कोरोना भाइरस: के ब्रजिलमा खोपलाई जित्ने भाइरस उत्पत्ति भइरहेका छन्?

तस्बिर स्रोत, Reuters
- Author, नथालिआ पसारिन्हो
- Role, बीबीसी न्यूज ब्रजिल
कोभिड फैलिरहेकै बेला खोपको पहिलो मात्रा लगाएका मानिसहरू खोप नलगाएका मानिसहरूसँग मिसिरहँदा त्यसले नयाँ प्रकारका कोरोनाभाइरसका लागि 'बलियो उत्पत्तिको धरातल' तयार पार्ने र हालका खोप प्रभावकारी नहुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
यो खास गरी त्यस्ता ठाउँका लागि चिन्ताको विषय बनेको छ जहाँ सङ्क्रमण उच्च दरमा र खोप वितरणको काम सुस्त रहेको छ।
ब्रजिलमा पी.१ भनिएको एउटा शक्तिशाली प्रकारको कोरोनाभाइरस फैलिरहेको छ। पी.१ अहिलेसम्म २५ भन्दा धेरै देशमा देखा परिसकेको छ।
नयाँ उत्परिवर्तनको अनुगमन गरिरहेका विज्ञहरूले ब्रजिलमा त्यसले 'हटस्पट' बनाएर भयानक रूप लिन सक्ने बताउँछन्।
सोमवार ब्रजिलमा कोभिड जोडिएका भएको मृत्युको सङ्ख्या झन्डै २ लाख ७८ हजार पुगेको थियो।
बढ्दो मृत्युदर भए पनि राज्यका गभर्नरहरू र राष्ट्रपति जइर ब्रोल्सोनारोबीच राजनीतिक विवादका कारण ब्रजिलमा लकडाउन र सामाजिक दूरी कायम राख्ने काम कमजोर बनेको छन्।
त्यसले खोप कार्यक्रमलाई समेत असर पारेको छ। त्यहाँ खोपको पहिलो मात्रा लिनेहरू जनसङ्ख्याको ४ प्रतिशतभन्दा केही बढि अर्थात् ८६ लाख मानिसहरू छन्।
तीमध्ये २९ लाखले मात्र दोस्रो मात्रा पाएका छन्। वैज्ञानिकहरूले त्यसलाई खतरनाक सम्मिश्रण बताउँछन्।
कमजोर बनिरहेका एन्टीबडी

तस्बिर स्रोत, EPA
भाइरस फैलने क्रममा तिनमा उत्परिवर्तन आउँछ र तिनले हाम्रो प्रतिरक्षा प्रणाली बिगार्ने एवम् हाम्रा कोशिकाहरूलाई सङ्क्रमित पार्ने काम गर्छन्।
यूकेको युनिभर्सिटी अफ लेस्टरका भाइरोलोजिस्ट जुलिअन टाङ्ग भन्छन्, "जब कोरोनाभाइरस कसैको शरीरमा प्रवेश गर्दा थोरै मात्रामा एन्टीबडी अर्थात् रोग प्रतिरोधी तत्त्व भेट्छ, त्यसले ती प्रतिरोधी तत्त्वसँग उत्परिवर्तनका माध्यमबाट प्रतिक्रिया जनाउन सक्छ।"
यो भाइरस उत्पत्ति हुने प्रक्रियाको एउटा पाटो हो।
डा टाङ्ग भन्छन्, "यदि तपाईँले आज खोप लिनुभयो भने तपाईँ तत्कालै सुरक्षित भइहाल्नु हुँदैन। रोग प्रतिरोधी तत्त्व देखा पर्न केही साता लाग्छ र त्यस बेला तपाईँ सुरुवाती भाइरस वा पी. १ बाट सङ्क्रमित हुन सक्नुहुन्छ।"
खोप लगाइसकेका तर भाइरसबाट सङ्क्रमित भएका व्यक्तिमा उत्परिवर्तन भएका नयाँ भाइरस देखिन सक्छन्।
खोप कार्यक्रम ठिकठिकै सफल भएको देशमा जब यस्तो काम धेरै मात्रामा हुन्छ त्यसले भाइरसलाई उत्परिवर्तन हुनका लागि 'जैविक' दबाव पर्छ।
इम्पेरियल कलेज लन्डनको ग्लोबल हेल्स एन्ड डेभलपमेन्ट ग्रुपका सहनिर्देशक पिटर बाकेर भन्छन्, "त्यसले खोप लगाएका र नलगाएका मानिसहरू मिसिनु भनेको नयाँ भेरिअन्ट उत्पत्ति हुने जोखिम बढ्नु हो।"
थप सङ्क्रामक प्रकार

तस्बिर स्रोत, Getty Images
विवरणहरूका अनुसार एउटा ठूलो मात्राको सङ्क्रमण भइरहेको बेला देखा परेको पी.१ भेरिअन्ट निकै सङ्क्रामक हुनसक्ने र पछिल्ला सङ्क्रमणबाट प्राप्त प्रतिरोधी क्षमताले नथेग्ने खाले हुन सक्छ।
यो भेरिअन्टले भाइरसको कोशिकासँग टाँसिने क्षमता बढाउँछ र रोग प्रतिरोधी तत्त्वको प्रभावकारिता घटाउँछ।
रिसर्च इन्स्टिच्युट फिओक्रजका अनुसार पी. १ भेरिअन्ट अहिलेसम्म ब्राजिलका २७ राज्यमा फैलिसकेको छ।
त्यसबाहेक त्यहाँका आठमध्ये छ वटा राज्यमा ५० प्रतिशतभन्दा बढी कोभिडका नयाँ घटनाहरू अहिलेका तीन (पी.१, यूके भेरिअन्ट र दक्षिण अफ्रिका भेरिअन्ट) मध्ये एउटा भेरिअन्टका छन्।
इम्पेरिअल कलेज लन्डनका सङ्क्रामक रोगका अध्ययनकर्ता चार्ली विट्कर भन्छन्, "नियन्त्रणका उपाय नचालिए पी.१ ले छिट्टै एउटा मुख्य भाइरस बनेर महामारी सिर्जना गर्न सक्छ।"
खोपलाई जित्ने भेरिअन्ट

तस्बिर स्रोत, EPA/RAPHAEL ALVES
इम्पेरिअल कलेज, युनिभर्सिटी अफ साउ पाउलो र युनिभर्सिटी अफ अक्सफर्डका अनुसन्धानकर्ताहरूले गरेको एउटा छुट्टै अध्ययनले अनुमान गरे अनुसार ब्राजिलमा पी.१ सुरुवाती कोभिड भन्दा १.४ देखि २.२ गुणासम्म बढी सङ्क्रामक छ।
र त्यसले प्रतिरोधी क्षमतालाई तोड्ने र २५ देखि ६१ प्रतिशत बीचका घटनामा पुन: सङ्क्रमण गराउन सक्छ।
प्राध्यापक बाकेर भन्छन्, "जब भेरिअन्ट यसअघि नै प्रतिरोध क्षमता भएका वा पहिले सङ्क्रमण भइसकेका व्यक्तिमा पुग्छ, भाइरसलाई ती मानिसलाई पुनः सङ्क्रमण गराउने प्रयासस्वरुप उत्परिवर्तन हुने दबाव पर्छ।"
"त्यसैले अहिलेको महामारी र विगतको महामारी मिसिनु भनेको उत्परिवर्तनको लागि एउटा बलियो उत्पत्ति धरातल खडा हुनु हो। हामीले ब्रजिलको सन्दर्भमा देखेको त्यही हो।"








