कोरोना भाइरस: मैले किन कोभिडसँग लड्दाको जोखिमपूर्ण क्षण सार्वजनिक गर्ने निर्णय गरेँ

सामाजिक सञ्जालमा भाइरल बनेको र्‍याकेलको सघन उपचार कक्षमा उपचार गराउँदाको तस्बिर

तस्बिर स्रोत, Raquel Trevisi

तस्बिरको क्याप्शन, सामाजिक सञ्जालमा भाइरल बनेको सघन उपचार कक्षमा उपचार गराउँदाको तस्बिर
    • Author, भिनिस लेमोस
    • Role, बीबीसी न्यूज ब्रजिल

गत वर्ष सेप्टेम्बरमा ब्रजिलकी ३८ वर्षीया दन्त चिकित्सक र्‍याकेल ट्रिभिजी कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना भइन्।

नियमित व्यायाम गर्ने र पुरानो रोग नभएका कारण उनलाई लागेको थियो कि उनलाई कोभिडले धेरै खराब गर्दैन। तर उनको अवस्था बिग्रँदै गयो।

"कसैले पनि कहिल्यै सोचेको थिएन कि कोभिडका कारण यस्तो खालको जटिलता आउँछ। मेरो स्वास्थ्य राम्रो थियो र स्वस्थ रहन्थेँ।"

"तर कोरोनाभाइरसले फरक तरिकाले असर गर्छ। यो रोग एकदमै जटिल हो," उनले बीबीसीसँग भनिन्।

कोरोनाभाइरसले उनको फोक्सोमा नराम्रोसँग असर गरेको थियो।

एउटा निजी अस्पतालमा उनी भर्ना भइन् जहाँ उनलाई सघन उपचार कक्ष आईसीयूमा राखियो र श्वासप्रश्वास सहज बनाउन मुखमा नली हालियो।

आईसीयूमा राखिएको दोस्रो दिन फोक्सोमा अक्सिजन पुग्न सहज होस् भनेर उनलाई घोप्टो पारेर सुताइयो।

उनले १८ घण्टा घोप्टो परेर बिताइन् जुन अवस्थाको तस्बिर स्वास्थ्यकर्मीले खिचेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?

लामो सङ्घर्ष

अस्पतालमा २० दिनसम्म आईसीयूमा र तीमध्ये पनि १६ दिन मुखमा नली लगाएपछि र्‍याकेलको अवस्थामा सुधार आयो।

अस्पतालबाट घर फर्किएपछि पनि उनले कोरोनाभाइरसका जटिलताबाट ठीक हुन दैनिकी त्यसै अनुसार अनुशासित बनाइन्।

घरमै उनले अस्पतालमा खिचिएका तस्बिरहरू हात पारिन्। तीमध्येको एउटाले उनको ध्यान तान्यो जुन तस्बिरमा उनी अनुहार तल पारेर सुतेकी छन्।

त्यो तस्बिरमा उनले सास फेर्दा उनको मुटुको धड्कन अनुगमन गर्न इलेक्ट्रोडहरू जोडिएको छ।

"त्यो तस्बिरमा तपाईँहरू एकदमै जोखिममा रहेको शरीर देख्न सक्नुहुन्छ। मेरा लागि, यो एकदमै सशक्त तस्बिर हो," उनले भनिन्।

पीडा भए पनि यो तस्बिरले आशाको सङ्केत गर्ने उनी ठान्छिन्। उनको ढाडमा फिनिक्स नामक कथानक चराको ट्याटु बनाइएको छ। जुन चरा मरेपछि बनेको खरानीबाट फेरि यौवन लिएर उठ्ने विश्वास गरिन्छ।

"ग्रीक कथामा फिनिक्स चरा मरेपछि पनि खरानीबाट उठ्छ। यसको अर्थ पुनर्जन्म लिन्छ। यो ट्याटुले यति धेरै अर्थ पहिला कहिल्यै राखेको थिएन," उनले भनिन्।

स्वास्थ्यकर्मीहरूले उनको शरीरलाई पल्टाएको अर्को तस्बिर

तस्बिर स्रोत, Raquel Trevisi

तस्बिरको क्याप्शन, स्वास्थ्यकर्मीहरूले उनको शरीरलाई पल्टाएको अर्को तस्बिर

यो तस्बिर गोप्य अवस्थाको भएकोले त्यसलाई सामाजिक सञ्जालमा राख्न उनलाई डर लाग्यो।

"मैले सुरुमा त मेरो छोरालाई पनि हेर्न दिइनँ," उनले भनिन्। 

यद्यपि गत साता र्‍याकेलले उक्त तस्बिरलाई इन्स्टाग्राममा हाल्ने निर्णय गरिन्। 

त्यही पोस्टमा उनले स्वास्थ्यकर्मीले उनको शरीर पल्टाउन लागेको बेलाको पनि तस्बिर पनि हालिन्। 

