दीपक जैसी तिम्सिनाः भारतमा बिनासुनुवाइ ४० वर्ष जेल परेका व्यक्तिलाई इलाम ल्याउने तयारी, परिवारमा 'एकैचोटि हर्ष र चिन्ता'

दीपककी आमा धनमाया र कान्छो भाइ धर्मानन्द

तस्बिर स्रोत, West Bengal Radio Club - Amateur Club

तस्बिरको क्याप्शन, दीपककी आमा धनमाया र कान्छो भाइ धर्मानन्द
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

भारतको कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएपछि दीपक जैसी तिम्सिना घर आउन लागेको थाहा पाएर उनकी आमा हर्षित बनेको दीपकका भतिजा गोपाल तिम्सिनाले बताएका छन्।

दीपककी ८६ वर्षीया आमा धनमाया अहिले कान राम्ररी सुन्दिनन्। तर छोरा आउने खुसी उनको मुहारमा झल्किएको छ।

कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएपछि केही दिनमा उनी घर फर्किने अपेक्षा गरिएको छ।

उनका काकाका छोरा प्रकाशचन्द्रले दीपकलाई आफूले जिम्मा लिएर घर ल्याउन बिहीवार कोलकाता जान लागेको बताए।

नागरिकता बनाइदिने

सम्भवतः शुक्रवार प्रकाशचन्द्र र कोलकातास्थित महावाणिज्य दूतावासले संयुक्त रूपमा दीपकलाई बुझ्नेछन् र घर ल्याउने काम हुनेछ।

घर ल्याएपछि पहिला दीपकको नागरिकता बनाइदिने योजना रहेको प्रकाशचन्द्रले बताए।

उनले भने, "हराउँदा उहाँको व्रतबन्ध पनि भएको थिएन। अब नागरिकता बनाउनुपर्नेछ। नत्र नेपाली नागरिक नै भइएन।"

कोलकाता उच्च अदालत

तस्बिर स्रोत, Kolkata High Court

दीपकको मानसिक स्वास्थ्य पनि ठिक नभएकाले मानसिक अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउने योजना रहेको उनले बताए।

दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित घरबाट हराएका थिए।

केही महिनाअघि उनी भारतको कोलाकाताको दमदम कारागारमा भएको पत्ता लागेको थियो। उनी सन् १९८० मा भारतको दार्जिलिङबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए।

उनको मुद्दाको पेसी ४० वर्षसम्म अदालतमा चढेको थिएन।

उनका भाइ प्रकाशचन्द्रले त्यत्रो वर्ष नेपाली नागरिक थुनामा रहँदा र मुद्दाको फैसला नगरी कारागारमा राखिएको भन्दै भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए।

धनमाया तिमिल्सिना झापा

तस्बिर स्रोत, Courtesy: Dr. DN Phuyal

तस्बिरको क्याप्शन, ४० वर्षपछि छोरा फेला परेकोमा हर्षित आमा धनमाया तिम्सिना

भाइ गोपालले भने, "यो खुसीको क्षण हो। तर उहाँको व्यवस्थान कसरी गर्ने भन्ने चिन्ता अर्कोतिर थपिएको छ।"

दीपकका काकाका छोरा प्रकाशचन्द्रसँगै गोपालले पनि कोलकाता गएर दीपकलाई भेटेका थिए।

"हट्टाकट्टा मान्छे भए व्यवहार सहजै चलाउन सक्ने अवस्था हुने थियो। तर दीपकको अवस्था ज्यादै दयनीय भएकाले के गर्ने भन्ने चिन्ता थपिएको छ," उनले भने।

उनले भने, "सबैको सल्लाहले काम गर्नुपर्ला।"