उइगर: अधिकार हनन गरेको भन्दै चीनमाथि ईयू, अमेरिका र क्यानडाद्वारा प्रतिबन्ध घोषणा

शिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यकका लागि चीनले शिविरहरूको सञ्जाल बनाएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यक समुदायका मानिसहरूलाई शिविरहरूमा राख्ने गरिएको बताइन्छ

उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन्।

धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखेको छ।

त्यहाँ उनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुर्व्यवहार गरेको भन्ने आरोप चीनमाथि लागेको छ।

आफूबीच समन्वय गरेर युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आर्थिक प्रतिबन्धहरू लगाएका हुन्।

के भन्छ चीन?

चीनले आफूले दुर्व्यवहार गरेको भन्ने आरोप अस्वीकार गरेको छ। आतङ्कवादसँग जुध्नका लागि ती शिविरहरू "पुन: शिक्षा" को सुविधाका लागि बनाइएको चीनको दाबी छ।

प्रतिक्रियास्वरूप चीनले पनि युरोपेली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।

युरोपेली सङ्घले सुरुमा प्रतिबन्ध घोषणा गरेपछि चीनले सोमवार त्यसलाई "केवल मिथ्या सूचना र असत्यमा आधारित" भनेको थियो।

चीनले १० जनामाथि प्रतिबन्ध लगाउने र युरोपमा रहेका "चीनको सार्वभौमसत्ता र स्वार्थकलाई आघात पुर्‍याउने अनि मिथ्या सूचना फैलाउने" चारवटा संस्थालाई पनि प्रतिबन्ध लगाउने जनाएको छ।

चीनको प्रतिबन्ध लागेका व्यक्तिहरूले कुनै पनि प्रयोजनका लागि चीनमा प्रवेश गर्न पाउनेछैनन्।

तर यूकेका विदेशमन्त्री डोमिनिक राबले उइगरमाथिको व्यवहार "मानवअधिकारको डरलाग्दो हनन" गर्ने खालको भएको बताएका छन्।

युरोपेली सङ्घले सन् १९८९ मा चीनमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि सेनाले गोली चलाएयता मानवअधिकार हननको विषयलाई लिएर चीनमाथि प्रतिबन्ध लगाएको थिएन।

प्रतिबन्धबारे हामीलाई के थाहा छ?

उइगर मुस्लिमको मानवअधिकार हनन भएको आरोप लागेका शिन्जियाङका वरिष्ठ अधिकारीलाई यात्रामा प्रतिबन्ध र सम्पत्ति रोक्का गर्ने भनिएको छ।

प्रतिबन्ध लगाइएका व्यक्तिमा शिन्जियाङका जनसुरक्षा ब्यूरोका निर्देशक, कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सदस्यसहित पाँच जना छन्।

विदेशमन्त्री राबले शिन्जियाङमा उइगर मुस्लिमहरूमाथिको दुर्व्यवहारलाई "हाम्रो समयकै मानवअधिकारको एउटा नराम्रो सङ्कट" भनेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले पनि एउटा विज्ञप्तिमा चीनले "मानवताविरुद्ध नरसंहार र अपराध" गरेको बताएका छन्।

पीडित महिला
तस्बिरको क्याप्शन, यी महिलाले सन् २०१८ मा शिन्जियाङको थुनुवा शिविरमा नौ महिना बिताएकी थिइन्

क्यानडाका विदेशमन्त्रीले भनेका छन्: "बढ्दो प्रमाणहरूले प्रणालीगत र राज्यकै अगुवाइमा चिनियाँ अधिकारीहरूले मानवअधिकार हनन गरेको सङ्केत गर्छ।"

उइगरमाथि चीनको व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय छानबिन बढेका बेला यी प्रतिबन्धहरू लगाइएका हुन्।

चीनमाथि के आरोप लागेको हो?

शिन्जियाङमा बनाइएका शिविरमा १० लाखभन्दा बढी उइगर र अन्य अल्पसङ्ख्यक समुदायका मानिसलाई थुनामा राखिएको अनुमान गरिएको छ।

देशको पश्चिमोत्तर क्षेत्रमा शिन्जियाङ पर्छ यो यो देशको सबैभन्दा ठूलो क्षेत्र हो। तिब्बतजस्तै यो एउटा स्वायत्त क्षेत्र हो, जसको अर्थ सिद्धान्तत: यस क्षेत्रमा स्वशासन गर्ने केही शक्ति छ। तर व्यवहारमा भने केन्द्रीय सरकारको ठूलो हस्तक्षेप छ।

त्यस क्षेत्रमा बस्ने उइगरहरू आफ्नै भाषा बोल्छन्, जुन टर्कीको भाषासँग मिल्दोजुल्दो छ। उनीहरूले सांस्कृति र जातीय रूपमा पनि मध्य एशियाका राष्ट्रहरूसँग निकट रहेको रूपमा लिन्छन्।

चीन सरकारमाथि उइगर महिलालाई बलपूर्वक बन्ध्याकरण गराएको र परिवारबाट बालबालिकालाई भिन्न राखेको आरोप लाग्दै आएको छ।

गत फेब्रुअरीमा बीबीसीले गरेको अनुसन्धानमा महिलामाथि बलात्कार र यौन दुर्व्यवहार हुने गरेको अनि थुनुवालाई यातना दिने गरेको बयान एक पीडित महिलाले दिएकी थिइन्।

एक महिलाले महिलाहरूलाई थुनेको कोठाबाट बाहिर निकालेर "प्रत्येक रात" एक वा त्योभन्दा बढी नकाबधारी चिनियाँ पुरुषले बलात्कार गर्ने गरेको बताएकी थिइन्।

एउटा त्यस्तै शिविरमा पहिला सुरक्षागार्डको काम गरेको मानिसले परिचय नखोल्ने सर्तमा थुनुवालाई गरिने यातना र खानेकुराको अभावको व्याख्या गरेका थिए।

उइगरको मुद्दा र कोरोनाभाइरसबारेको बीबीसी विश्व सेवाको टेलिभिजन समाचारमाथि चीनले प्रतिबन्ध लगाएको थियो।

चीनले सुरुमा शिविरहरू बनेकोबारे अस्वीकार गर्दै आएको थियो। पछि भने आतङ्कवादविरुद्ध आवश्यक कदमका लागि शिविरहरू बनाइएको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ।

तर चीनले मानवअधिकार दुर्व्यवहारका आरोप खण्डन गरेको छ।