कोरोनाभाइरसको विश्वव्यापी महामारीका बेला धेरैजसो मानिसहरूले जस्तो व्यवहार गरिरहेका थिए त्यस कारण आफूले तस्बिर शेअर गरेको र्‍याकेलले बताइन्। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'कोभिडका कारण मैले हातखुट्टा गुमाएँ'

जीवनका लागि लडाइँ

र्‍याकेललाई सुरुमा जिउ दुख्ने र ज्वरो आउनेजस्ता लक्षण सेप्टेम्बर ८ मा देखियो।

एक दिनपछि उनलाई सास फेर्न गाह्रो हुन थाल्यो र उनले परीक्षण गरिन्।

उनलाई कोभिड-१९ भएको पुष्टि भयो र सीटी स्क्यान गर्दा उनको फोक्सोको पाँच प्रतिशत भागमा असर गरेको देखियो।

"मलाई सास फेर्न गाह्रो भएपछि उनीहरूले मलाई भर्ना गरे। अस्पतालमा सबै सेवा पुगे पनि मेरो अवस्था खराब बन्दै गयो," उनले भनिन्।

कठिन खालका शारीरिक अभ्यास गरिरहने र्‍याकेलले आफू स्वस्थ्य व्यक्ति भएको विचार गरिन्

तस्बिर स्रोत, Jonathan Camargo

तस्बिरको क्याप्शन, कठिन खालका शारीरिक अभ्यास गरिरहने र्‍याकेलले आफू स्वस्थ्य व्यक्ति भएको विचार गरिन्

अस्पताल भर्ना भएको एक सातापछि, भाइरसका कारण उनको फोक्सोमा ८५ प्रतिशतमा असर गर्‍यो।

"अक्सिजनको मात्रा निकै कम थियो। मलाई अनुहार तल पारेर सुताउँदा त्यसले अक्सिजन फोक्सोसम्म पुग्ने प्रक्रियामा सुधार आयो," उनले भनिन्।

अस्पतालबाट घर जाँदा उनको अवस्था निकै नाजुक थियो। अस्पतालको कक्षबाट ह्वीलचेयरमा निस्कँदा उनले ८ र १५ वर्षका आफ्ना दुई सन्तानलाई अँगालो मार्न पनि सकिनन्।

"मैले मेरो शरीरको चलाउन सक्ने अङ्ग भनेको टाउको मात्रै थियो," उनले भनिन्।

अस्पतालमा बसेका बेला उनको वजन २५ किलो घट्यो।

"मेरो जीवन खेलाडी जीवन भए पनि यो रोगले मलाई झण्डै लगेको थियो," उनले भनिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ को भविष्य के होला

स्वास्थ्यलाभ

जब उनी अस्पतालबाट घर फर्किइन् उनले स्वास्थ्य सुधारका लागि निकै आक्रामक तरिकाले आफूलाई त्यसमा समर्पित गरिन्।

"मैले सामान्य खालका अभ्यासहरू पनि पुनः सिक्नुपर्‍यो," उनले भनिन्।

उनले दिनको दुई पटक थेरापी गरिन् र फेरि हिँड्न सिकिन्। सँगसँगै उनलाई पोषणविद्ले पनि सहायता गरिन्।

र्‍याकेलको स्वास्थ्य अवस्था सुध्रँदै जानुमा उनको परिवारको सहायता र विश्वास महत्त्वपूर्ण रहेको उनले बताइन्।

खेलाडी र्‍याकेलले कोभिड-१९ को उपचारपछि हिँड्न पनि सिक्नुपर्‍यो

तस्बिर स्रोत, Jonathan Camargo/Raquel Trevisi

तस्बिरको क्याप्शन, खेलाडी र्‍याकेलले कोभिड-१९ को उपचारपछि हिँड्न पनि सिक्नुपर्‍यो

महिनौँपछि अहिले उनले १५ किलो वजन बढाइसकेकी छन् र वरपर हिँड्न थोरै कठिन हुन्छ। "बाँकी अब मांसपेशी हो र त्यो त धेरै तालिम लिएपछि मात्रै मैले पुनः हासिल गर्न सक्छु," उनले भनिन्।

बिरामी हुनुभन्दा अघि गरेजस्तो कठिन खालका व्यायामहरूमा फर्किन सक्छु जस्तो उनलाई लाग्दैन।

"अहिले मलाई लाग्छ खेल मेरो जीवनको एउटा गुण हो जसले मलाई सुधारमा मद्दत गर्छ। रोगका कारण स्वास्थ्यमा कैयौँ कठिनाइहरू छन् जसले गर्दा म आफूलाई सामान्य खेलाडी मान्न सक्दिनँ।"

निको हुने क्रममा र्‍याकेलको गत साता महत्त्वपूर्ण घटना भयो: उनको कार्यालयमा बिरामीहरू पुनः आउन थाले।

