पर्सिभिअरन्स: मङ्गल ग्रहमा हेलिकप्टर उडाउने तयारी गर्दै नासा

तस्बिर स्रोत, NASA
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एप्रिलको सुरुमा मङ्गल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा राखेको बताएको छ।
एक महिनाअगाडि मङ्गल ग्रहको सतहमा अवतरण गरेको पर्सिभिअरन्स नामक यानसँग पठाइएको १.८ किलोको सानो हेलिकप्टरको नाम इन्जुनीइटी हो।
दुईवटा रोटर भएको हेलिकप्टरले पातलो हावा भएको मङ्गलमा उड्ने प्रयास गर्ने छ। सफल भए त्यो 'राइट दाजुभाइको जस्तो समय' हुने नासाले बताएको छ।
ओर्भिल र विलभर राइटले सन् १९०३ मा पहिलो पटक हावाभन्दा गह्रुङ्गो विमान पृथ्वीमा उडाएका थिए।
नासाले मङ्गल ग्रहमा पठाएको हेलिकप्टरमा त्यो पहिलो उडानको पङ्खाको सानो कपडा टाँसिएको बताएको छ।
अहिले हेलिकप्टर पर्सिभिअरन्सको पेटभित्रै रहेको छ। गएको सप्ताहान्तमा यसलाई छोप्ने बिर्को भने खोलिएको छ र अबको केही दिनमा हेलिकप्टरलाई जमिनमा राखिने छ।
हेलिकप्टरका लागि इन्जिनियरहरूले १० मिटर लम्बाइ र उत्तिकै चौडाइको क्षेत्र रोजेका छन्। त्यहाँ सो हेलिकप्टरले पाँच वटा छोटो दूरीको उडान भन्ने प्रयास गर्ने छ।
पर्सिभिअरन्सले भने ती उडानहरू क्यामरामा उतार्ने प्रयास गर्ने छ।

तस्बिर स्रोत, NASA
"हामी सकेसम्म इन्जुनीइटीको उडान खिच्ने प्रयास गर्ने छौँ," नासाका इन्जिनियर फारह अलिबेले बताइन्।
"हामीले तस्बिर खिच्ने छौँ। हामीले भिडिओ खिच्ने पनि आशा गरेका छौँ।"
तर यो चुनौतीपूर्ण हुने उनको भनाइ छ। यान र हेलिकप्टर दुवैले भिन्नाभिन्नै काम गर्छन् तर तीनमा फरक घडी छन् र उडान खिच्नका लागि ती दुवै घडी एकै समयको हुनुपर्छ।
पातलो हावामा उड्नुपर्ने भएकोले इन्जुनीइटी असाध्यै हलुका छ। यसका कार्बनले बनेका चार वटा पङ्खा छन् जुन प्रतिमिनेट २,४०० पटक घुम्ने दुई रोटरमा राखिएका छन्।

तस्बिर स्रोत, NASA/JPL-CALTECH
यसको पहिलो उडान सतहभन्दा तीन मिटर माथिसम्म उठ्ने, घुम्ने र ३० सेकेन्ड अडिने खालको सामान्य हुनेछ।
सफल हुँदै गएमा त्यसपछिका उडानहरू लामो र कठिन खालका हुँदै जाने छन्।
"अहिले हामीले योजना बनाएको भनेको सुरुका तीन उडान यसको क्षमता परीक्षण हो जसमा हावामा अडिने, अलि लामो दूरीमा गएर फर्कने हुनेछ," इन्जुनीइटीका प्रमुख चालक हावर्ड ग्रिपले बताए।
"सबै राम्रो भएमा हामी थप कुराहरू गर्न प्रयास गर्छौँ तर त्यसको विस्तृत योजना बनेको छैन।"

तस्बिर स्रोत, NASA/JPL-CALTECH
अन्तिम उडानमा केही नाटकीय गरिने हो कि भन्ने प्रश्नमा उनले अनुमान गर्न अस्वीकार गरे।
नासाले सन् २०३० को दशकका लागि शनि ग्रहको चन्द्रमा टाइटनको सतहको वारपार रोबोट सञ्चालित हेलिकप्टर उडान गर्ने ड्रागनफ्लाई नामक मिशनमा काम गरिरहेको छ।
सन् १९८० को दशकमा बुध ग्रहको हावामा भेगा बलुनहरू उडाएर तत्कालीन सोभियत सङ्घले अर्को ग्रहमा हवाई उडान गर्न सुरु गरेको थियो।









