गर्दा धेरै बिरामी भरिइसकेका छन्, त्यो भनेको हामी अहिले निकै गाह्रो अवस्थामा पुगिसक्यौँ। अवस्था अझै यस्तै रहे थेग्न सकिँदैन।"

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक एवम् प्रवक्ता डा. अनुप बास्तोलाका भनाइमा "अहिले अवस्था निकै गाह्रो र जटिल" बनिसकेको छ।

उनी अहिले नेपालमा नयाँ प्रकारका चाँडो फैलने र बिरामीलाई गम्भीर बनाउने भनिएका भाइरसहरू देखा परिसकेकाले गम्भीर हुनेहरू थप बढ्ने सम्भावना रहेको बताउँछन्।

भारतमा कोभिडको उपचार गरिँदै

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, भारतमा कोभिडको उपचार गरिँदै

एनएससीसीएमका महासचिव पनेरु नेपालमा गत वर्षको तुलनामा केही पूर्वाधार थपिएका भए पनि जनशक्ति र कतिपय उपकरणमा लगानी नभएको बताउँछन्।

त्यसले आईसीयू र भेन्टिलेटर सुविधा भएका अस्पतालहरूमा पनि दक्ष जनशक्ति र त्यसलाई सहायता गर्ने उपकरण तथा सामग्री अभाव भइरहेको उनको भनाइ छ।

सरकारी भनाइ

सरकारी अधिकारीहरूले चाहिँ गत वर्षको तुलनामा नेपालमा कोभिडका बिरामीको उपचारका लागि पर्याप्त पूर्वाधार विस्तार भएको बताएका छन्।

तर उनीहरूकै भनाइमा पनि उपचार र कोभिड रोकथामका लागि विभिन्न संयन्त्रहरूबीच समन्वय हुनु जरुरी छ।

अधिकारीहरूले स्वास्थ्य मापदण्ड पालन नहुँदा जोखिम र सङ्क्रमणको विस्तार तीव्र भएकाले अवस्था निकै जटिल बन्दै गएको भन्ने चिन्ता पनि व्यक्त गरेका छन्।

कोरोनाभाइरस परीक्षणका लागि नमुना सङ्कलन
तस्बिरको क्याप्शन, कोरोनाभाइरस परीक्षणका लागि नमुना सङ्कलन

मङ्गलवार स्वास्थ्य मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा संवाददाताहरूले सोधेको प्रश्नमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले गत वर्षको तुलनामा करिब चार सयको हाराहारीमा आईसीयू बेड थपिएको बताए।

उनले सरकारले हालै जारी गरेको एउटा आदेशको उल्लेख गर्दै भने, "क्रिटिकल केयर युनिट र उपचारका लागि चाहिने स्वास्थ्य पूर्वाधार उपकरण र जनशक्ति चाहिँ सरकारले प्रयोग गर्नसक्छ भनेको सरकारी मात्र होइन निजी र सामुदायिक पनि उपकरणहरू स्वास्थ्य जनशक्ति र पूर्वाधारहरू प्रयोग गर्न सकिने भन्ने हिसाबले हामीले यो कुरालाई चाहिँ यो आदेशमा राखेका छौँ र आवश्यकता अनुसार हामी यो गर्दै जान्छौँ।"

नेपालमा बिरामीको अवस्था

उनले आगामी असार मसान्तसम्ममा नेपालमा १५ हजार जटिल प्रकृतिका कोभिडका बिरामीहरू अस्पतालहरूमा आउन सक्ने प्रक्षेपण गरेर त्यसै अनुसार पूर्वाधार र जनशक्तिको तयारीका लागि काम गरिएको जानकारी पनि दिए।

स्वास्थ्य मन्त्रालयले अहिलेकै गतिमा कोभिड फैलिएमा असारसम्ममा नेपालमा ६ लाख बिरामी पुग्ने अनुमान गरेको सचिव अर्यालले बताए।

उनका अनुसार नेपालमा अझै नौ सातासम्म कोभिड बिरामीको सङ्ख्या बढिरहने र त्यसपछि मात्र कम हुन थाल्ने प्रक्षेपण गरिएको छ।

नेपालमा बुधवारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या १०,५८२ रहेको सरकारले जनाएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

तीमध्ये संस्थागत आइसोलेशनमा ८३६ र होम आइसोलेशनमा ९,७४६ जना रहेको मन्त्रालये जनाएको छ।

नेपालमा गत साताको तुलनामा १६२ प्रतिशतले सङ्क्रमण बढेको मन्त्रालयले बुधवार आयोजना गरेको प्रेस ब्रीफिङमा काठमाण्डू विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले बताइन्।

उनका अनुसार अहिले विश्वमा २७ प्रतिशतले र भारतमा ३५ प्रतिशतले मात्र साप्ताहिक वृद्धि देखिएको छ।