अरूलाई मद्दत

कामका साथसाथै र्‍याकेलले एउटा परियोजना सुरु गरिन् ताकि कोभिड-१९ का गम्भीर र जटिल अवस्थाका बिरामीलाई सहायता गर्न सकियोस्।

"म एउटा निजी अस्पतालमा थिए र मेरो स्वास्थ्य बिमा थियो। तर मैले अन्य धेरैबारे सोचेँ। खानका लागि केही नहुँदा पनि उनीहरू कसरी घर जान्छन्? उनीहरू अस्पतालबाट घर त फर्किन्छन् तर कुन अवस्थामा भन्ने उनीहरूलाई थाहा हुँदैन," उनले भनिन्।

अस्पतालबाट फर्किएको एक महिनापछि र्‍याकेलले 'कोम भिडा' नामक प्रोजेक्ट सुरु गरिन्। उनले यो काम अस्पतालमै उनलाई सघाउने प्रमुख नर्ससँग मिलेर सुरु गरिन्।

उनका अनुसार यो अभियानमा फिजियोथेरापिष्ट, चिकित्सक, फिजियोलोजिष्ट र नर्सहरू छन्।

"उनीहरूले मित्रता, दान र थेरापीको प्रस्ताव गर्छन्," र्‍याकेलले भनिन्। "हामीले अहिलेसम्म नौ वटा परिवारलाई मद्दत गरिसक्यौँ र अन्यलाई पनि गर्दैछौं," उनले भनिन्।

बिरामी निको भएपछि र्‍याकेल पहिलाकै अवस्थामा फर्किने कोसिस गर्दैछिन्

तस्बिर स्रोत, Raquel Trevisi

तस्बिरको क्याप्शन, बिरामी निको भएपछि र्‍याकेल पहिलाकै अवस्थामा फर्किने कोसिस गर्दैछिन्

यो कामले उनलाई अर्को कठिन अवस्थासँग पनि जुध्न सघाउ पुर्‍यायो।

उनले ७२ वर्षीय बुवालाई ज्यानुअरीमा कोरोनाभाइरसकै कारण गुमाइन्।

तस्बिरहरू

सेप्टेम्बरयता आफू बिरामी हुनु र बुवा गुमाउनु जस्ता जति पनि घटनाहरू भए त्यसले र्‍याकेललाई नराम्रो लाग्यो।

मानिसहरूले कोरोनाभाइरसबाट जोगिन सामाजिक दूरीजस्ता सामान्य खालका सावधानी पनि नअपनाएकाले उनी दुखी थिइन्।

यसै कारणले आफू सघन उपचार कक्षमा उपचार गराइरहँदा खिचिएका तस्बिरहरू उनले सामाजिक सञ्जालमा राख्ने निर्णय गरिन्।

फेब्रुअरी १० तारिखमा र्‍याकेलले आफ्नो इन्स्टाग्राममा दुई वटा फोटोहरू पोस्ट गरिन्।

"त्यति बेलासम्म मलाई आफ्नो त्यस्तो तस्बिर बाहिर देखाउन मन थिएन। तर मैले अस्पतालहरू फेरि भरिएको देखेँ। त्यसैले मैले तस्बिर राख्ने निर्णय गरेँ," उनले भनिन्।

"चेतनाको अभावका कारण मानिसहरू कुन हदसम्म जान्छन्? एक अर्काको पीडामा करुणा देखाउन मानिसलाई अरू के चाहिन्छ? जबसम्म आफ्नै परिवारको कोही मर्दैन? वा मलाई जे भयो त्यो हुँदैन?" उनले आफ्नो पोस्टमा लेखेकी छन्।

ब्राजिल, चिले, इण्डोनेशिया, टर्की र सिङ्गापुरका मानिसहरूले सिनोभ्याकको खोपको मात्रा पाइसके

तस्बिर स्रोत, NELSON ALMEIDA/Getty Images

तस्बिरको क्याप्शन, ब्रजिल, चिले, इण्डोनेशिया, टर्की र सिङ्गापुरका मानिसहरूले सिनोभ्याकको खोपको मात्रा पाइसके

इन्स्टाग्रामको पोस्टमा र्‍याकेलले दुई वटा तस्बिरले "मृत्युको मुखमा पुगेको अनुभव" देखाउने र ती क्षणहरूको सम्झना बाचुन्जेल आफूसँगै रहन्छ भन्ने लागेको लेखेकी छन्।

यी तस्बिरहरू र उनको अनुभवमाथि सामाजिक सञ्जालमा थुप्रैले प्रतिक्रियाहरू जनाएका छन्।

"धेरै मानिसले यसलाई शेअर गरे," उनले भनिन्।

"कोरोनाभाइरसविरुद्ध जोगिन आवश्यक रहेकोबारे मैले एक जनाको मात्रै पनि सोच परिवर्तन गर्न सकेँ भने पनि यो तस्बिरले काम गरिसक्यो," उनले भनिन्।