को हुन् उइगर र अमेरिकाले चीनमाथि उनीहरूको नरसंहारको आरोप किन लगाउँदैछ

उएगर महिला

तस्बिर स्रोत, Getty Images

पश्चिमोत्तर चीनको शिन्जियाङ क्षेत्रका मुख्यतः उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर चीनले विश्वभरिबाट बढ्दो आलोचना खेपिरहेको छ।

चीनले पछिल्ला केही वर्षभित्र १० लाखभन्दा बढी उइगर मुस्लिमलाई कैद गरेको मानव अधिकारवादी समूहहरूको विश्वास छ।

चिनियाँ सरकारले उनीहरूलाई "पुनः शिक्षा शिविरहरू" मा राख्ने गरिएको बताउने गरेको छ।

उइगरहरूलाई बलपूर्वक श्रम गर्न लगाइएको र बलपूर्वक महिलाहरूको बन्ध्याकरण गर्ने गरिएको प्रमाण भेटिएको छ।

उइगर मुस्लिमहरूमाथि दमन गरेर चीनले नरसंहार तथा मानवताविरुद्धको अपराध गरिरहेको संयुक्त राज्य अमेरिकाले उसमाथि आरोप लगाएको छ।

को हुन् उइगर?

चीनको उत्तर-पश्चिमी शिन्जियाङ क्षेत्रमा बस्ने उइगरहरूको जनसङ्ख्या झन्डै एक करोड २० लाख छ। उनीहरूमध्ये अधिकांश मुस्लिम छन्।

चीनमा शिन्जियाङ क्षेत्रलाई औपचारिक रूपमा शिन्जियाङ उइगर स्वायत्त क्षेत्र भनेर चिनिन्छ।

उइगरहरू आफ्नै भाषा बोल्छन् जुन टर्किशजस्तै हुन्छ। उनीहरू आफूलाई सांस्कृतिक तथा जातीय रूपमा मध्यएशियाली राष्ट्रहरूसँग नजिक ठान्छन्।

शिन्जियाङको कुल जनसङ्ख्यामध्ये करिब आधा उनीहरूकै सङ्ख्या रहेको छ।

पछिल्ला केही दशकमा हान चिनियाँ समुदायका मानिसहरू ठूलो सङ्ख्यामा शिन्जियाङ क्षेत्रमा बसाइँ सरेका छन्।

र, उइगरहरू आफ्नो संस्कृति तथा जनजीविका सङ्कटमा परेको महसुस गर्छन्।

कहाँ पर्छ शिन्जियाङ?

शिन्जियाङ पश्चिमोत्तर चीनमा पर्छ। त्यो चीनको सबैभन्दा ठूलो क्षेत्र पनि हो।

तिब्बतजस्तै शिन्जियाङ पनि स्वायत्त छ। सैद्धान्तिक रूपमा स्वायत्त सरकारसँग हुने केही अधिकारहरू उससँग पनि छन्।

तर व्यवहारमा यी दुवै क्षेत्रले केन्द्र सरकारबाट ठूलो प्रतिबन्धहरूको सामना गर्नुपर्छ।

उइगर महिला

तस्बिर स्रोत, Getty Images

शिन्जियाङ मुख्यतः मरुभूमि रहेको क्षेत्र हो र त्यसले विश्वमा पाँचौँ बढी कपास उत्पादन गर्छ।

बीसौँ शताब्दीको आरम्भतिर उइगरहरूले उक्त क्षेत्र स्वतन्त्र रहेको स्वघोषणा गरे।

तर सन् १९४९ मा त्यसलाई पूर्ण रूपमा मुख्य भूभाग चीनको नियन्त्रणमा ल्याइयो।

चीनमाथि कस्ता आरोप?

चीनले उइगरहरूमाथि नरसंहार गरेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ।

अन्तर्राष्ट्रिय महासन्धिअनुसार नरसंहार भनेको "कुनै राष्ट्रियता, समुदाय, जाति अथवा धार्मिक समूहलाई समग्रमा अथवा हिस्साहिस्सामा नष्ट पार्ने उद्देश्य" हो।

चीनले उइगरहरूलाई शिविरहरूमा कैद गर्नुका साथै उनीहरूको जनसङ्ख्या बढ्न नदिन महिलाहरूको बलपूर्वक बन्ध्याकरण गर्ने गरेको र उइगर बालबालिकाहरूलाई उनीहरूको परिवारबाट अलग पार्ने गरेको प्रतिवेदनहरूले औँल्याएका छन्।

ट्रम्प प्रशासनअन्तर्गत आफ्नो कार्यकालको अन्तिम दिन विदेशमन्त्री माइक पोम्पेओले भनेः "मलाई लाग्छ यो नरसंहार जारी छ र उइगरहरूलाई योजनाबद्ध रूपमा सिध्याउने चिनियाँ सरकारको प्रयास हामीले हेरिरहेका छौँ।"

सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घको एउटा मानव अधिकार समितिले शिन्जियाङस्थित "प्रतिअतिवाद केन्द्रहरू" मा १० लाखभन्दा बढी मानिसलाई कैदमा राखिएकोबारे आफूसँग विश्वसनीय रिपोर्टहरू रहेको जनाएको थियो।

अस्ट्रेलियन स्ट्रटीजिक पलिसी इन्स्टिट्यूटले सन् २०२० मा प्राप्त गरेको प्रमाणअनुसार शिन्जियाङमा ३८० वटाभन्दा बढी "पुनः शिक्षा शिविरहरू" छन्।

उइगर पुरुषहरू

तस्बिर स्रोत, AFP

यो सङ्ख्या त्यसअघि अनुमान गरिएकोभन्दा ४० प्रतिशतले बढी हो।

ती शिविरहरूबाट भाग्न सफल मानिसहरूले त्यहाँ शारीरिक, मानसिक तथा यौनिक यातना खेप्नुपरेको र कतिपय महिलाले सामूहिक बलात्कार एवं यौन दुर्व्यवहार हुने गरेको बताएका छन्।

सन् २०२० को डिसेम्बरमा बीबीसीले प्राप्त गरेको विवरणअनुसार पाँच लाखभन्दा बढी मानिसलाई कपास टिप्ने काममा बलपूर्वक लगाइएको पाइएको छ।

"पुनः शिक्षा शिविरहरू" भित्र नयाँ कारखानाहरू स्थापना गरिएको पनि प्रमाण भेटिएको छ।

कुन कुराले दमन बढायो?

सन् १९९० को दशकबाट त्यहाँ हानविरोधी र पृथक्तावादी भावनाहरू देखिन थाले र बेलाबेला हिंसाका घटना पनि हुन थाले।

सन् २००९ मा शिन्जियाङमा भएका झडपहरूमा करिब २०० व्यक्ति मारिए जसका लागि चीनले आफ्नै राज्य चाहने उइगरहरूमाथि आरोप लगायो।

प्रहरी, सुरक्षा जाँचस्थल, व्यक्तिगत अनुहारदेखि गाडीका नम्बर प्लेटसम्म स्क्यान गरेर राख्ने क्यामरासहित उम्किनै गाह्रो गुप्तचरी सञ्जालले शिन्जियाङ बाँधिएको छ।

उइगरमा सुरक्षाकर्मी

तस्बिर स्रोत, Reuters

मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचका अनुसार प्रहरीले मोबाइल एपमार्फत्‌ मानिसले कति बिजुली खपत गर्छन् र घरको मूल ढोका कत्तिको प्रयोग गर्छन् लगायतका क्रियाकलाप पनि हेर्ने गर्छन्।

सन् २०१७ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनभित्रका सबै धर्महरू चिनियाँ प्रकृतिको हुनुपर्ने आदेश दिएपछि त्यसयता थप दमनहरू भएका छन्।

अभियानकर्मीहरू भन्छन्, चीनले उइगर संस्कृति सिध्याउने प्रयास गरिरहेको छ।

के भन्छ चीन?

उइगरहरूलाई कैदमा राखिएको भन्ने रिपोर्टहरू "पूर्णतः गलत" रहेको चीनको दाबी छ।

आतङ्कवादबाट जोगाउन र इस्लामवादी अतिवादीहरूलाई जरैदेखि उखेल्नका लागि उनीहरूमाथि कारबाही जरुरी रहेको उसको तर्क छ।

आतङ्कवादविरुद्धको लडाइँमा कैदीहरूलाई पुनः शिक्षा दिन शिविरहरू प्रभाकारी माध्यमका रूपमा रहेको पनि उसले दाबी गर्छ।

महिलाहरूको सामूहिक रूपमा बन्ध्याकरण गर्दै उइगर जनसङ्ख्या घटाउने प्रयास गरिरहेको भन्ने दाबी "आधारहीन" भएको चीनको भनाइ छ।

त्यसैगरी उइगरहरूलाई बलपूर्वक श्रममा लगाउने गरिएको आरोप "पूर्णतः कपोलकल्पित" रहेको पनि उसको दाबी छ।